ad ad

कारोबार


बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर घटाउने, कति सस्तो होला कर्जा?

बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर घटाउने, कति सस्तो होला कर्जा?

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८० शुक्रबार ११:५२, काठमाडौँ

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अधिक देखिएको छ। अर्थतन्त्रमा देखिएको शिथिलताले उद्योग व्यवसायको उत्पादन क्षमता घटेको छ। जसका कारण कर्जाको मागमा संकुचन आएको हो। 

कर्जाको मागमा संकुचन आउँदा बैंकहरुमा तरलता थुप्रिनु स्वाभाविक नै हो। केही बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषको दबाब हुँदा चाहेर पनि कर्जा बढाउन नसक्ने अवस्था छ। तर, अधिकांश बैंकको लगानी क्षमता हुँदाहुँदै माग बढ्न नसकेर कर्जा नगएको बताउँदै आएका छन्।

निक्षेप थपिँदा कर्जाको माग नहुँदा पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। फागुनमा पनि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने भएका छन्। पैसा थुप्रिएको बेला कर्जाको माग बढ्न नसक्दा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाउने भएका हुन्।

तर, केही बैंकहरुले भने यसअघि नै निक्षेपको ब्याजदर धेरै नै घटाएको बताउँदै फागुनमा स्थिर राख्ने बताएका छन्।

२०८० पुसको तुलनामा माघमा एभरेष्ट बैंक र एनएमबी बैंकले निक्षेपको ब्याजदर स्थिर नै राखेका छन्। सोही अवधिमा सरकारी स्वामित्वका लगायत केही बैंकले मुद्दती निक्षेपको ब्याजदर उच्च दरले घटाएका थिए। जसकारण केही बैंकले फागुनमा निक्षेपको ब्याजदर नघटाउने भएका हुन्।  

माघमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ८.१६७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको औसत ६.१३ प्रतिशतमा छ। फागुनमा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाउँदा औसत दर घट्ने देखिन्छ। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको पुँजी स्रोतको लागतसमेत घट्नेछ। 

यसले बैंकहरूको आधार दर समेत घट्न सहयोग पुग्ने हुन्छ। जसको कारण बैंकहरुको आधार दर (बेसरेट) घटेर कर्जा सस्तिन जान्छ।

निक्षेपको ब्याजदरमा आउने परिवर्तनले आधार दरलाई प्रभावित पार्छ । निक्षेपमा ब्याजदर बढेमा आधार दरसमेत बढ्ने गर्छ भने घटेमा आधार दरसमेत कम हुने गर्छ । 

बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरको आधारमा औसत आधार दर निकाल्छन्। यसरी निस्कने आधार दर नै कर्जामा लागू हुन्छ। यद्यपि, बैंकहरुको निक्षेपको घट्दो ब्याजदरले आगामी समयमा कर्जाको समेत ब्याजदर घट्ने देखिएको छ। 

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख 
यो साता केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको गर्यो। जसमा देशबाट बाहिरिने रकम र देशभित्र आउने रकमको अन्तर्भुक्तानी सन्तुलन थप सकारात्मक देखिएको छ। यसले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको भन्ने हो। 

साथै, व्यापार घाटासमेत सुधार हुँदै गएको छ। रेमिट्यान्स आप्रवाहमा देखिएको वृद्धि आयात गिरावटका कारण विदेशी विनिमय सञ्चिति सुधार हुँदै आएको छ। 

यता, भुक्तानी सन्तुलनमा हुँदा बैंकहरु समेत कर्जा विस्तार गर्न सक्छन्। जसले गर्दा उद्योगी तथा व्यवसायीले सहज अनुभव गर्छन्। घट्दो ब्याजदरले सरकारले उठाउने आन्तरिक ऋणको ब्याजदर पनि घट्छ र यसले सरकारलाई नै सजिलो बनाउँछ।

किन बढेन कर्जा प्रवाह? 
अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख हुँदा समेत कर्जाको माग बढ्न सकेको छैन। अर्थतन्त्रमा देखिएको सुस्ततासँगै गत वर्षदेखि नै कर्जाको माग बढ्न सकेको छैन। 

ब्याजदर घट्दो क्रम हुँदा केही ऋणीहरु अझै घट्ने अपेक्षा समेत गरिरहेका छन्। यता, बैंकहरु खराब कर्जा घटाउन कर्जा ठप्प पारी सुधारमा केन्द्रित हुँदा बैंकहरुको नाफा खुम्चिएको छ।

आधा दर्जन वाणिज्य बैंकहरुलाई पुँजीकोषको दबाब देखिएको छ। पुँजी कोषको दबाब हुने बैंकलाई केन्द्रीय बैंकले निगरानी राख्ने गरेको छ।

पुँजी कोष सीमा नपुगे कारबाही समेत गर्ने गर्छ। यद्यपि, पुँजी कोषको दबाब हुने बैंकले चाहेर पनि व्यवसाय विस्तार गर्न नसक्ने अवस्था छ। 

पुँजी कोष दबाबमा नरहेका बैंकहरूमा पनि केहीको क्षेत्रगत कर्जा प्राथमिकताहरू छन्, जसले गर्दा बाँकी क्षेत्रमा कर्जा प्रवाह नबढ्ने अवस्था बनेको छ।

त्यसैगरी, अधिकांश बैंकहरुमा खराब कर्जा अनुपात उच्च छ। खराब कर्जा अनुपात ५ प्रतिशत नाघ्नासाथ बैंकहरुलाई जोखिमयुक्त मानिन्छ।

खराब कर्जा ५ प्रतिशत नाघेको बैंकमा संस्थागत निक्षेप राख्न नपाउने जस्ता व्यवस्था छन्। यद्यपि, बैंकहरु खराब कर्जा बढ्न नदिन कर्जा बढाउन नचाहेको पनि देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .