ad ad

कारोबार


भारतले नवीकरण गर्न मानेन मध्यकालीन विद्युत् सम्झौता, चुनाव र आईपीएलको बहाना

भारतले नवीकरण गर्न मानेन मध्यकालीन विद्युत् सम्झौता, चुनाव र आईपीएलको बहाना

नेपालखबर
चैत १३, २०८० मंगलबार २१:२९, काठमाडौँ

छिमेकी देश भारतले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) र निर्वाचनको बहाना देखाउँदै मध्यकालीन विद्युत् सम्झौता नवीकरणमा आलटाल गरेको छ। 

अहिले आईपीएल चलिरहेको र भारतमा निर्वाचनको समय नजिकिएकोले विद्युत् दिन नसक्ने भन्दै आनाकानी गरेको हो। 

ती दुई कारण भारतमा विद्युत् माग अत्यधिक रहेकोले नेपाललाई विद्युत् दिन नसक्ने नेपाली पक्षलाई जानकारी दिएको छ। 

देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात हुने गरेको छ। हिउँदमा भने भारतबाट आयात गरिँदै आएको छ। आयात निर्यात दुवैका लागि मध्यकालीन विद्युत् सम्झौता नवीकरण आवश्यक पर्छ। 

प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले भारतीय बजारमा बिक्री गरिरहेको छ। 

सुख्खायाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको वहाव घट्दा जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन पनि घट्छ। 

अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। तर अहिले भारतीय पक्षले बहानाबाजी गरेर अवरोध सुरु भएको छ। 

आइएक्ससँग खुल्ला बजारमा आयातनिर्यात हुनुपर्ने सम्झौता छ। तर त्यसको नवीकरण भएको छैन।

आगामी हप्ता त्यसको नवीकरण गर्ने समय सकिँदै छ। त्योअघि नै सरकारले प्रक्रिया अघि बढाए पनि भारतले मानेको छैन। 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट नै नवीकरणको लागि प्रक्रिया अघि बढे पनि आइएक्ससँगको मध्यकालीन सम्झौताको नवीकरण प्रक्रिया अघि नबढेको हो। 

अहिलेसम्म आयात तथा निर्यातमा समेत समस्या नभए पनि नवीकरणको म्याद सकिएको खण्डमा भने निर्यात रोकिन सक्ने देखिएको हो।

मन्त्रालयका एक अधिकारीले भने, ‘मुख्य कुरा नवीकरणको हो तर आयात नै रोकिन्छ भन्नेचाहिँ छैन।’

नवीकरण गर्दा भारतले नेपालाई विद्युत् दिनुपर्ने अनिवार्य दायित्व हुनसक्ने मनसाय  भारतको छ। भारतमा आईपीएल चलिरहेकोले विद्युतको माग धेरै भइरहेको र निर्वाचनको समय समेत नजिकिएको हुँदा भारतमा विद्युत् माग अझै बढ्नसक्ने देखिएको भारतीय पक्षको दाबी छ। 

ती अधिकारीले भने, ‘विद्युत दिन्न नै त भनेको छैन, नवीकरण गर्न आलटाल गरिरहेको हो, नवीकरण गर्दिन पनि भनेको स्थिति छैन। तर हाम्रो प्रयास नवीकरण गराउने हो।’

नेपाललाई अब करिव ३ महिना मात्रै विद्युत् आयात गर्नुपर्ने स्थिति छ, त्यसपछि भने नेपालबाट भारत नै निर्यात हुने अवस्था हो। निर्यातको लागि पनि नवीकरण आवश्यक रहेको ती अधिकारीको भनाइ छ।

अहिले भारतसँग ४ सय ५० मेगावाट आयातनिर्यात गर्न पाउने मध्यकालीन सम्झौता छ।

नेपालबाट भारत विद्युत् निर्यात गर्न पाएको कारणले पनि नेपाल विद्युत् प्राधिकरणको नाफामा वृद्धि हुँदै गइरहेको छ। सरकारी संस्थानहरुमा सफल संस्थानको पहिचान बनाउन प्राधिकरणलाई भारततर्फको विद्युत् निर्यात पनि महत्वपूर्ण हुन्छ। 

प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिना अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ। गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो। 

गत आवको पहिलो ६ महिनाको तुलनामा  प्राधिकरणको नाफा चालू आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो। 

गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो। आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ। 

प्राधिकरणले चालू आवको ६ महिनामा कुल विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ। यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ।

प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .