ad ad

कारोबार


बिजुली बेचेर नेपालले कमायो १५ अर्ब २४ करोड

कुलमान भन्छन्- आयातकर्ताबाट खुद निर्यातकर्ता बन्ने अवस्थामा पुग्यौँ
बिजुली बेचेर नेपालले कमायो १५ अर्ब २४ करोड

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १२:२०, काठमाडौँ

यस वर्षको वर्षायाममा नेपालले १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। 

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो। 

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो। 

प्राधिकरणले यस अवधिमा दैनिक अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ। 

चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ। 

सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत्गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ। तर जाडोसँगै आन्तरिक माग  बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए। 

‘अहिले विद्युत् उत्पादन र माग करिबकरिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युतगृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ। त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ।’

उनले चैत र वैशाखमा विद्युत् आयातको परिमाण केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए। 

‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ। यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ’, घिसिङले थपे, ‘दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन्। त्यसैले आगामी पाँच वर्षभित्र वार्षिक रुपमा करिब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ।’ 

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र  भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .