ad ad

कारोबार


सुनको मूल्यमा फेरि कीर्तिमान, विश्वबजारमा पनि हालसम्मकै उच्च

सुनको मूल्यमा फेरि कीर्तिमान, विश्वबजारमा पनि हालसम्मकै उच्च

नेपालखबर
चैत ८, २०८० बिहिबार १२:१०, काठमाडौँ

सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ कीर्तिमान बनाएको छ। 

बिहीबार सुनको मूल्य एकैदिन २ हजार ६ सय रुपैयाँ प्रतितोला वृद्धि भएको हो। 

योसँगै आज छापावाल सुन १ लाख २७ हजार ८ सय र तेजाबी सुन १ लाख २७ हजार २ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। बिहीबार चाँदी ३५ रुपैयाँले बढेपछि १ हजार ५ सय ५५ रुपैयाँ पुगेको छ। 

आजको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। नेपाली बजारमा मात्र नभई विश्वबजारमा समेत सुनको मूल्यले नयाँ उचाइ पाएको एजेन्सीहरुले जनाएका छन्।  

विश्वबजारमा सुनको मूल्य मापन गर्ने गोल्डप्राइसका अनुसार सुन प्रतिऔँस २ हजार २ सय ५ अमेरिकी डलर मूल्यमा कारोबार भइरहेको छ।

उक्त मूल्य पछिल्लो ३० दिनयता १७७.८७ डलर, ६ महिनायता २७८.३८ डलर, १ वर्षयता २३३.९२ डलर, ५ वर्षयता ९०३.१९ डलर र २० वर्षयता १७८६.०४ अमेरिकी डलरले बढेको हो।

अझै बढ्ने? 
विश्वबजारमा यही वर्षको आधाआधीमा २ हजार ३ सय अमेरिकी डलरसम्म पुग्न सक्ने बताइएको छ। 

सुनको मूल्य र ब्याजदरबीच उल्टो सम्बन्ध हुन्छ अर्थात् ब्याजदर घट्दा सुनको मूल्य बढ्ने हुन्छ। ब्याजदर घट्दा ऋणपत्रजस्ता निश्चित आय दिने सम्पत्तिमा भन्दा सुनमा गरिएको लगानीले राम्रो प्रतिफल दिने हुन्छ। 

यस्तोमा मानिसहरुले सुन किन्दा यसको बढ्दो मागले मूल्य पनि बढाउँछ। 

एजेन्सीहरुका अनुसार पछिल्ला २ वर्षमा विश्वका केन्द्रीय बैंकहरुले धेरै सुन किनेकामा २०२४ मा पनि यसले निरन्तरता पाउने देखिएको छ। यसले उच्च ब्याजदरका, बलियो डलरका बीच सुनको मूल्यलाई थप मजबुत बनाएको बजार विश्लेषकहरुले बताएका छन्। 

स्रोत वर्ल्ड गोल्ड काउन्सिल

उच्च ब्याजदर हुँदा सामान्यतया ऋणपत्रहरुको तुलनामा सुनको मूल्य घटाउँछ। किनकि यसले कुनै ब्याज आम्दानी दिँदैन। सुनको मूल्यवृद्धिको अर्को कारण भने भूराजनीतिक अस्थिरतालाई पनि लिइन्छ। मानिसहरुले आफ्नो लगानी सुरक्षित गर्न सुनलाई लिने गरेका छन्। 

पछिल्लो दशकमा रुस र चीनले धेरै सुन खरिद गरेको विश्लेषकहरुको बुझाइ छ। तर पछिल्ला वर्षहरुमा भने केन्द्रीय बैंकहरुले नै बढी सुन किनेका छन्। 

सन् २०२३ मा चीनको पिपल्स बैंक अफ चाइनाले सबैभन्दा धेरै सुन खरिद गरेको  थियो। कमजोर अर्थतन्त्र र समस्याग्रस्त घरजग्गा क्षेत्रका कारण चिनियाँ लगानीकर्ताले सेफ हेभनको रुपमा सुन खरिद गरेका थिए। 

चीनपछि पोल्यान्ड, सिंगापुर, लिबिया, चेक रिपब्लिक, भारत, इराक, कतार, फिलिपिन्स र किर्गिस्तानका केन्द्रीय बैंकले धेरै सुन खरिद गरेको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .