कारोबार


भारतीय सेयरबजारमा पस्दै छन् अर्बपति विनोद चौधरी

२८ प्रतिशत बजार हिस्सा विस्तारमा आक्रामक हुँदै छ सीजी फुड्स इन्डिया
भारतीय सेयरबजारमा पस्दै छन् अर्बपति विनोद चौधरी

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी


सात्विकी सञ्जय
बैशाख ८, २०८१ शनिबार १५:३२, काठमाडौँ

नेपाली अर्बपति विनोद चौधरी मूलतः चाउचाउ बेचेरै धनी भए। अब उनी चौधरी ग्रुपको भारतस्थित खाद्य व्यवसायलाई सन् २०२६ सम्म सेयरबजारमा सूचीकृत गर्न खोज्दै छन्। 

वाइवाइ ब्रान्डका चाउचाउका लागि प्रसिद्धि कमाएको भारतको गुरगाउँस्थित कम्पनीले नेस्ले लि.को म्यागी र आईटीसी लि.को यिप्पीसँग बजारमा प्रतिस्पर्धा गरिरहेको छ। अबका २ वर्षमा देखिने गरी सूचीकृत हुन कम्पनी तयार हुनेछ।

यो बीचमा चाउचाउ उद्योगसम्बन्धी साना कम्पनीलाई प्राप्ति गर्ने र नयाँ उत्पादन बजारमा ल्याउने कम्पनीको योजना सुनाउँछन् सीजी फुड्स इन्डिया प्रालिका विश्वव्यापी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्ला। 

यो योजनाबारे उनले थप विस्तृतमा भने बताएका छैनन्। 

भारतीय स्थानीय बजारमा कम्पनीको २८ प्रतिशत बजार हिस्सा छ। यसबाट कम्पनीले वार्षिक ८ अर्ब भारु अर्थात् ९ करोड ६२ लाख अमेरिकी डलर आर्जन गरिरहेको छ। शुक्लाका अनुसार सूचीकरणको योजना अहिले प्रारम्भिक तहमै छ। कम्पनीले यो वर्ष १५ प्रतिशतले आम्दानी बढाउने लक्ष्य राखेको छ। 

भारतीय खाद्य उत्पादक कम्पनीहरु धमाधम प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा लागिरहेका बेला सीजी फुड्स इन्डियाको पनि योजना सार्वजनिक भएको छ।   

यसअघिका वर्षमा प्याकेज खाद्य उत्पादक गोपाल स्न्याक्स लि., जनावरका लागि प्रोटिन उत्पादक मुक्का प्रोटिन्स लि.ले आईपीओ जारी गरिसकेका छन्। ब्लुमबर्गका अनुसार बितेका १२ महिनामा भारतमा धेरै आईपीओ निष्काशन गर्नेमा खाद्य क्षेत्र दोस्रो स्थानमा देखिएको छ।

चीनमा आर्थिक वृद्धिदर धिमा भइरहँदा भारतमा द्रुत गतिमा बढिरहेको र सापेक्षिक रुपमा राजनीतिक स्थिरताका कारण लगानीकर्ता आकर्षित हुँदा साना आईपीओ निष्काशनले तीव्रता पाएका छन्। 

तर सीजी फुड्स भने सेयरबजारमा सूचीकरण गर्न हतारिएको छैन। त्यसअघि उसले बजार हिस्सा बढाउन र उत्पादनलाई प्राथमिकतामा राखेको छ। यो कम्पनी अन्य साना कम्पनीहरु किन्न अग्रसर पनि देखिएको छ। 

चौधरी ग्रुपले चार दशकअगाडि काठमाडौंमा वाइवाइ चाउचाउ सार्वजनिक गरेको थियो। त्यसयता यो व्यवसाय फैलिँदै गएको छ। भारतमा यो तेस्रो ठूलो ब्रान्ड बनेको छ। वाइवाइ स्न्याकको रुपमा पनि नपकाई खान सकिन्छ भने पकाएर पनि खान सकिन्छ। यसभित्र मसला र तेलको छुट्टै साना प्याक हुन्छन्। 

‘हामी बजारमा नक्कल नभएको केही खास अझै छौँ’, शुक्ला भन्छन्। 

सीजी फुड्स इन्डियाका भारतमा ७ वटा प्लान्ट छन् भने नेपाल र भारतका युनिटले ग्रुपको खाद्य बिक्रीमा ८० प्रतिशत योगदान गरेको छ।

भारतमा पछिल्लो दशकमा स्न्याक्स र सफ्ट ड्रिंक्सको बिक्री तेब्बरले बढेको छ। यस्तोमा कम्पनी आफ्नो उत्पादन थप्ने योजनामा छ। 

कम्पनीले गत महिनामात्रै दुई स्वाद थप गरेको छ। अझै धेरै उत्पादन आउने क्रममा छन्।

शुक्ला भन्छन्, ‘यो स्वादको युद्ध हो।’

ब्लुमबर्गबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .