ad ad

कारोबार


‘एसेम्बल उद्योगका लागि स्थिर नीति आवश्यक’

‘एसेम्बल उद्योगका लागि स्थिर नीति आवश्यक’

नेपालखबर
भदौ २८, २०८० बिहिबार १८:५४, काठमाडौँ

नेपालमा बढ्दै गएको सवारी साधनको एसेम्बल र उद्योग मैत्री वातावरण निर्माण गर्न सरकारले स्थिर नीति ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

जोर्नालिष्ट एशोसिएसन अफ अटोमोटिभ एन्ड मोबिलिटी (जाम नेपाल)ले नाडा अटोमोबाइल एसोसियसन नेपालसँग सवारी साधन एसेम्बलको सम्भावना र चुनौती’ विषयको कार्यक्रममा एसेम्बल उद्योगमा लगानी बढाउन नीतिगत स्थिरता आवश्यक रहेको निष्कर्ष निकालेको हो।

नेपालमा हाल आधा दर्जन दुईपांग्रेले एसेम्बल उद्योग सञ्चालनमा ल्याइसकेका छन्। चारपांग्रेमा हुन्डाईले गाडी उत्पादन अन्तिम चरणमा पुर्याएको छ। अटो क्षेत्रमा लुब्रिकेन्टस्, स्पेयर पार्टस्, ब्याट्रि, टायरका उद्योग खुलिसकेका छन्।

नाडा अटोमोबाइल एसोसियसन नेपाल(नाडा)का अध्यक्ष ध्रुव थापाले राज्यको नीतिमा स्थिरता नहुँदा व्यवसायीले लगानी गर्ने वातावरण नभएको बताए।

‘यहाँ एकजना व्यक्ति परिवर्तन हुँदा नीतिगत रुपमा केही न केही परिवर्तन हुन्छ भनेर व्यवसायी बस्नुपरेको  छ’ थापाले भने, ‘एसेम्बलको क्षेत्रमा राज्यले थप सहुलियत दिनुपर्छ।’

उनले सवारी साधनको पार्टपूर्जा, स्पेयर पार्ट पनि उत्पादन गरेर जानुपर्ने अहिलको आवश्यकता रहेको औँल्याए।

‘नीतिगत स्थिरता नै व्यवसायीको माग हो। अटोमोबाइल व्यवसायी अनुत्पादक भन्दै आएका छौं तर, अटोमोबाइल क्षेत्रलाई पनि लग्जरी, अत्यावश्यक भनेर वर्गीकरण गर्न जरुरी छ’ थापाले भने।

नाडाका पूर्वअध्यक्ष कृष्ण दुलालले पछिल्लो समय सरकारले अटोमोबाइल क्षेत्रलाई सकारात्मक रुपमा लिँदै गएको बताए।

‘नेपाल ठूलो बजार भएपनि आम नेपालीको गाडी चढ्ने क्षमता भने कम छ’ दुलालले अन्तरक्रिया कार्यक्रममा भने ‘नेपालमै सवारीसाधको उद्योग स्थापना हुँदै गयो भने नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने विश्वास छ।’

नाडा अटो शोका संयोजक अनुप कुमार बरालले सरकारले अटो क्षेत्रलाई हेर्ने दुष्टिकोण परिवर्तन हुन जरुरी रहेको बताए।

‘हाल अटो क्षेत्रले १६ लाख मानिसले प्रत्यक्ष रोजगारी दिएको छ। जतिबेला नेपालमा सवारीसाधनलाई आयात प्रतिबन्ध गरियो त्यो सरकारले हचुवाको भरमा गरेको थियो’ उनले भने, ‘हालसम्म दुई दर्जन बढी शो रुम बन्द भइसकेका छन्।’

विद्युतीय सवारीसाधनतर्फ पूर्वाधार जतिसक्दो छिटो बन्नुपर्ने बरालको भनाई छ। नेपालमा सवारी एसेम्बल स्थापनाका लागि र सरकारले समग्र इकोसिस्टममै ध्यान दिनुपर्ने उनले बताए।

जाम नेपालका अध्यक्ष सागर गजुरेलले हरेक वर्ष सवारीसाधन नीतिमा हेरफेरको कारण दिर्घकालिन लगानी गर्ने व्यवसायीलाई असर पर्ने बताए।

‘सवारीसाधन एसेम्बलमा आठ देखि १० वर्षको स्थिर नीति आवश्यक छ। जसले देशमा आर्थिक गतिविधि चलायमान हुने, धेरैभन्दा धेरै रोजगारी सिर्जना हुन्छ’ उनले भने, ‘व्यवसायीको लगानी सुरक्षित गर्न पनि सवारीसाधन नीति दिर्घकालिन हुनपर्छ।’

अटो पार्टस् व्यवसायी रिद्धि कार्कीले नेपालमा ठूलो व्यवसायमा लगानी गर्न खोज्दा सरकारी निकायमा समन्वयको अभावको कारण व्यवसायी हतोत्साहित हुने अवस्था रहेको बताए।

‘सरकारी निकायमा लगानीमैत्री वातावरण हुनुपर्ने अहिलेको अवस्था हो’ उनले भने,‘नेपाल अब रोबोर्टिक्स र अटोमेसन उद्योगमा जानुपर्छ।’

नाडाका कार्यसमिति सदस्य कपिल शिवाकोटीले एसेम्बल उद्योगमा सरकारले आर्थिक ऐनमा दिएको सुविधालाई दिर्घकालिन रुपमा सोचेर अघि बढ्नुपर्ने बताए।

‘नेपालमा एसेम्बल हुने उद्योग तथा आउने उद्योगहरुमा गुणस्तर मापनलाई पनि सरकारले ध्यान दिन जरुरी छ’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघको पारवहन तथा यातायात समितिका सभापति शिवप्रसाद घिमिरेले नाडा अटो शोले सुस्त रहेको बजारलाई चलायमान बनाउन सहयोग गरेको बताए।

उनले भने, ‘नेपालमा एउटा मन्त्री परिवर्तन हुँदैमा राज्यको नीति नै परिवर्तन हुने अवस्था बनेको छ। अहिले सवारी ऐसेम्बल गर्ने व्यवसायीले कुनै ठूलो लगानी गर्नुपरेमा डराएर लगानी गर्नुपर्ने वातावरण छ। अबौं रुपैयाँ ऋण लिएर लगानी गरिरहेको अवस्थामा सरकारले नै ती उद्योग संरक्षण गर्नुपर्छ।’

सवारी परीक्षण केन्द्र टेकुका प्रमुख मनिराम भुसालले राज्यले अटोमोटिभ क्षेत्रबाट राजश्व उठाए पनि त्यसपछिको गुणस्तर भने चेकजाँच नहुँदा धेरै दुर्घटना हुने गरेको छ।

अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले एसेम्बल उद्योगबाट उत्पादित प्रोडक्ट उपभोक्ताले आयातित सवारीभन्दा कम मूल्यमा पाउनुपर्ने बताए।

‘अहिले सरकारको शंका नै उपभोक्ताले आयात गरिएको सवारी भन्दा कम मूल्यमा एसेम्बल प्लान्टबाट उत्पादन भएको सवारी पाउँछन् की पाउँदैनन भन्ने हो’ उनले भने, ‘एसेम्बल उद्योगले रोजगारी कति दिनसक्छ, कर मात्रै घटाउने तर, उपभोक्ताले केही नपाउने अवस्था हुँनुहुँदैन।’

उपभोक्तालाई गुणस्तरीय र आयातित सवारीभन्दा कम मूल्यमा एसेम्बल उद्योगमा उत्पादित सवारी उपलब्ध हुन्छ भने सरकार कर लगाएतको विषयमा थप सहुलियत दिन तयार रहेको उनको भनाई छ।

उनले थपे, ‘नीतिगत अस्थिरता नेपालकै समस्या हो, यसमा मेरो पनि समर्थन छ। नीतिगत स्थिरता आवश्यक छ।’
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .