कारोबार


निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

नेपालखबर
फागुन ५, २०७६ सोमबार ५:५०,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यावसायिक प्रवद्र्धनका लागि ढुक्कसँग काम गर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन्।

दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने, ‘निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव छैन।’

‘नेपालका तीनवटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ’, उनले भने।

नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै उनले भने, ‘देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ।’

उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रवद्र्धन गरी अघि बढ्न सुझाव दिए।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानुनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे।

कार्यक्रमका प्रमुख अतिथि इश्वर पोखरेललाई स्थानीय व्यवसायीहरुले स्थानीय स्तरका गुनासाहरु राखेपछि नेपाल उद्योगा वाणिज्य महासंघको उपाध्यक्षका हैसियतले ढकालले सो धारणा राखेका हुन्।
लोकल उत्पादन भन्दा पनि बाहिरबाट आयातित सामानहरु राखेको देखेको टिप्पणी गर्दै उनले भने, ‘यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिनुपर्छ किनभने स्थानीय उत्पादनले बजारमा चिनिन पाउने यो एक महत्वपूर्ण अवसर पनि हो।’

कृषि, जडिबुटी, जैविकि विविधता तथा अरु धेरै क्षेत्रमा देशको सुदूरपश्चिम क्षेत्र धेरै सम्पन्न भएकोले आगामी यस्ता मेला महोत्सवहरुमा ती उत्पादनहरुले नै स्थान पाउन् भनी सुझाव पनि दिए।
यसअघि आजै बिहान डडेल्धुरामा जिल्ला उद्योग वाणिज्य संघले उनलाई सम्मान गरेको थियो। त्यस क्रममा उहाँले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसामू जिल्ला नगरका साथीहरुले आफ्नो व्यवसायको वातावरणका लागि धेरै गुनासो आउने गरेकोले आफू व्यवसायी साथीहरुका यी समस्याप्रति सदैव गम्भीर रहेको बताएका थिए।

‘म महासंघको एक पदाधिकारीका साथै देशका ७७ वटै जिल्लामा व्यावसायिक नेटवर्क छ, ती सबै जिल्ला नगरका साथीहरुका मुद्दाहरुलाई मैले सम्बोधन गरिन भने या उहाँहरुका गुनासोहरुको ‘रेस्पोन्स्’ गरिन भने उहाँहरुप्रति न्याय हुदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ’, उनले भने, ‘म महासंघमा त केही वर्षका लागि रहुँला तर पनि देशैभरि रहेको मेरो व्यवसायका कारण पनि भोलिका दिनहरुमा म तपाईँहरुसँगै रहेर काम गर्ने हो, भोलिका दिनमा पनि तपाईँ व्यावसायी साथीहरुकै बीचमा रहने हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad