ad ad

कारोबार


भारतले अब नेपालमा २० करोडसम्मका योजनामा सिधै खर्च गर्न सक्ने

भारतले अब नेपालमा २० करोडसम्मका योजनामा सिधै खर्च गर्न सक्ने

तस्बिर : नेपालखबर


नेपालखबर
पुस १९, २०८० बिहिबार १८:१४, काठमाडौँ

भारतले अबदेखि नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने बाटो खुलेको छ। 

यसबारे सहमति हुने थाहा पाएपछि आलोचना भए पनि सरकारले भारतका लागि नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति पाएको हो। 

यो सहमतिपछि अब भारतले सिधै लगानी गर्ने पाउने विकास आयोजनाको रकमको सीमा ५ करोडबाट बढेर चार गुणा बढी अर्थात २० करोड पुगेको हो। 

यसअघि भारतीय दूतावासले हाई इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (उच्च प्रभाव सामुदायिक विकास परियोजना-एचआईसीडीपी) अन्तर्गत पाँच करोड रूपैयाँसम्म परियोजनाहरूमा सिधै लगानी गर्थ्यो। भारतले यो रकम भारतीय दूतावासमार्फत् सिधै खर्च गर्न पाउँथ्यो। भारतले परियोजनाहरू आफैँ छनौट र तिनको कार्यान्वयन पनि आफैँ गर्ने गरेको छ। 

बिहीबार काठमाडौंमा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरको उपस्थितिमा दुई छिमेकीका सरकारी अधिकारीहरूले सहमतिमा पत्र लेनदेन गरेका छन्। 

यसअघि मन्त्रिपरिषद्को गत मंसिर २१ गतेको बैठकले भारतको अनुदान सहयोगमा बनाइने एचआईसीडीपी कार्यान्वयनका अनुदान सहयोग स्वीकार्ने निर्णय गरिसकेको छ।

भारतसहितका विदेशी मुलुकले नेपालको विकासको परियोजना अघि बढाउन नेपालस्थित अर्थतन्त्र मन्त्रालयको स्वीकृति चाहिने व्यवस्था छ। त्यसलाई भने दुई मुलुकले यथावत राखेका छन्।

भारतको अनुदानमा हुँदै आएको यो कार्यक्रम परियोजना यसअघि ‘साना विकास परियोजना’ (एसडीपी) को नामले चिनिन्थ्यो । यही कार्यक्रमअन्तर्गत भारतीय दूतावासले आफैँ परियोजना छनोट गरेर लगानी सुविधा पाउँदै आएको थियो।

भारतीय दूतावासले नेपालका परियोजना आफैँ छनौट र तिनको आफैँ कार्यान्वयन गर्दा आलोचना र विरोध भइरहेको छ। नेपालमा २०५९ सालपछि भारतले सिधै लगानी गर्न थालेको हो। 

यो परियोजना तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा सुरु भएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ गते अपदस्थ गरेसँगै यसले गति लिएको हो। २०६० सालमा उनले राप्रपा नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएसँगै भारतीय दूतावासले सिधै तीन करोड रूपैयाँसम्म लगानी गर्न पाउने सहमति दिइएको थियो। 

शान्तिप्रक्रियापछि प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको पालामा २०६८ सालमा सिधै लगानी गर्ने भारतीय सहयोगको सीमा बढाएर ५ करोड बनाइयो।

त्यसपछि २०७६ पुसमा सरकारले त्यसबेलाको 'साना विकास परियोजना कार्यक्रम'को नाम फेरेर 'उच्च प्रभाव सामुदायिक विकास परियोजना' बनाएको थियो।

यो एचआईडीसीपी सम्झौताको अवधि यसअघि २०८० साउनसम्म मात्रै थियो। तर गत साउन १६ गते यसको म्याद चार वर्ष थपियो। अब यो परियोजना २०८३ साउन २० सम्म रहनेछ। जसमा अब भारतले एकै परियोजनामा २० करोडसम्म लगानी गर्न पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .