कारोबार


केबलकारले ढाक्दै काठमाडौं उपत्यका, सबै डाँडाकाँडा व्यवसायीले गरे ‘रिजर्भ’

केबलकारले ढाक्दै काठमाडौं उपत्यका, सबै डाँडाकाँडा व्यवसायीले गरे ‘रिजर्भ’

फाइल तस्बिर


वसन्त अर्याल
साउन २७, २०८० शनिबार ८:२, काठमाडौँ

काठमाडौं उपत्यकाका सबै डाँडामा केबलकार सञ्चालन गर्ने योजना व्यवसायीहरुले अघि सारेका छन्। चन्द्रागिरिमा केबलकार सहितको रिसोर्ट सञ्चालन भएपछि व्यवसायीले अरु डाँडा ‘रिजर्भ’ गरेका छन्। 

चन्द्रागिरिपछि चम्पादेवी, फुल्चोकी, शिवपुरी/नागार्जुन, पाँचखाल, साँगा, डाँडामा केबलकार सहित रिसोर्ट सञ्चालन गर्ने भन्दै उद्योग विभागमा दर्ता भएका छन्। चन्द्रागिरि हिल्स २०७३ सालबाटै सञ्चालनमा आएको थियो। 

व्यवसायीहरुले काठमाडौँमा प्रकृतिसँग रमाउन उपयुक्त गन्तव्य भन्दै केबलकारको योजना अघि बढाएका हुन्। वातावरणमा चासो राख्नेहरुले भने यसो गर्दा बोटबिरुवा, चराचुरुङ्गीको बासस्थान प्रभावित हुने बताएका छन्। 

नेपालका केबलकार र रोपवेको पूर्वसम्भाव्यता अध्ययन गर्ने र डीपीआर बनाउने रोपवे नेपालले वातावरण अनुकूल भएकाले बनाउँदा केही फरक नपर्ने उल्लेख गरेको छ।  

रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले काठमाडौंमा मनोरञ्जन र प्रकृतिसँग रमाउन चम्पादेवी, फुल्चोकी, शिवपुरीमा केबलकार बनाउँदा उपयुक्त हुने बताए। उनले सहरबाट डाँडामा जान केबलकार एक यातायातको साधन हुनसक्ने बताए। 

‘गोदावारीबाट फुल्चोकी जान सडक बनाउनुभन्दा केबलकार बनाउनु उपयुक्त हुन्छ,’ ढकाल भन्छन्, ‘वातावरणमैत्री साधन हो र जंगलको कम क्षतिमा केबलकार निर्माण गर्न सकिन्छ।’

उनले केबलकारभन्दा सडक बनाउँदा वतावरणमा बढी क्षति हुने बताए। तर जो कसैले कम्पनी दर्ता गर्दैमा केबलकार निर्माण गर्न नसक्ने बताए। 

‘काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दा कुनै समस्या हुँदैन। तर लगानी र व्यवस्थापन गर्ने कुरा लहडमा हुँदैन,’ उनी भन्छन्। 

चम्पादेवी केबलकारका सञ्चालक कमलेश अग्रवालले काठमाडौं उपत्यकामा ४–५ वटा केबलकार चलाउँदा व्यवसायिक रुपमा धान्न सकिने दाबी गरे। उनले सबैले आ–आफ्नो मोडलमा व्यवसाय सञ्चालन गर्ने भएकोले अस्वस्थ प्रतिस्पर्धा नहुने बताए। 

‘सहरको भिडभाडबाट एकैछिन भए पनि टाढा गएर आनन्द लिन चाहनेहरु केबलकारबाट डाडाँमा पुगरे रिफ्रेस भएर फर्किन्छन्,’ उनी भन्छन्, ‘उपत्यकाको लागि राम्रै हुन्छ।’

वन मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानले पछिल्लो समय केबलकार दर्ता भएको सुनिए पनि वातावरणीय अध्ययनको अनुमतिका लागि प्रस्ताव नआएको बताए। 

‘कुन ठाउँमा बनाउँदा उपयुक्त हुन्छ, हुँदैन, व्यावसायिक पक्ष छुट्टै होला,’ मन्त्रालयको वन महाशाखा प्रमुख प्रधानले भने, ‘उपत्यकाका सबै डाँडामा केबलकार बनाउँदा वनस्पति र चराचुरुङ्गीको पनि ख्याल गर्नुपर्छ।’

कुनै पनि डाँडामा सडक बनाउनु भन्दा केबलकार बनाउन वातावरणीय हिसाबले उपयुक्त भए पनि एउटै क्षेत्रमा कतिसम्म बनाउँदा ठिक हुन्छ भन्ने कुरा वातावरणीय पक्षसँगै व्यावसायिक पक्षसँग पनि जोडिने उनले बताए।

उद्योग विभागका निर्देशक हरि पंगेनीले सम्बन्धित निकायबाट केबलकार सञ्चालनको अनुमति पाएपछि उद्योगको रुपमा दर्ता गरिने बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन पूर्वधार विकास आयोजनाले केही वर्षअघि काठमाडौंमा केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो। गोदावरी फुल्चोकी, बुढानीलकण्ठ शिवपुरी हिल्स र थानकोट चन्द्रगिरि हिल्सको विषयमा अध्ययन गरेको थियो।

अहिले पर्यटन मन्त्रालयमा केबलकारलाई अनुमति दिने व्यवस्था नै हटेको छ। 

‘पहिला चन्द्रागिरि हिल्सले पनि पूर्व अनुमति लिएको थियो,’ पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले भने, ‘पर्यटन प्रयोजनका लागि धेरै केबलकार निर्माण हुन थालेपछि खोज्दा दर्ता गर्ने व्यवस्था हटेको रहेछ।’

साहसिक पर्यटन लगायतको पूर्वधार निर्माणमा विभागले नै अनुमति दिन्छ। केबलकारको पनि विभागले दिने व्यवस्था भए पनि अहिले कानुनी व्यवस्था नै परिवर्तन भई कसैले अनुमति लिने नगरेको महानिर्देशक लुइँटेलले बताए। 

केबलकार निर्माणको अनुमति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ। प्राविधिक जनशक्ति नै नभएको मन्त्रालयले अनुमति दिने गरेको छ। 

निर्माण सुरु गर्ने चरणमा चम्पादेवी केबलकार
२०५७ सालमा चम्पादेवी इको फ्रेन्डली प्रोजेक्ट प्रालि दर्ता भएको थियो। ४५ करोड २५ लाख रुपैयाँ कुल पुँजी राखेको कम्पनीले केबलकार सहित रेस्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको छ।

इको फ्रेन्डली कम्पनी प्रालिले काठमाडौंको दक्षिणकालीमा रहेको चम्पादेवीमा केबलकार बनाउने भएको छ। कम्पनीले सरकारसँग चम्पादेवी डाँडाको २२ हेक्टर वन क्षेत्रमा पर्या–पर्यटन परियोजनाका लागि सम्झौता गरी भाडामा लिने तयारी गरेको थियो। तर वन विभागले सम्झौता भंग गरी आयोजनाको प्रक्रिया रोकियो। 

कम्पनीले २०७४ मा मुद्दा जितेपछि डीपीआर लगायतको काम अघि बढाएको थियो। खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटो, आवश्यक पार्किङ एरिया, रोप वे, चम्पादेवी माताको मन्दिर एरिया तथा माउन्टेन–१ र २ को सर्भे सम्पन्न भएको कम्पनीले जनाएको छ। 

यो केबलकारलाई दक्षिणकाली नगरपालिकाले २०७६ मा निर्माण तथा सञ्चालन अनुमति दिएको थियो। जसलाई बनाउन ५ देखि ६ अर्बसम्म लाग्ने अनुमान गरिएको छ। कम्पनीले यसको लागि विदेशी लगाउने भित्र्याउने प्रयास गरिरहेको छ। 

चम्पादेवी केबलकार आयोजनामा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल सहितका व्यवसायीको लगानी छ। 

‘वातावरण प्रभाव मूल्यांकनको चरणमा छौं,’ सञ्चालक कमलेश अग्रवालले भने, ‘वन मन्त्रालयबाट ईआएको रिपोर्ट आएसँगै निर्माण सुरु गर्न सक्ने अवस्थामा छौं।’

पहिलाबाटै रिपोर्ट बनिरहेकाले छिट्टै आउने बताए। अग्रवालले केबलकार निर्माण गर्दा छिमेकी नगरपालिका कीर्तिपुरको केही भाग पर्ने भएकाले अनुमति लिने प्रक्रियामा रहेको सुनाए। 

‘अहिले स्वदेशी लगानीमै निर्माण सुरु गर्ने योजनामा छौं,’ उनले भने, ‘सुरु गरेको २ वर्षमा आयोजना तयार हुन्छ।’

फुल्चोकीमा केबलकार निर्माणको प्रस्ताव मन्त्रिपरिषदमा
२०७७ भदौ ९ गते फुल्चोकी केबलकार प्रालि दर्ता भएको छ। ललितपुर जिल्ला गोदावरी नगरपालिकामा दर्ता भएको छ। ६६ करोड रुपैयाँ कुल पुँजी छ। एक वर्षमा ११ लाख ३७ हजार ५०० यात्रु बोक्ने क्षमता रहेको यो केबलकार योजनामा शतप्रतिशत लगानी नै स्थानीयको हुने उल्लेख गरिएको छ। 

योजना आयोगले २०७८ फाल्गुन ११ गते फुल्चोकी केबलकारलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय भएको छ। 

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट लेखी आएको ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ३ को गोदावारी क्षेत्रमा फुल्चोकी डाँडामा अवस्थित देवीको मन्दिरसम्म जानका लागि ३.५२ किमि केबलकार निर्माण तथा सञ्चालन गर्न राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने,’ निर्णयमा भनिएको थियो।

१५ वर्षअघि रोपवे नेपालले फुल्चोकीमा सम्भाव्यता अध्ययन गरेको थियो। रोप वे नेपाल प्रालिले पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। 

सिद्धेश्वर पर्यटन सहकारी संस्था मार्फत व्यवसायीले अघि बढाएको योजनालाई नगरपालिकाले पूर्ण सहयोग गरिरहेको छ। 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यो नगरपालिकाको गौरवको आयोजना रहेको बताए। 

‘नगरपालिकाले गौरवको आयोजनाको रुपमा घोषणा गरिसकेको छ,’ मेयर महर्जनले नेपालखबरसँग भने, ‘आयोजना निर्माणको सहमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव गैसकेको छ। निर्णय भएको छैन।’

पुष्प बर्तौला लगायतका व्यवसायीले यो योजना अघि सारे पनि कोभिडका कारण बर्तौलाको निधन भयो। जसका कारण योजना तीव्र रुपमा अघि बढ्न नसकेको मेयर महर्जनले बताए। 

शिवपुरी र नागार्जुनमा २ कम्पनीका योजना
२०७७ असोज ८ गते भ्य नागार्जुन केबलकार प्रालि दर्ता भएको थियो। 

केबलकारको टप स्टेसन नागार्जुन पचली भैरवनजिकै स्टेसन बनाउने प्रस्ताव गरिएको छ भने बटम स्टेसन नागार्जुन १ कै जम्चीमा रहने उल्लेख छ। कम्पनीको कुल पुँजी ६६ करोड रुपैयाँ छ। 

वार्षिक ११ लाख २० हजार व्यक्ति क्षमताको केबलकार बन्ने प्रस्ताव गरिएको छ। जसले २ हजार केभीए विद्युत खपत गर्ने उल्लेख रहेको छ। यो आयोजना नेपाली व्यवसायीकै लगानीमा निर्माण गरिनेछ।

त्यस्तै शिवपुरी इको टुरिजम एन्ड केबलकार लिमिटेडले ४ वर्षअघि कम्पनी दर्ता गरेको थियो। कम्पनीको अध्यक्ष इन्द्र लामा रहेका छन्। करिब १ अर्ब लगानी गर्ने उल्लख गरेको छ। 

केबलकारको बेस स्टेसन गोकर्णेश्वरको थान डाँडामा रहने प्रस्ताव गरिएको छ भने टप स्टेसन शिवपुरी नेसनल पार्कमा रहने छ। टप स्टेसनमा भ्यु टावर, रिसोर्ट र मेडिटेसन सेन्टर बनाउने बताइएको छ।

उद्योग विभागमा दर्ता, तर लगानीको टुंगो छैन
डेस्टिनेसन माझखण्ड प्रालिले ललितपुरमा केबलकार सञ्चालन गर्ने उल्लेख गरेको छ। बागमती नगरपालिका वडा नम्बर ३ र ५ मा परियोजना सञ्चालन गर्ने जनाएको छ। ६६ करोड ९४ करोड रुपैयाँ कुल पुँजी रहेको कम्पनी २०७५ असोज २२ गते उद्योग विभागमा दर्ता भएको थियो। वार्षिक ४ लाख यात्रु बोक्ने क्षमताको केबलकार बनाउने प्रस्ताव गरिएको छ। 

‘कोभिडअघि केबलकार दर्ता भएको थियो,’ डेस्टिनेसन माझखण्डका अध्यक्ष गोपाल सञ्जेलले भने, ‘अहिले लगानीकर्ता खोजिरहेका छौँ। ४–५ महिनामा केही रिजल्ट देखिएला।’

हेटौडा–भीमफेदी–काठमाडौं केबलकार सञ्चालन गर्न पनि उद्योग विभागमा दर्ता छ। कम्पनीको कुल पूँजी १ अर्ब ६७ करोड रुपैयाँ राखिएको छ। स्थानीयकै लगानीमा केबलकार बन्ने प्रस्ताव गरिएको छ। 

त्यस्तै, कैलाशनाथ महादेव केबलकार प्रालि भक्तपुर जिल्ला चित्तपोलमा निर्माण गर्ने योजना छ। २०७० सालमा दर्ता भएको कम्पनीको कुल पुँजी ५० करोड रुपैयाँ छ। वार्षिक ३ लाख १० हजार यात्रु क्षमता रहने उल्लेख छ। 

फनपार्कबाट महादेवको मूर्तिसम्म केबलकार सञ्चालन गर्ने योजना छ। कमल जैन र फन पार्कका सञ्चालक भरत गिरीको संयुक्त लगानीमा केबलकार निर्माण गर्ने योजना अघि सारिएको हो।

त्यसैगरी पलाञ्चोक भगवती केबल वेजले काभ्रेको पाँचखालदेखि पलाञ्चोक भगवतीसम्म केबलकार सञ्चालन गर्ने तयारी गरेको थियो। 

व्यवसायी गणेशबहादुर श्रेष्ठसहित ४ जनाको संयुक्त लगानी गर्ने भने पनि योजना अघि बढ्न सकेको छैन। करिब ६० करोड रुपैयाँ लगानी गरी होटल पनि बनाउने योजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .