ad ad

कारोबार


काठमाडौंको बजेट बढ्दा अन्य सबै महानगरको खुम्चियो

काठमाडौंको बजेट बढ्दा अन्य सबै महानगरको खुम्चियो

नेपालखबर
असार ११, २०८० सोमबार ११:१३, काठमाडौँ

काठमाडौं महानगरले बजेट बढाउँदा अरुले घटाएका छन्। ६ वटै महानगरले बजेट सार्वजनिक गर्दै आम्दानीको स्रोत बढाउन नसक्दा बजेट खुम्चाएका छन्। 

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा राजश्व आम्दानी लक्ष्य अनुसार नै गरेकाले आगामी वर्षको बजेटको आकार पनि बढाएको छ। चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारले समेत बजेट घटाएर ल्याउँदा काठमाडौं महानगरपालिकाले बजेट बढाएको हो। ललितपुर, पोखरा, विराटनगर लगायतका महानगरले भने आकार घटाएका छन्। 

महानगरले बजेट विनियोजन गर्दा पूर्वधार क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेका छन्। चालु आर्थिक वर्षकै बजेट खर्च गर्न नसकेका महानगरले नयाँ कार्यक्रम समावेश गरेका छैनन्। 

सबैभन्दा धेरै काठमाडौंमा, धुलोरहित शहर बनाउने लक्ष्य
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि चालु आर्थिक वर्षको भन्दा १३ करोड बढीको बजेट ल्याएको छ। 

महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट सार्वजनिक गरेकी हुन्। 

उपप्रमुख डंगोलले बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख, पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख विनियोजना गरिएको वत्तव्यमा उल्लेख रहेको छ। 

काठमाडौंले पूर्वाधारमा सबैभन्दा धेरै ७ अर्ब ३४ करोड, शिक्षामा १ अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख  बजेट विनियोजन गरेको छ।

धुलोरहित काठमाडौं बनाउन १ अर्ब बजेट छुट्टाएको महानगरले  फोहोर–मैला व्यवस्थापन र वातावरण क्षेत्रको कामका लागि ८७ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याएको छ। 

महानगरले सरसफाई अभियानमा प्रयोग हुने सवारी साधन र उपकरण खरिदकालागि २७ करोड रकम छुट्याएको छ।

भरतपुरको ६ अर्ब ३१ करोड, गौतमबुद्ध रंगशालालाई बजेट
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १३ औं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन्।

आन्तरिक आयबाट एक अर्ब ७५ करोड, माथिल्ला सरकारहरूबाट प्राप्त अनुदान एक अर्ब ८३ करोड ९९ लाख, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख र जनसहभागिताबाट ५० करोड बजेट विनियोजन भएको छ। 

महानगरले सार्वजनिक गरेको बजेटमा विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनस्र्थापना जस्ता क्षेत्रमा बजेट विनियोजन भएको छ। 

त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुननिर्माणका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरिने बताइएको छ। जसका लागि ३ करोड विनियोजन गरिएको बताइएको छ। सरकारले बनाउने भनेको रंगशालामा  बागमति प्रदेश सरकारले समेत बजेट विनियोजन गरेको छ। 

ललितपुरः एक वडा एक उद्यान, एक घर एक बोट
ललितपुर महानगरपालिकाले ६ अर्व ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गरिन्। 

बजेटमा पूँजीगत तर्फ ४ अर्व  २१ लाख ४६ हजार र चालु तर्फ २ अर्व  ४९ करोड ८४ लाख को बजेट ल्याएको छ। 

सडक पूर्वाधार, सम्पदा, विपद व्यवस्थापन, हरियालीरपार्क निर्माण, वडा एक उद्यान, एक घर एक बोट, सार्वजनिक शौचालय प्रत्येक वडामा, आयोजना बैंक निर्माण, अपागंतामैत्री फुटपाथ निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ। 

त्यस्तै,, वातावरण प्रहरीको सुरुवात गरिने पनि बजेटमा उल्लेख छ। महानगरभित्रका २ वटा विद्यालयहरुलाई पूर्ण प्रविधिबाट शिक्षण गराइने बजेटमा उल्लेख छ।

पोखराः पौने २ अर्ब रुपैयाँ कमको बजेट
पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ। १३औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेशगर्दै पोखरामा पर्यटक सुधार हुँदै गएको बताइन्। 

चालु आर्थिक वर्ष ८ अर्ब ९९ करोड रुपैयाँ बजेट छुट्टाएकोमा ४३ प्रतिशत मात्रै खर्च भएको छ। असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने अनुमान गरिएको गुरुङले बताइन्। 

कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शीर्षकमा ५ करोड विनियोजन भएको छ। 

वीरगंज महानगरपालिकाको चालु खर्च नै बढी
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३ अर्व  २१ करोड ३५ लाखको बजेट ल्याएको छ। वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले असार ७ गते नै बजेट सार्वजनिक गरेका हुन्। वीरगंजले अघिल्लो वर्षको तुलनामा १२ करोड रुपैयाँ कमको रहेको छ। 

कुल बजेटमध्ये चालु तर्फ २ अर्व  ४८ करोड ८५ लाख  अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख  अर्थात २२ प्रतिशत बजेट छुट्टाइएको छ। त्यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख र अर्थात १ प्रतिशत बजेट विनियोजन गरिएको छ। 

आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड,आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड बजेट विनियोजन गरिएको छ। 

स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड  छुट्याइएको छ। यस्तै, लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधी छर्किने अभियानका लागि ३५ लाख  विनियोजन भएको  छ।

विराटनगर महानगरको सबैभन्दा सानो बजेट
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २०८०÷८१ का लागि ३ अर्व २८ करोड ५० लाखको बजेट ल्याएको छ। 

उपप्रमुख शिल्पा निराला कार्कीले चालु खर्चतर्फ १ अर्व ५९ करोड ८३ लाख  र पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख  बजेट सार्वजनिक गरेकी छन्। 

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० भन्दा करिब २५ प्रतिशत कम बजेट ल्याएको छ। चालु आर्थिक वर्षको लागी विराटनगरले ३ अर्व ६२ करोड ५५ लाखको बजेट ल्याएको थियो।

महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हन्तान्तर मार्फत १ अर्व  १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार र राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार आम्दानी हुने अनुमान गरेको छ। 

आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघसंस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपैयाँ आय हुने लक्ष्य राखेको छ। 

महानगरले राजश्वको दायरालाई केही फराकिलो बनाउँदै नयाँ सेवामा कर तथा दस्तुर लगाउने नीति लिएको छ।  जसमा अपुताली सिफारिस गर्दा २ हजार, दर्ता नभएको व्यवसायको हकमा ३ हजार राजस्व तिर्नु पर्ने व्यवस्था गरेको छ। 

यस्तै स्टेशनरी व्यवसाय, प्रिन्टिङ व्यवसाय, आल्मुनियम स्टिल व्यवसाय, फोटो स्टुडियो, रेकर्डिङ स्टुडियो, राइड सेयरिङ व्यवसाय, टेलिभिजन कार्यालय आदिलाई करको नयाँ दायरामा समावेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .