ad ad

कारोबार


भन्सारको राजस्व चुहावटमा अब कडाइ, कर्मचारी संलग्न देखिए तत्काल कारबाही

जुनसुकै बेला हुनसक्छ छड्के अनुगमन
भन्सारको राजस्व चुहावटमा अब कडाइ, कर्मचारी संलग्न देखिए तत्काल कारबाही

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १२:०, काठमाडौँ

भन्सारतर्फ राजस्व चुहावटमा अब कडाइ गरिने भएको छ। भन्सार विभागमा नयाँ नेतृत्व आएसँगै राजस्व चुहावटमा शून्य सहनशीलता अवलम्बन गर्ने नीति अघि सारिएको हो। 

अनलाइनका माध्यमबाट हुने  प्रत्यक्ष अनुगमनलाई प्रभावकारी बनाई बिदाका दिनमा र कार्यालय समय अगाडि-पछाडिसमेत सबै भन्सार कार्यालय अनुगमनको थालनीसमेत गरिसकको भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेल बताउँछन्। 

उनका अनुसार अनुगमनका क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिए तत्काल भन्सार ऐनअनुसार कारबाही गर्न लगाउने गरिएको छ। यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुनसक्ने देखिएमा त्यस्ता कन्साइमेन्ट रोकी विभागबाटै छड्के परीक्षणका लागि टोली पठाउन थालिएको छ। अब जुनसुकै बेला छड्के अनुगमन हुनक्छ। 

त्यस्तै भन्सार नियन्त्रण प्रभावकारी बनाउन सूचना प्रविधिको पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग,  नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउनेजस्ता नीति अवलम्बन गरिएको भन्सार विभागले जनाएको छ। 

विभागले प्रत्यक्ष अनुगमनबाट चालु आर्थिक वर्षको साउनमा १२ करोड १८ लाख,भदाैमा १४ करोड र असोजमा २० करोड थप राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० लाख, भदाैमा १ करोड ८६ लाख र असोजमा ८३ लाख थप राजस्व असुल गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा प्रत्यक्ष अनुगमनबाट करिब ८२४ प्रतिशत थप राजस्व संकलन गरेको देखिएको छ। 

विभागले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र राजस्व संकलनमा सुधार भएको, समग्र व्यापार वृद्धिको तुलनाभन्दा राजस्व संकलनको वृद्धि दर बढी भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सबै भन्सार कार्यालयमा भन्सार मूल्यांकनमा एकरुपता कायम भएको र भन्सार घोषणामा शुद्धता आउन थालेको विभागले दाबी गरेको छ। 

भन्सार प्रशासनले गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव  २ प्रतिशत बढी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा  ९७ अर्ब ७९ करोड राजस्व संकलन भएकामा चालु आर्थिक वर्षमा  १ खर्ब ८ अर्ब ७४ करोड राजस्व संकलन भएको छ।

गत वर्षको तुलनामा आयात व्यापारमा १ दशमलव ६९ प्रतिशत मात्र वृद्धि भएको भए तापनि राजस्व संकलनमा उल्लेखनीय प्रगति भएको देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .