ad ad

कारोबार


समयमै नसकिँदा गौरवका आयोजनाको लागत खर्च दोब्बर वृद्धि

समयमै नसकिँदा गौरवका आयोजनाको लागत खर्च दोब्बर वृद्धि

बसन्त अर्याल
फागुन २, २०७६ शुक्रबार ७:४१,

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बृहत् र राष्ट्रिय महत्त्वका २३ वटा आयोजनाहरूलाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरेको छ।

अर्थ मन्त्रालयकाे अर्धवार्षिक समीक्षामा सार्वजनिक तथ्यांकअनुसार राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति भने सन्तोषजनक छैन।

केही आयोजना पूरा हुने चरणमा पुगे पनि केही आयोजना भर्खरै सुरु भएका छन्। त्यस्तै केही आयोजनाको हालसम्म कार्यान्वयन ढाँचा र वित्तीय व्यवस्था नै हुनसकेको छैन। निर्धारित समयतालिकाअनुसार काम नहुने प्रवृत्ति र निर्माणसम्पन्न हुने म्याद थप्दै जाँदा ती आयोजनाको लागत दोब्बरसम्म बढ्ने देखिएको छ।

गौरवका आयोजनाको सुरु लागत र बढेको लागत
पुष्पलाल (मध्यपहाडी) राजमार्ग

Image may contain: sky, mountain, outdoor and natureपुष्पलाल लाेकमार्गकाे पुछिघाट-मन्थली खण्डकाे दृश्य। तस्बिरः देवशंकर पाैडेल/फेसबुक
पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म २५ जिल्ला जोड्ने पुष्पलाल मार्ग आर्थिक वर्ष २०६४/६५ देखि सुरु गरी आर्थिक वर्ष २०७४/७५ मा सम्पन्‍‌न हुने अनुमान गरिएकोमा संशोधित कार्यतालिकाअनुसार आर्थिक वर्ष २०७९/०८० सम्ममा सम्पन्‍‌न गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेकोमा संशोधित लागत ८४ अर्ब ३३ करोड पुगेको छ। ५ वर्ष समय थप्दा लागत करिब ५१ अर्ब बढी छ।

मेलम्ची खानेपानी

melamchi surung

काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित मेलम्ची खानेपानी आयोजना २०५५/५६ बाट सुरु भएको हो। आर्थिक वर्ष २०७१/७२ मा सम्पन्‍‌न गर्ने लक्ष्य रहेको यो आयोजनाको संशोधित कार्यतालिकाअनुसार पहिलो चरणको कार्य आर्थिक वर्ष २०७६/७७ मा र दोस्रो चरणको कार्य आर्थिक वर्ष २०७८/७९ मा सम्पन्‍‌न गर्ने लक्ष्य छ। सुरुमा कुल लागत १७ अर्ब लाग्ने अनुमान गरिएकोमा ३५ अर्ब पुग्ने भएको छ।

सिक्टा सिँचाइ आयोजना

sikta sichai

४२ हजार ७ सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ पुर्याउनको लागि आर्थिक वर्ष २०६१/०६२ मा सुरु भई आर्थिक वर्ष २०७१/०७२ मा सकिने लक्ष्य राखिएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्‍‌न हुने गरी आयोजनाको म्याद थप गरिएको छ। सुरु लागत अनुमान १२ अर्ब ८० करोड रहेको यो आयोजनाको संशोधित लागत अनुमान २५ अर्ब २ करोड पुगेको छ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना

ranijamara sichai
२० हजार ३ सय सिँचाइ सुविधा र ४.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनामा आव २०८०/०८१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको सुरु लागत १२ अर्ब ६३ करोड लाग्ने अनुमान रहेकोमा हाल २७ अर्ब ७० करोड २४ लाख पुग्ने संशोधित अनुमान रहेको छ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

bheri babai diversion
आर्थिक वर्ष २०६८/०६९ मा सुरु भई २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको संशोधित तालिकाअनुसार २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजनाको सुरू लागत अनुमान १६ अर्ब ४३ करोड रहेकोमा ३३ अर्ब १९ करोड लाग्ने संशोधित अनुमान छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

gautambuddha airport 1

सन् २०१४ मा सुरु भई २०१७ मा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र निमार्णकार्य सम्पन्न हुन नसकेकोले २०२० मार्चसम्म सक्ने लक्ष्य राखेको छ। निर्माणकार्यको सुरुको लागत ६ अर्ब २२ करोड रहेकोमा संशोधित अनुमान ६ अर्ब ८२ करोड पुगेको छ। त्यस्तै मुआब्जाको कुल लागत २३ अर्ब ५९ करोड रहेको छ। यस आयोजनाको कुल लागत ३० अर्ब ४१ करोड रहेको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

mathillo tamakoshi
आर्थिक वर्ष २०६७/६८ देखि सुरु भई आर्थिक वर्ष २०७२/७३ मा सम्पन्‍‌न हुने अनुमान रहेको भए पनि भूकम्पलगायतका कारणले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्‍‌न हुने संशोधित अनुमान छ। कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको चालू आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको छ। आयोजनाको सुरु अनुमानित लागत ३५ अर्ब २९ करोड रहेकोमा निर्माण अवधि लम्बिन गई संशोधित लागत करिब ४९ अर्ब २९ करोड पुग्ने अनुमान गरिएको छ।

काठमाडौँ–तराई (मधेश) द्रुतमार्ग

fast track inspection

राजधानीलाई तराईसँग जोडने सबैभन्दा छोटो मार्ग काठमाडौँ तराई (मधेश) द्रुतमार्गको कुल लम्बाई करिब ७२ किमि रहेको छ। आव २०७४/७५ बाट आयोजना सुरु भई २०८०/८१ सम्म अवधि छ। आयोजनाको प्रारम्भिक अनुमानित कुल लागत १ खर्ब ११ अर्ब रहेकोमा संशोधित अनुमान २ खर्ब १३ अर्ब रहेको छ।

उत्तर–दक्षिण (कोशी) लोकमार्ग
आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरू भएको उत्तर–दक्षिण लोकमार्गअन्तर्गत यो आयोजनाले तेह्रथुमको वसन्तपुरदेखि उत्तरी सिमाना किमाथाङ्कासम्म १ सय ६२ किमि सडक निर्माण एवं स्तरोन्‍‌नति गर्ने लक्ष्य लिएको छ। २०८०/८१ सम्म सक्ने लक्ष्य रहेको आयोजनामा सुरुको लागत ५ अर्ब १५ करोड गरिएको थियो। हाल लागत १६ अर्ब २० करोड हुने अनुमान गरिएको छ।

हुलाकी राजमार्ग
तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्‍‌नति गरी पूर्व–पश्‍चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने उद्देश्य रहेको यो आयोजना आर्थिक वर्ष २०६५/६६ देखि सुरू गरिएको हो। २०७९/८० सम्म सक्ने आयोजनाको कुल लागत ४७ अर्ब २४ करोड लाग्ने अनुमान गरिएकोमा संशोधित लागत ६५ अर्ब २० करोड पुगेको छ।

बबई सिँचाइ आयोजना
बर्दिया जिल्लाका करिब ३६ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य रहेको छ। २०४४ मा सुरु भई २०६९/७० सम्पन्न हुने लक्ष्य लिएकोमा २०७८/८९ मा सम्पन्न गर्ने संशोधित लक्ष्य छ। सुरु लागत २ अर्ब ८७ करोड रहेकोमा आयोजनाको कुल संशोधित लागत १२ अर्ब ५६ करोड पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .