ad ad

कारोबार


कुन महानगरको बजेट कति?

कुन महानगरको बजेट कति?

नेपालखबर
असार १०, २०८० आइतबार १९:२८, काठमाडौँ

देशभरका स्थानीय सरकारले आज (आइतबार) बजेट ल्याएका छन्।

स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार आज आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएका हुन्।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।

यसैबीच ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। यस्तै, सबैभन्दा कम वीरगन्ज महानगरपालिकाले ३ अर्ब २१ करोड ३५ लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

हेर्नुहोस कसको कति?

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ।

महानगर नगरसभाको १३ औं बैठकमा आइतबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट पेस गरेकी हुन्।

प्रस्तुत बजेटमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निशर्त अनुदानतर्फ  ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात रु ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोड समेत गरी कुल रकम २५ अर्ब ५४ करोड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।

आगामी आर्थिक वर्षका लागि महानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरिएको छ। महानगरले सांस्कृतिक सम्पदा तथा पर्यटनमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ।

महानगरले महानगरपालिकाका आयोजनालाई ‘महानगर गौरवका आयोजना’ र ‘महानगर स्वर्णिम योजना’ का रुपमा परिभाषित गर्दै प्राथमिताका आधारमा काम गर्ने जनाएको छ।
महानगरले शिक्षामा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार विनियोजन गरेको छ।

त्यसैगरी स्वास्थ्यमा ९२ करोड ६६ लाख, पूर्वाधारमा ७ अर्ब ३४ करोड ६४ लाख, सांस्कृतिक सम्पदा तथा पर्यटनमा २ अर्ब १३ करोड, वातावरण व्यवस्थापनमा ७८ करोड ९३ लाख र सहरी यातायातमा १० करोड  विनियोजन गरेको छ।

भरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ३१ करोड ७९ लाखको बजेट
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १३ औं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ८३  करोड ९९ लाख ७५ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट रु ५० करोड, बैंक मौज्दात रु एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड र अन्तरसरकारी अख्तियारी शिर्षकमा अनुमानित आय १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ।

महानगरले सार्वजनिक गरेको बजेटमा विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनर्स्थापना जस्ता क्षेत्रमा बजेट विनियोजन भएको छ।

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड ५० लाख
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।

आगामी वर्षका लागि महानगरपालिकाले चालु खर्चतर्फ १ अर्ब ५९ करोड ८३ लाख २५ हजार र पूँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार बजेट प्रस्तुत गरिन्।

प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार बिनियोजन गरिएको छ ।

यसैगरी सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार, रहेको छ। जसमा स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसैगरी वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, सडक मर्मतका लागि १० करोड, सडक बत्तितर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड बिनियोजन गरिएको छ।

व्यय अनुमानलाई खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँड प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जहसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, संघसंस्थातर्फ ३ करोड र नगद मौज्दात २ करोड हुने अनुमान गरिएको छ।

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट
ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ।

महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट आएको हो।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ।

वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब २१ करोड ३५ लाख
वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

वीरगन्ज महानगरपालिकाको नगरसभाको उपमेयर इम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पूँजीगततर्फ ६८ करोड ७८ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रूपैयाँ विनियोजन गरिएको हो।

महानगरपालिकाको अगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड२४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८७ लाख व्यहोरिने उल्लेख छ ।

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड १५ लाख १७ हजार बजेट
पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले यो आकारको बजेट प्रस्तुत गरेकी हुन्।

कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए।

पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो। पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .