ad ad

कारोबार


राष्ट्रिय प्रसारणको विद्युत् पुग्ने मुगु ७६ औँ जिल्ला, अब हुम्ला मात्रै बाँकी

राष्ट्रिय प्रसारणको विद्युत् पुग्ने मुगु ७६ औँ जिल्ला, अब हुम्ला मात्रै बाँकी

मुगुमा पठाइने बिजुली जोडिँदै


नेपालखबर
भदौ २५, २०८० सोमबार १२:१३, काठमाडौँ

कर्णालीको मुगु पनि विद्युत्को राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ। 

नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर मुगु सदरमुकाम गमगढीसम्म पुर्‍याएको हो।

प्राधिकरणले आइतबारबाट गमगढी लगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ। 

प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगढी साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो। 

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।

अब कर्णाली प्रदेशको हुम्ला मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ। हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सकिएर सर्भे भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए। उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तिब्र रुपमा अगाडि बढाइने बताए।

अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन्।

गत वर्षको असोजको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो। 

प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो। 

भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति गरेको थियो। 

यसैगरी, बाढीपहिरोबाट  विद्युतगृहको सव-स्टेशनका संरचनामा पनि क्षति पुगेको थियो। बाढीपहिरोले क्षति भएको नहरको पुनर्निर्माण र मर्मतपछि जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३-११ केभी सवस्टेशन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .