ad ad

कारोबार


मन्त्रालयले माग्यो उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँग ९ बुँदे स्पष्टीकरण

मन्त्रालयले माग्यो उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँग ९ बुँदे स्पष्टीकरण

नेपालखबर
असार १२, २०८० मंगलबार ११:२६, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ९ बुँदे स्पष्टीकरण मागेको छ।

प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लगाउँदै मन्त्रालयले महानिर्देशक अधिकारीसँग स्पष्टीकरण मागेको हो।

मन्त्रालय र उड्डयनका अधिकारीले नेपाललाई कालोसूचीबाट हटाउन युरोपियन युनियनले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा अलग्याउनुपर्ने सर्त राखेको बताइरहेका छन्। तर प्राधिकरण महानिर्देशक अधिकारीले युरोपियन युनियनबाट प्रधिकरणलाई टुक्र्याउन कुनै आधिकारिक डकुमेन्ट नआएको बताउने गरेका छन्। 

प्राधिकरणलाई अलग नबनाउन महानिर्देशक अधिकारी आफैँ चलखेलमा लागेको आरोप मन्त्रालयले लगाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले कानुनभन्दा माथि कुनै अधिकारी नभएको बताउँदै प्राधिकरणलाई सेवा प्रदायक र नियामक बनाउने विधेयक अगाडि बढाउनुपर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेत प्राधिकरणलाई टुक्र्याउने उल्लेख गरेको छ। 

पर्यटन मन्त्रलयको जिम्मेवारी किराँतीले पाएपछि राष्ट्रिय सभाबाट पास विधेयक संसद्‌बाट मन्त्रलयमै फिर्ता आएको थियो। मन्त्री किराँतीले सुरुबाटै प्राधिकरणलाई अलग बनाएर नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउने बताउने गरेका छन्। मन्त्री किराँतीले प्राधिकरणलाघ छुट्टै निकाय बनाउन खोज्दा महानिर्देशक अधिकारीले आलटाल गरिरहेको आरोप मन्त्रालयका अधिकारीले लगाएका छन्। 

मन्त्रीनिकट अधिकारीका अनुसार विराटनगर, नेपालगन्जलगायत स्थानमा रहेका विमानस्थलको टर्मिनल भवन निर्माण अघि बढाउन लगाएका मन्त्री किराँती नागरिक उड्डयनलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गराउने कुरामा अधिकारी तयार नभएपछि रुष्ट छन्। 

मन्त्री किराँतीले महानिर्देशक अधिकारीले सांसदलाई आर्थिक प्रलोभनमा पारी उक्त विषयविरुद्ध बोल्न लगाएको सुनाउने गरेका छन्। पछिल्लो समय अधिकारीलाई महानिर्देशकमा नियुक्त गर्ने तत्कालीन उड्डयनमन्त्री प्रेम आले किराँतीका नीतिका विपक्षमा बोल्ने गरेका छन्। 

मन्त्री किराँतीको निर्देशनको अवज्ञा गरिरहेका अधिकारीले आफ्ना नजिकका व्यक्तिहरूसँग ‘यो मन्त्रीलाई नै हटाउँछु’ भन्दै हिंड्न थालेपछि यो स्पष्टीकरण सोधिएको बुझिएको छ। मन्त्री किराँतीले अधिकारीलाई हटाउने तयारी गरेर स्पाष्टीकरण सोधेका हुन्। 

मन्त्रालयले महानिर्देशक अधिकारीलाई दुई विमान र तीन हेलिकप्टर दुर्घटना भएको जिम्मेवारी निर्वाह गर्न असफल भएको हो भनी प्रश्न गरेको छ। 

‘वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा आईकाओका सिद्धान्तविपरीत दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको देखिँदा नियामक निकायको प्रमुखका रुपमा तपाईंको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि तपाईंको क्षमतामा किन प्रश्न नगर्ने’, स्पष्टीकरण मागिएको पत्रमा भनिएको छ। 

‘उड्डयन सुरक्षा परीक्षण नै पर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाईंले हवाई सेवा क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यताविपरीत विमानस्थलको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्यान्डर्ड विभागको प्रमुख र गौरवका आयोजना प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई उनकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको’ भन्दै स्पष्टीकरण सोधिएको छ। 

मन्त्रालयले फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायत गर्नुपर्ने सम्पूर्ण तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालन किन  ल्याएको भनी महानिर्देशक अधिकारीलाई सोधेको छ। 

‘परीक्षण उडान गराई सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही के कति कारणले गर्नुभएको हो’, स्पष्टीकरण पत्रमा सोधिकएको छ। 

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन ल्याउन नसक्नुमा तपाईंको कार्यक्षमता कमजोर रहेको किन नमान्ने भनी प्रश्न गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .