बम विस्फोटको आवाज सुनेर गायत्री खत्री उठेर खाटमा बस्छिन्। नातिनातिना उठेर रुन थाल्छन्। उनी बोकेर डुलाउँछिन्।
नागढुंगा सुरुङमार्गमाथि घर भएकी गायत्री लामो समयदेखि त्रसित छिन्।
‘लाखौँ खर्च गरेर बनाएको घरमा राति आनन्दसँग सुत्न पाइँदैन,’ उनी भन्छिन्, ‘साह्रै पीडा भएको छ। सुनिदिने कोही छैन।’
गायत्रीले भूकम्पपछि पुनःनिर्माण राहतस्वरुप पाएको रकममा थपथाप पारेर जेठो र कान्छो छोरालाई एकएक वटा घर बनाइदिइन्। सुरुङमार्ग बनाउने क्रममा विस्फोट गर्दा घर चर्किएको उनी बताउँछिन्।
विस्फोटले वैशाख १२ को भूकम्पले जस्तै थर्काएको उनको भनाइ छ।
‘सुरुङमार्ग बन्दा के के न हुन्छ भन्ने लागेको थियो। ठूलै विकास होला भन्ने आश थियो। प्राविधिकले पनि सुरुङ खन्दा केही हुँदैन। सडकमा गाडी गुडेजस्तै हो भनेका थिए,’ उनी भन्छिन्, ‘विस्तारै विस्फोटक पदार्थ पड्काउन थाले। के भयो भन्दै सोध्न गएँ, छेउमा भएर हो पर पुग्दा हुँदैन भने।’
अहिले उनको घरका भित्ता, सिलिङ चर्किएका छन्। झ्यालले ठाउँ छाडेर बन्द गर्न नसकिने भएको छ।
सुरुङमार्गछेउ बस्तेनछापकै बासिन्दा रवि दानी आफ्नै घर छेउबाट नेपालकै पहिलो सुरुङमार्ग बन्दै छ भन्दा हर्षित भए। तर खुसी धेरै समय टिकेन। सुरुङ खन्न थालेपछि सबैका इनार सुके। बाटोमा धाँजा परे। जीवनभरको कमाइबाट बनेको घर चर्कियो।
पानी सुकेसँगै आयोजनाबाट एक घर एक धारा जोडिदिने आश्वासन पाए। तर धारा जोडिएन। स्थानीयले आफैँ रकम उठाएर बोरिङबाट पानी ल्याएका छन्।
सुरुङमार्ग निर्माणअघि आयोजनाले स्थानीयसँग पर्याप्त छलफल गरेन। वातवरणीय प्रभाव मूल्यांकन, डीपीआर बनाउने समयमा स्थानीयसँग कुनै सल्लाह नगरेको उनीहरुको गुनासो छ।
‘सुरुङमार्गले स्थानीयलाई बच्चालाई फकाएजस्तो गर्छन्,’ उनी भन्छन्, ‘एक–दुई दिन आन्दोलन गर्दा आएर घर चेक गर्ने, चिह्न लगाउने गर्छन्। अरु बेला चासो राख्दैनन्।’
सुरुङमार्ग निर्माण सुरु भएको ४ वर्ष भयो। बाहिरी कामपछि ३ वर्षयता लगातार सुरुङ खन्ने काम भइरहेको छ। रवि घर चर्किएकोमा रुष्ट छन्।
‘यसको क्षतिपूर्ति कसले दिने?’ उनी रिसाउँदै भन्छन्, ‘नेपाल सरकार मौन, नगरपालिका मौन छन्। पीडा हामीले बोक्नु परेको छ।’
घर चर्किंदा बिक्री नहोला भन्ने चिन्ता थपिएको छ। छोराछोरी विदेश पढ्न जान खोज्छन्। बैंकले घर चर्किएकाले ऋण दिन नसक्ने बताउन थालेका छन्।
लगातार काम भए सुरुङमार्गको काम अबको एक वर्षमा सकिन्छ। जापानी ठेकेदार निस्किए नेपाल सरकारले बेवास्ता गर्ला भन्ने उनलाई चिन्ता छ।
‘घरको क्षतिपूर्ति पाउन घर नै ढल्नुपर्छ भन्छन्,’ दानीले सुनाए, ‘घर ढलेपछि मान्छे मर्ला। सरकारले मुआब्जा कसलाई दिन्छ?’
घर चर्किएको सरकारलाई थाहा नभएको होइन। आयोजनाले घरको चेकजाँच गर्ने जिम्मा भवन विकास विभागलाई दिएको छ। भवन विभागका प्राविधिक घरमा मेसिनले चेकजाँच गर्छन्। चर्किएको घरमा उनीहरुले चिह्न लगाइदिएका छन्।
तर कति क्षति भएको छ, अब के गर्नुपर्ने हो, स्थानीयलाई बुझाउँदैनन्। आयोजनाको तर्फबाट धेरै चर्किएको ठाउँमा एक पटक प्लास्टर पनि गरिदिए। तर फेरि त्यही ठाउँबाटै चर्किएको छ।
घर चर्किएपछि सरकारले आफूहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने माग स्थानीयले राख्न थालेका छन्।
आयोजनाको काम ठप्प
शर्मिला रेग्मीको परिवारले ९–१० पटकसम्म घर चर्किएकोमा निवेदन दियो। सुरुमा स्थानीयलाई क्षतिपूर्ति दिने आश्वासन दिइएको थियो।
‘अहिले त तपाईंहरु सडक विभागमा, भवन विभागमा जानुपर्छ भन्छन्,’ उनले सुनाइन्, ‘पहिला त्यही भनेको भए ढुक्क भएर बस्ने थिएनौँ नि।’
सुरुङमार्ग निर्माण हुनुअघि घर चर्किएको छ कि छैन भनेर आयोजनाले जाँच पनि गरेको थियो। घर चर्किएको छैन भनी आयोजना अधिकारी फर्किए।
‘मेसिन ल्याएर चेक गर्नुहुन्छ। सुरुङमार्गले नै घर चर्किएको भन्नुहुन्छ,’ उनले भनिन्, ‘थुप्रै समस्या देखिए। विकास निर्माणको काम भैरहेको छ भनेर धेरै बोलेनौँ।’
रेग्मीले चर्किएको घर मर्मत गरी गत दशैँमा रङरोगन गरिन्। अहिले फेरि चर्किएर पुरानो घरजस्तो भएको छ। आठ महिनाअघि बनाएको घर चर्किएपछि समस्या समाधान नभए सुरुङ नै खन्न नदिने उनको भनाइ छ।
कमला महर्जनको घर निर्माण सकिनेबित्तिकै सुरुङमार्ग निर्माण सुरु भयो। उनको घर सुरुङमार्गको प्रवेशविन्दुमाथि नै छ।
‘हाम्रो उदेश्य विरोध गर्ने, काम गर्न दिनुहुन्न भन्ने होइन,’ महर्जन भन्छिन्, ‘१ महिनाअघि सबै स्थानीय भेला भई काम बन्द गर्न गए। आयोजनाको मौखिक विश्वास हटेपछि लिखित सहमति गरियो।’
महिना दिन बित्यो। कुनै सुनुवाइ भएन। अहिले स्थानीयले काम रोकिदिएका छन्।
‘आफ्नो घर चर्किएको छ। भत्किने हो कि भन्ने डर छ,’ उनी भन्छन्, ‘क्षतिपूर्ति माग गर्दा विकासविरोधी, भेडा स्थानीय भन्दै बाहिरी मान्छेले गाली गर्छन्।’
महर्जनले अन्यत्र जग्गा नभएकाले सुरुङमाथि नै घर बनाउनु आफ्नो बाध्यता रहेको बताइन्।
‘आयोजनाले पहिला नै यहाँ घर बनाउन मिल्दैन अरु ठाउँ व्यवस्था गर्छौं भनेको भए हुन्थ्यो,’ उनले भनिन्, ‘आयोजनाले यति मिटर दुरीसम्म घर बनाउन मिल्दैन भनेको भए नयाँ घर बन्ने थिएन।’
सुरुङमार्गको काम अहिले धादिङतर्फबाट भइरहेको छ। तर घर चर्किएपछि स्थानीयको विरोधले काठमाडौंतर्फ सुरुङ खन्ने काम भने रोकिएको छ।
‘ब्रेक थ्रु’ नजिकिँदा समस्या ज्युँका त्युँ
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ब्रेक थ्रु हुने समय नजिकिँदा पनि यस्ता समस्या समाधान हुन सकेको छैन। सुरुङमार्गको ९० प्रतिशत काम सकिँदा सुरुङमार्गमाथि चर्किएका घरको समस्या कसरी समाधान गर्ने भन्नेबारे सरकार नै स्पष्ट छैन।
सुरुङमार्ग सुरु भएको ४ वर्षमा २ हजार १६३ मिटर सुरुङमार्ग तयार भैसकेको छ। मुख्य सुरुङमार्गको दुरी २ हजार ६८८ मिटर छ। ५ सय २५ मिटर खन्न बाँकी छ।
मुख्य सुरुङ मार्गसँगैको समानान्तर आपतकालीन सुरुङमार्ग २५ सय १ मिटर खनिएको छ। २५ सय ५७ मिटर आपतकालीन सुरुङमार्ग रहने छ। त्यसमा अब ५६ मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ।
पूर्व खण्ड ९६९ मिटर र पश्चिम खण्ड ११ सय ९३ मिटर खनिएको छ। समग्र सुरुङमार्ग खन्ने काम करिब ९० प्रतिशत सकिएको छ।
मंगलबार भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निरीक्षण गर्दै ४ महिनामा मुख्य सुरुङमार्ग ब्रेक थ्रु हुने बताए। तर आयोजनाकै अधिकारी ५ महिनामा ब्रेक थ्रु हुने सम्भावना कम रहेको बताउँछन्।
ब्रेक थ्रुपछि कंक्रिट, लाइनिङ र अरु संरचना तयारपछि मात्रै गाडी कुदाउन सकिन्छ। नयाँ समस्या नआए र अहिलेका समस्या समाधान भए डेढ वर्षपछि गाडी कुद्न थाल्ने आयोजनाले बताउने गरेको छ।
स्थानीयहरुले घर चर्कियो नयाँ घर बनाइदिनु पर्यो भन्दै आयोजना अवरुद्ध गर्दै आएका छन्। स्थानीयले घर चर्किएको विरोधमा २ पटकसम्म अवरोध गरिसकेको आयोजना प्रमुख नवीनमान श्रेष्ठ बताउँछन्।
‘सुरुङमार्गमाथिका घर चर्किए नयाँ बनाइदेऊ भन्दै अवरोध समेत भएको छ,’ आयोजना प्रमुख श्रेष्ठले सुनाए, ‘अन्तिम अन्तिम भयो क्रिटिकल इस्यु समाधान गर्नुपर्ने छ।’
नागढुंगा सुरुङमार्ग आयोजनाले भवन निर्माण विभागलाई सुरुङमार्गमाथिका घरमा कति क्षति भएको हो अध्ययन गर्न लगाएको छ।
पछिल्लो समय टनेल बोरिङ मेसिन भित्रिएपनि नेपालमा अधिकांश सुरुङमार्ग विस्फोट गरेरै खनिँदै आएको छ। नागढुंगा सुरुङमार्गमा विस्फोटक प्रदार्थ प्रयोगगरी सुरुङ खनिँदै आएको छ।
सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख डा. विजय जैसीले एक एक वर्षदेखि समस्या आए पनि समाधान भैनसकेको बताए।
‘भवन विकास विभागलाई स्थानीयको घरमा कुन तहको चिरा परेको हो, अध्ययन गर्न दिइएको छ,’ महाशाखा प्रमुख जैसीले भने, ‘कस्तो समस्या हो, रिपोर्ट अझै आएको छैन।’
२०७६ कात्तिकमा निर्माण थालिएको सुरुङमार्ग ४२ महिनामा सक्ने योजना थियो। दोस्रो पटक थपिएको म्याद ०८१ वैशाखसम्म छ। हालसम्म आयोजनाको कुल भौतिक निर्माण करिब ५६ प्रतिशत छ।
सुरुङ मार्गको खन्नेसँगै कंक्रिट लाइनिङको काम रहन्छ। यसको काम करिब ४० प्रतिशत पुगेको छ। बाँकी पूर्वाधारमा ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण भैसकेका छन्।
बलम्बुको मुख्य सडकबाट फ्लाइओभर हुँदै सडकबाट सुरुङमार्गमा प्रवेश गर्ने छ। फ्लाइओभरको काम मुआब्जा विवादको कारण निर्माणमा ढिलाइ भइरहेको आयोजनाले बताएको छ।
९५ प्रतिशत मुआब्जा वितरण भैसकेको छ। आयोजनाले ३–४ वटा घर खाली गर्न सकेको छैन। सिस्नेखोलातिर रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि मुआब्जाको काम पनि बाँकी रहेको जनाएको छ।
तस्बिर/भिडिओ : सरोज नेपाल
थप तस्बिरहरू:
प्रतिक्रिया