ad ad

कारोबार


वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बनमा

तीनै जनाले जहाज उडाउन नपाउने
वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बनमा

वरिष्ठ क्याप्टेनत्रय सुवास रिजाल, रविन्द्र कुमार शेरचन र श्रवण रिजाल


नेपालखबर
चैत २२, २०८० बिहिबार १७:४२, काठमाडौँ

नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ।

निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, वरिष्ठ क्याप्टेन सुवास रिजाल, वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, क्याप्टेन श्रवण रिजाल, हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल र उपनिर्देशक बृहतमान तुलाधरमाथि भ्रष्टाचार आरोप लागेको हो। 

जहाज उडाउने र विभागको नेतृत्व गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिद प्रकरणमा निलम्बनमा परेका हुन्। योसँगै तीन पाइलटले जहाज उडाउन नपाउने निगमका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए। 

‘उहाँहरूमध्ये २ जना वाइडबडी र एक जना न्यारोबडीका पाइलट हुन्। उहाँहरू तीनै जनाले जहाज उडाउन पाउँदैनन्’, उनले नेपालखबरसँग भने।

पुनका अनुसार निलम्बनमा परेकामध्ये श्रवण रिजाल इन्स्ट्रक्टर पाइलट हुन्। रिजालले अन्य पाइलट र कोपाइलटको चेकजाँच गर्ने जिम्मेवारी थियो। 

उनीहरू नहुँदा निगमलाई केही प्राविधिक असहजता हुने पुनले बताए। 

अख्तियार प्रवक्ता नरहरी घिमिरेका अनुसार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध मुद्दा दायर भएको छ। उनी कार्यकारी अध्यक्षपछिको वरीयतामा छन्। 

कालाखेतीविरुद्ध विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको आधारमा मुद्दा दायर गरिएको छ। उनी चार्टड एकाउन्टेन्ट समेत हुन्। 

वरिष्ठ क्याप्टेन सुवास रिजालले रिक्वेस्ट फर प्रपोजलसहितका डकुमेन्ट गलत लिखित पेश गरेको आरोप लागेको छ भने वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन र क्याप्टेन श्रवण रिजालमाथि २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप छ। 

हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल, हाल निर्देशक रहेका क्याप्टेन श्रावण रिजाल उपनिर्देशक बृहतमान तुलाधरलाई विमान खरिन गर्ने प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप छ। २३० टन क्षमताको जहाज आयातगरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप लगाएको छ। 

इन्जिनियर उपेन्द्र पौडेल एयरवर्दिनेश म्यानेजमेन्ट डिपार्टमेन्ट प्रमुख हुन भने सीए उमेश पौडेल फाइनान्स डिपार्टमेन्ट प्रमुख र वरिष्ठ क्याप्टेन श्रावण रिजाल अपरेसन विभाग प्रमुख छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ। उनी निलम्बनमा परेका छन्।

तत्कालीन निगम सञ्चालक समिति सदस्य हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .