ad ad

कारोबार


दुग्ध विकास बोर्डप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : मन्त्री भुसाल

दुग्ध विकास बोर्डप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : मन्त्री भुसाल

फाइल फोटो


नेपालखबर
असार १०, २०८० आइतबार १७:९, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन्।

आइतवार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन्। उनले सरकारले जुन उदेश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उदेश्य अनुसार काम गर्न नसकेको बताए।

उनले दुग्ध विकास बोर्ड दुधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए। उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए।

मन्त्री भुसालले सरकार दुध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने बताए। उनले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताए।

उनले सरकारले दुध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए।

उनले भने, ‘सरकारले दुध विकास गर्न नचाहेको भए अस्ती भर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र? दुध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो। नस्ल सुधारको कुरा व्यवसायीहरुले भन्नुभएको छ। विकसित नसल सुधार ल्याउने काम सरकारले गरिरहेको छ।’

उनले सरकारले नस्ल सुधार गरी दुधको विकास गर्ने तर्फ प्रतिवद्ध रहेको बताए। उनले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरु आतिहाल्नु पर्ने अवस्था नरहेको दाबी गरे। उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनःसंरचना गर्न खोजेको बताए। बोर्ड खारेज गर्ने विषय मन्त्रालयबाट गएको प्रस्ताव नभएको पनि उनले स्पष्ट पारे।

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए। उनले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताए। उनले दुग्ध विकास बोर्डलाई सुधार गरेर शसक्त बनाउनु पर्नेमा खारेज गर्ने सूचिमा राख्नु उचित नभएको बताए।

उनले सरकारले बजेट संशोधन गरेर बोर्ड खारेज गर्ने विषय फिर्ता लिनुपर्ने बताए। उनले नेपालमा सिजन नभएको बेलामा ३० प्रतिशत पाउडर दुध र चिज बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए।

उनले केही उद्योगहरुले लभिङ गरेर बाहिरबाट पाउडर दुध र चिज ल्याउन रोक लगाएको भन्दै त्यसको कारण दुधको मूल्य बढेको बताए। उनले सरकारले कोटा सिस्टममा भएपनि पाउडर दुध र चिज आयात गर्न खुला गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .