ad ad

कारोबार


औद्योगिक उत्पादनको बजार माग १२.०६ प्रतिशतले घट्यो, ७.४६ प्रतिशतले खुम्चियो कारोबार

औद्योगिक उत्पादनको बजार माग १२.०६ प्रतिशतले घट्यो, ७.४६ प्रतिशतले खुम्चियो कारोबार

नेपालखबर
पुस १६, २०८० सोमबार १५:४, काठमाडौँ

नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रको वास्तविक अवस्थाबारेको सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ। 

परिसंघ अध्यक्ष राजेश अग्रवालले चालू आवको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गरेका हुन्। 

सरकारले समग्रमा अर्थतन्त्र सुधारेको दाबी गरिरहेका बेला अध्ययनले भने त्यस्तो नदेखाएको अग्रवालले बताए।  

‘परिसंघको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन’, सर्वेक्षण सार्वजनिक गर्दै उनले थपे, ‘समग्र बजार माग खस्किएको देखिएको छ भने कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ।’

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालू आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो।

ताजा सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ। सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो। यो चालू आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको छ। यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कुल ३०.५४ प्रतिशतले खुम्चिएको छ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालू वर्ष समेत यथावत रहेको देखिएको छ। सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्। यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको हाम्रो बुझाइ रहेको छ।

क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचा आएको छ। अघिल्लो वर्षको सोही समयमा यो ४०.१७प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ।

यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप ९.५४प्रतिशतले गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२प्रतिशतले संकुचन आएको देखिएको छ।

६२ प्रतिशत सिमेन्ट उत्पादकले लगानी रद्द गरे 
परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन्।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको पाइएको छ।

यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप २०.८० प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२ प्रतिशतले संकुचन आएको देखिएको छ।

यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए।

१७.७० प्रतिशतले घट्यो एफएमसिजी क्षेत्रको माग
अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५० प्रतिशतले बढेको थियो तर यस वर्ष १७.७० प्रतिशतले गिरावट आएको देखिएको छ। यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ। यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १८.५०प्रतिशतले घटेको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले संकुचन आएको छ। सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमशमा यस क्षेत्रमा ५०प्रतिशतव्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .