ad ad

कारोबार


द्रुतमार्ग ठेक्का : बदनाम केएमसी प्राविधिक रुपमा छनोट भएपछि प्रश्नैप्रश्न

द्रुतमार्ग ठेक्का : बदनाम केएमसी प्राविधिक रुपमा छनोट भएपछि प्रश्नैप्रश्न

नेपालखबर
माघ २६, २०८० शुक्रबार ०:९, काठमाडौँ

नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाक (द्रुतमार्ग) काम गरिरहेको छ। आगामी वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने यस आयोजनाको कतिपय ठेक्का लाग्न नै बाँकि छ। 

यसै क्रमममा प्याकेज ८ बी अन्तर्गत ठेक्का प्रक्रिया चलिरहेको छ। अहिले बोलपत्रमा इच्छुक कम्पनीहरुको प्रविधिक छनौट भएर आर्थिक मूल्याङ्कनको चरणमा छ। 

नेपाली सेनाका प्रवक्ता कष्णप्रसाद भण्डारीले तीनवटा कम्पनी प्राविधिक रुपमा छनौट भएर आर्थिक प्रस्तावको मूल्याङ्कन भइरहेको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘केएमसी इन्डिया, आरभीएनएल–एबीएल (रेल निगम) र पोलिचाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना छन्।’

उक्त तीन कम्पनीमध्ये केएमसी इन्डिया कम्पनी प्राविधिक रुपमा छनौट हुनुलाई आश्चर्यजनक रुपमा हेरिएको छ। 

भारत हैदरावादको यो कम्पनी यस आयोजनाको काममा अनुपयुक्त देखिएको छ। १३ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान रहेको यस आयोजनाको प्याकेज ८ बीको लागि यो कम्पनी कुनै पनि हालतमा उपयुक्त नहुने देखिएको हो। सोही कारण अहिले निर्माण क्षेत्रका ठेकेदारहरु समेत आश्चर्यमा परेका छन्। 

एक निर्माण व्यवसायीले नेपालखबरसँग भने, ‘नेपाली सेनाजस्तोले ठेक्का लिएको फास्ट ट्रयाकमा लगाइएको महत्वपूर्णमध्येको प्याकेज ८ बीमा निर्माण क्षेत्रमा नै काम नगरेको कम्पनीलाई समावेश गरेको देखिएको छ। त्यसले आयोजना नै प्रभावित हुनसक्छ।’

तिनले भनेअनुसार यदि त्यो कम्पनीलाई दिने हो र आर्थिक रुपमा पनि छनौट गर्ने हो भने आयोजना स्वतः प्रभावित हुनेछ।

किनकि प्याकेज ८ बीमा बोलपत्रअनुसार दुई लेनको ड्युअल क्यारिएजवे स्ट्यान्डर्ड एक्सप्रेसवे सडक निर्माण गर्नुपर्ने हुन्छ। सुरुङ, पुल, स्लोब स्टेबिलाइजेसनलगायतका काम गर्नुपर्ने हुन्छ। 

ठेक्काअन्तर्गत कम्पनीले ३३ करोड २ लाख ४२ हजार ६ सय रुपैयाँ धरौटी राख्नुपर्ने र त्यसको अवधि १२० दिन हुने भनिएको छ। 

तर यो कम्पनी धरौटी समेत जुटाउन नसकेको र बैंक ग्यारेन्टी समेत जुटाउन नसकेको कम्पनी हो। ज्वाइन्ट भेन्चरमा रहेको नेपाली पार्टनरले यसको धरौटी रकम जुटाएको देखिएको छ। 

प्याकेट ८ बी आफैँमा दोस्रो पटक टेन्डर भएको प्याकेज हो। एक पटकको प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गरिएको सूचना जारी भएको थियो।

सुरुमा ८–ए, ९–ए र ९–बी प्याकेजको टेन्डर खुला गरिएको थियो। आयोजनाका अनुसार यी तीन प्याकेजको पनि पहिलोपटकको रद्द गरेर पुनः बोलपत्र आह्वान गरिएको थियो। सुरुमा ८ र ९ एउटै प्याकेज मात्रै थियो तर पछि यसलाई विभाजन गरिएको हो। ८–बी र १० प्याकेजको टेन्डर खुल्न बाँकी थियो। तर अहिले ८–बी प्याकेजको भने पुनः आह्वान भएको भएर प्रक्रियामा गएको हो। 

टेन्डरको लागि राखिएको मापदण्डअनुसार लेखापरीक्षण पेस गर्ने
ब्यालेन्स पाना र आय विवरणको लागि कम्पनीमा ५ वर्ष यही क्षेत्रमा पछिल्लो ५ पाँच वर्ष काम गरेको हुनुपर्ने भन्ने छ। तर यो प्राविधिक रुपमा छनौट भएकामध्ये केएमसी कम्पनीले १३ वर्षयता निर्माण क्षेत्रमा काम नै गरेको छैन।

टेन्डरको मापदण्डअनुसार अन्य विषयमा समेत यो कम्पनी ‘मिट’ नहुने देखिएको छ। 

टेन्डरमा सहभागी हुने कम्पनीको वार्षिक ७ अर्ब २३ करोड रुपैयाँबराबरको कारोबार गरेको हुनपर्ने भन्नेछ। तर यो कम्पनी यसको पहुँचमा समेत देखिँदैन। 

त्यस्तै नगद प्रवाह आवश्यकता समेत १ अर्ब रुपैयाँभन्दा बढी हुनपर्ने उल्लेख छ। त्यसमा समेत यो कम्पनी सहभागी हुनसक्ने देखिएको छैन।

यस प्याकेजमा सहभागी हुन कम्तीमा बोलपत्र क्षमता १३ अर्ब २० करोड रुपैयाँ बराबरको हुनुपर्छ। तर यो कम्पनीले त्यसको लागि बैंक ग्यारेन्टी समेत जुटाउन नसकेको देखिएको छ। 

यस्तो कम्पनी प्राविधिक रुपमा नै छनौट भएको पाइएपछि अहिले यो विषय संसद्मा समेत पुगेको छ। बोलपत्रको नै पुनर्मूल्यांकन हुनुपर्ने मागसहित संसदीय समितिमा समेत उजुरी पुगिसकेको छ। 

राज्य व्यवस्था समितिमा यो उजुरी पुगेको हो। समितिका अनुसार यो विषय संसदमा आइपुगेको र त्यसको जावाफ सेनासँग माग्न रक्षा मन्त्रालय हुँदै पत्राचार समेत भइसकेको अवस्था छ। 

समितिमा भएको निवेदनअनुसार प्रक्रियाअनुसार नआउने बोलपत्रदाताबारे पुनर्मूल्यांकन गर्न सहयोगको याचना गरिएको छ। यो द्रुतमार्गको आठौं प्याकेज बीको ठेक्काबारे नै हो। 

आरएनभीएलले नेपालको कानुन पालना गर्दै नेपाल सरकार र नेपाली सेनाको आशा र अपेक्षा पूरा गर्ने पनि उक्त उजुरीमार्फत जनाएको थियो। 

केएमसीको बदनाम इतिहास 
त्यसो त द्रुतमार्ग निर्माणमा प्राविधिक रुपमा छनोट भएका तीनमध्ये केएमसीको इतिहास नै बदनाम देखिएको छ। भारतमै यो कम्पनीको ज्वाइन्ट भेन्चर (केएमसी–टुन्डी) लाई आरबीआई–सीआरआईएलसीले ननपर्फर्मिङ एसेट (एनपीए) घोषित गरेको थियो।

भारतीय राजदूतावासलाई समेत उल्लेख गरिएको पत्रमार्फत नेपाललाई यो कम्पनीलाई बोलपत्रमा सहभागी नगराउन सुझाउँदै गराइएको भए पनि रद्द गर्न र सहभागी गराइएको भए पनि पुनः बोलपत्र आह्वान गराउन भनिएको थियो। यसबाहेक नेपालको रेटिङ एजेन्सी इक्रा नेपालले समेत यस कम्पनीलाई ‘इस्युअर नट कोअपरेटिङ’ वर्गमा समावेश गरेको थियो। 

यता समयमै काम सम्पन्न नगरेपछि केएमसी कन्स्ट्रक्सन लिमिटेडलाई भारतकै सडक परिवहन तथा राजमार्ग मन्त्रालयले ‘नेगेटिभ लिस्ट’मा राखेको थियो। त्यतिमात्र नभई नेपालमा द्रुतमार्ग निर्माण प्याकेज ८ बीको ठेक्कामा यो कम्पनी पनि प्राविधिक रुपमा छनोट भएपछि यसविरुद्ध संसदीय समितिमा समेत उजुरी परिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .