कारोबार


नेपाल एयरलाइन्सका डेढ दर्जन बढी पाइलटले दिए सामूहिक राजीनामाकाे चेतावनी

नेपाल एयरलाइन्सका डेढ दर्जन बढी पाइलटले दिए सामूहिक राजीनामाकाे चेतावनी

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ५:५२,

नेपाल वायुसेवा निगममा कार्यरत डेढ दर्जन बढी पाइलटले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

सम्झाैतामा काम गरिरहेका पाइलटकाे भन्दा निगममा स्थायी रूपमा काम गरिरहेका पाइलटकाे पारिश्रमिकलगायतका सुविधामा व्यवस्थापन पक्षले विभेद गरेकाे भन्दै उनीहरुले माघ ३ गते नै राजीनामा दिने चेतावनी पत्र लेखेकाे खुलेकाे छ। तर उक्त पत्र व्यवस्थापनमा बिहीबार मात्रै दर्ता भएकाे निगम स्राेतले जानकारी दिएकाे छ। 

राजीनामा दिने चेतावनी पत्रमा  पाइलटहरु श्रवण रिजाल, प्रदीप राजभण्डारी, सुवास रिजाल, प्रचण्ड खड्का, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, आरके शेरचन, सञ्जय पौडेल, मुकेश कुमार गुप्ता, सुनिल श्रेष्ठ, अर्पित श्रेष्ठ, प्रशान्त राईलगायतले हस्ताक्षर गरेका छन्।

निगमको प्रमुख कार्यकारीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा चेतावनी पत्रमा उनीहरुले धेरै उडानमा नेपाल वायुसेवा निगमको पाइलटको स्थायी कर्मचारीका रुपमा काम गरेको उल्लेख गर्दै आफूहरुप्रति व्यवस्थापकीय पक्षले विभेद गरेकोले राजीनामाको सूचना पत्रमार्फत लेखेको बताएका छन्।

 सम्झौतामा आधारित रहेर काम गरिरहेका पाइलटको तुलनामा आफूहरुमाथि विभेद भएको उनीहरुको आरोप छ। पत्रमा उनीहरुले भनेका छन्, ‘नेपालका निजी क्षेत्रका र विदेशी एयरलाइन्सका पाइलटको तुलनामा हामीले निकै कम पारिश्रमिक पाएका छौँ, यो बारे व्यवस्थापनलाई अवगत नै छ।’ यसका बाबजुद व्यवस्थापनले आफूहरुलाई कुनै सूचनाविनै महिनाबारी तलबमा करसँगै अन्य पैसा समेत काट्न थालेकाले राजनीमा दिन बाध्य हुनुपरेको उनीहरुले बताएका छन्।

निगमले ‘स्टाफ एडभान्स’ शीर्षकमा करबाहेक तलबबाट कट्टा गर्न थालेको उनीहरुले बताएका छन्। यसबारे कुनै सूचना पनि नदिएको र उक्त शीर्षकमा रकम काटे पनि आफूहरुले कुनै एड्भान्स नपाएको पाइलटहरुको आरोप छ।

यसको तुलनामा निगमले सम्झौतामा काम गरिरहेका पाइलटहरुको भने सबै कर समेत तिरिरहेको उनीहरुको भनाइ छ। एक्स्प्याट (जो सम्झौतामा काम गरिरहेका छन्)हरुको तलब समेत राम्रो रहेको पाइलटहरुको आरोप छ। यसले स्थायी पाइलटलाई अपमान गरेको उनीहरुले बताएका छन्। महंगा पाइलटलाई निगममा ल्याउने तर यहाँ भएकालाई राम्रो पारिश्रमिक समेत नदिँदा आफूहरुमाथि विभेद भएको उनीहरुको भनाइ छ।

उनीहरुले अतिरिक्त रकम सबै निगमले तिर्नुपर्ने उनीहरुले माग गरेका छन्। साथै उनीहरुले आफूहरुलाई पनि सम्झौतामा आधारित बनाएर वित्तीय लाभ दिन आग्रह गरेका छन्। यसको लागि तीन महिनाभित्र केही नगरे तीन महिनालगत्तै राजीनामा दिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad