ad ad

कारोबार


चीनको विजनेश फोरममा चन्द्र ढकालको सम्बोधन : नेपालमा लगानी बढाउन आग्रह

चीनको विजनेश फोरममा चन्द्र ढकालको सम्बोधन : नेपालमा लगानी बढाउन आग्रह

नेपालखबर
साउन ३२, २०८० बिहिबार १८:३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह  गरेका छन्।

चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान)नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति  र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताए।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थलहरू लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे। 
 

अध्यक्ष ढकालले कुनमिङ र पोखराबिचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवर्द्धन गर्ने यो सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए। 
 
ढकालले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’ मा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताए। 

ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी पनि अध्यक्ष ढकालले  गराए। 

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई  लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि  बताए। 
 
त्यस्तै, अध्यक्ष  ढकालले चीन र दक्षिण एसियाबिचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताए।  विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्ने पनि उल्लेख गरे। 

उनले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान  गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .