कारोबार


परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

नेपालखबर
माघ २६, २०७६ आइतबार ६:२१,

विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ।

विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो। परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए।

‘विमानस्थलमा परीक्षण उडान मात्र गरियो’, उनले भने, ‘त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन।’

सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीले एक दिनको पैदल दूरी हिँडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘यस पालिकालाई अहिलेसम्म पनि सडक सञ्जालले छोएको छैन।’

विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताए। ‘विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो’, उनले भने, ‘अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि यसलाई चुनावी नारा बनाइएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad