ad ad

कारोबार


टाइटानिकको अधूरो यात्रा पूरा गर्न कम्मर कसेका अर्बपति पाल्मर

टाइटानिकको अधूरो यात्रा पूरा गर्न कम्मर कसेका अर्बपति पाल्मर

लुइस क्यासियानो
चैत ३, २०८० शनिबार १२:५६, काठमाडौँ

अस्ट्रेलियाका एक अर्बपति पछिल्लो समय चर्चित अन्तर्राष्ट्रिय मिडियाहरुमा छाइरहेका छन्। 

खनिज क्षेत्रका ती व्यवसायी १ सय १२ वर्षअघि टाइटानिक जहाजले नसकेको यात्रा पूरा गर्न चाहन्छन्। ती हुन् क्लाइभ पाल्मर। 

हाल ६९ वर्ष उमेरका पाल्मर टाइटानिक–२ जहाज बनाएर यो यात्रालाई सफल बनाउने योजनामा छन्। यसअघि सन् २०१२ र २०१८ मा पनि उनले यस्तैखाले योजना सार्वजनिक गरेका थिए। 

सन् १९१२ मा टाइटानिक जहाज समुद्रको मध्ययात्राका क्रममा बरफपिण्डमा ठोक्किएर वियोगान्त दुर्घटनामा परेको थियो। सो क्रममा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। 

गत बुधबार पाल्मरले सिडनी अपेरा हाउसमा एक पत्रकार सम्मेलन गरी जहाज बनाउने र आफ्नो सपना पूरा गर्ने योजना घोषणा गरेका हुन्।

क्लाइभ पाल्मर (ब्लु स्टार लाइन)

द गार्जियनका अनुसार उनले एउटा पृथक् शैलीयुक्त र विलासी जहाज बनाउने प्रतिबद्धता जनाएका छन्। 

अस्ट्रेलियाली संसदमा प्रतिनिधित्व गरिसकेका उनले त्यसको लागि शिपयार्ड भने पाएका छैनन्। 

‘हामी विश्वकै सबैभन्दा राम्रा जहाज निर्माता, डिजाइनर र इन्जिनियरमार्फत टाइटानिक–२ बनाउनेछौँ’, पाल्मरले भने। 

उक्त जहाज पाल्मरकै कम्पनी ब्लु स्टार लाइनले निर्माण गर्नेछ। 

निर्माण सकिएपछि जहाजले पहिलो टाइटानिकको उही स्थानबाट यात्रा सुरु गर्नेछ। उक्त जहाज बेलायतको साउदम्टनबाट छुटेर अमेरिकाको न्युयोर्क र विश्वका अन्य स्थानमा पुग्ने पाल्मरको भनाइ छ। 

टाइटानिक २  (ब्लु स्टार लाइन)

प्रस्तावित जहाजमा ९ वटा डेक र ८३५ वटा क्याबिन हुनेछन् जसमा ३८३ वटा पहिलो श्रेणीका, २०१ वटा दोस्रो तथा २५१ वटा तेस्रो श्रेणीका रुमहरु हुनेछन्। 

यसले २ हजार ४ सय ३५ जनासम्म यात्रुलाई सेवा दिनेछ। पहिलेको जहाजमा जस्तै यसमा पनि उही ब्रिज हुनेछ। यात्रा अनुभवसँगै जहाजमा अपग्रेड गर्न सकिने नेभिगेसन प्रविधि र आधुनिक सुरक्षा फिचर उपलब्ध हुनेछ। 

जहाजलाई डिजेल इन्जिनले कुदाउनेछ तर यसमा कोइला इन्धनले चल्ने पहिलेका जस्तै चारवटा धूवाँ फाल्ने चिम्नी पनि हुनेछन्।  

‘सन् १९१२ मा टाइटानिक सपनाहरुको जहाज थियो। सय वर्ष बढी हुँदासमेत टाइटानिकको विरासतलाई रहस्य, उत्सुकता र सम्मानले भरिएको छ’, पाल्मरले भने। 

पहिलेको टाइटानिक जहाज (गेट्टी इमेज)

यसअघि सन् २०१५ मा टाइटानिक २ को काम भुक्तानीको लफडाले रोकिएको द गार्जियनले जनाएको छ। सन् २०१८ मा पाल्मरले फेरि अर्को योजना घोषणा गर्दै सन् २०२२ मा यात्रा नै सुरु हुने मिति तोकेका थिए। 

गत बुधबार उनले दोस्रो पटकको योजना कोभिड महामारीका कारण पूरा हुन नसकेको बताएका थिए। 

‘अहिले मसँग धेरै पैसा छ’, उनले भने, ‘घरमा बसेर पैसा गन्न भन्दा टाइटानिक बनाउन धेरै रोचक कुरा हो।’     

दुर्घटनामा डुबेको टाइटानिक जहाजको भग्नावशेष (रोयटर्स)

फक्सन्युजबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .