आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ।
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल र सम्राट ढुवानी सेवालाई कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए।
कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता सङ्कलन गरिएको छ।
सबै सम्पत्ति रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएका छन्।
योसँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको छ।
यसैबीच आन्तरिक राजस्व कार्यालय पर्साले आर्थिक बर्ष २०७९/८० मा सात अर्ब १४ करोड राजस्व सङ्कलन गरेको छ।
सो अवधिमा अन्तशूल्कतर्फ तीन अर्ब, आयकरतर्फ तीन अर्ब, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७४ करोड, ब्याजकरतर्फ चार करोड र घरबहाल करतर्फ पाँच करोड राजस्व सङ्कलन भएको छ।
कार्यालयले गत आर्थिक बर्ष २०७८/७९ म आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो।
बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व सङ्कलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ। रासस
Shares

प्रतिक्रिया