ad ad

कारोबार


उद्योगीको विवाद नटुंगिँदा फुटवेयर जोनबाट पछि हट्दै उद्योग मन्त्रालय

उद्योगीको विवाद नटुंगिँदा फुटवेयर जोनबाट पछि हट्दै उद्योग मन्त्रालय

दीपक भट्ट
फागुन ६, २०७६ मंगलबार १२:२५,

सरकारले दुई वर्षअघि ल्याएको दक्षिणकाली फुटवेयर जोन निर्माण योजना अलपत्र बनेको छ। ५१ करोड लगानीमा दक्षिणकालीमा फुटवेयर जोन बनाउने योजना ल्याए पनि जुत्ता उद्योगीहरु नै मिल्न नसक्दा सरकार पछि हट्न लागेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको सहकार्यमा फुटवेयर जोन निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गाको नै व्यवस्था हुनसकेको छैन। जग्गाको व्यवस्था उद्योगीहरुबाट हुने सो स्थानको पहुँचमार्ग निर्माण तथा संरचना निर्माण मन्त्रालय र नगरपालिकाले गर्ने भन्ने थियो।

योजना सुरु भएको पहिलो दुई वर्षसम्म उद्योगीले जग्गाको चाँजोपाँजो मिलाउनसकेका छैनन्। जग्गाको विषयमा उद्योगीहरु एक आपसमा झगडा नै गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय त्यसबाटपछि हट्नलागेको हो।

उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाका अनुसार उद्योगीहरुले सामूहिक रुपमा भन्दा पनि व्यक्तिगत स्वार्थ हुने गरी काम गर्न थालेपछि मन्त्रालयपछि हट्न चाहेको हो। उनले नेपालखबरसँग भनिन्, ‘यही अवस्थामा सम्भवतः अब यो फुटवेयर  जोनको सहकार्यमा उद्योग मन्त्रालय रहँदैन।’

के हो विवाद?
दक्षिणकालीमा उक्त फुटवेयर जोन निर्माण गर्ने गरी उद्योगीहरुले काम सुरु गरेका थिए। त्यसको लागि करिब ६ सय रोपनी जग्गा आवश्यक छ। सो क्षेत्रमा ३ सय जग्गा समेत उपलब्ध भइसकेको छ। २ सय रोपनी उद्योगीकै नाममा आइसकेको छ भने एक सय रोपनी खरिद प्रक्रियामा रहेको छ। बाँकी ३ सय रोपनी जग्गा खरिदमा भने विवाद आएको हो। विवादको सुरुवात नै उद्योगीहरुबाट भयो। सुरुमा उद्योगीहरुले ३ सय रोपनी जग्गा खरिद गरेको सुरुमा खरिद गरेको जग्गा केही सस्तो पर्न गयो।

उक्त स्थानमा उद्योग रहने चर्चा चलेपछि स्थानीय जग्गाधनीहरुले जग्गाको मूल्य बढाए। एउटै स्थानको जग्गा केहीले सस्तो किनेको र केहीले महंगो किन्ने भएपछि बाँकी जग्गा खरिदको लागि काम नै अघि बढेको छैन। उद्योगीहरु जग्गा किन्न नै अघि बढेनन्।

जग्गा खरिदको लागि मन्त्रालयले ताकेता गरिरह्यो तर उद्योगीहरु त्यसमा नै विवाद गरिरहे। मन्त्रालयले उद्योगीहरुसँग छलफल गरेर विवाद समाधान गर्न खोजे पनि सम्भव भएन। दुई वर्षसम्म पनि टुङ्गो नलागेपछि उद्योग मन्त्रालय पछि हट्न लागेको हो।

तर फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका अध्यक्ष कृष्ण कुमार फुँयाल भने यो विवाद ठूलो नभएको बताउँछन्। उनले भने, ‘३ सय रोपनी जग्गा हामीले खोजिरहेका छौँ। स्थानीयसँग कुरो मिलेको छैन। हामी त्यसको लागि अहिले पनि लागिरहेका छौँ। यो फुटवेयर जोन आवश्यक छ। केही ढिलो त भएको छ तर पनि यसमा काम हुँदै छ।’

अरु पनि छन् विवाद
यो फुटवेयर जोनको पहुँच मार्ग नगरपालिका र मन्त्रालयले सुरुमा वाग्मती करिडोरलाई प्रयोग गराउने योजना बनाएको थियो। त्यसमा उद्योगीहरुले मानेनन्। त्यसपछि अहिले स्थानीयस्तरमा खनिएका बाटोलाई मर्मतसम्भार तथा स्तरोन्नति गरेर प्रयोग गर्ने सहमति भएको छ।

यस्तो थियो योजना
फुटवेयर जोन निर्माणको लागि भनेर मन्त्रालयले यो वर्ष ५ करोड बजेट विनियोजन गरेको थियो। उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योग फुटवेयर जोनमा रहने गरी जोनमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना गर्ने गरी योजना अघि बढाइएको थियो।

तर उद्योगीको कारण यो बजेट नै कार्यान्वयन हुनसकेन। अब आगामी बजेटमार्फत नै यो फुटवेयरको व्यवस्थापन गर्ने सचिव खतिवडाले जानकारी दिइन्। नेपालमा आत्मनिर्भर हुनसक्ने वस्तु उत्पादनको प्रवद्र्धनको लागि यो योजना ल्याइएको र आगामी वर्षको बजेटमार्फत अन्य २२ वटा वस्तुलाई पनि सरकारले कसरी अघि बढाउने र कसरी कार्यनवयन गर्ने विषयमा अहिले योजना निर्माणको क्रममा रहेको समेत उनले जानकारी गराइन्। जुत्ता पनि नेपालको आत्मनिर्भर हुनसक्ने वस्तुको प्रमुख सूचीमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .