ad ad

कारोबार


‘मुर्रा राँगो’ स्वागतका लागि तम्तयार छ पोखरा!

वैज्ञानिक भन्छन् : माग्दा पनि नपाएको अमूल्य उपहार हो, मान्छेले कुरा बुझेनन्
‘मुर्रा राँगो’ स्वागतका लागि तम्तयार छ पोखरा!

वाशुदेव मिश्र
जेठ २२, २०८० सोमबार २१:५४, पोखरा

नेपाल सरकारको कृषि मन्त्रालयले प्रकाशित गरेको नेपालमा व्यावसायिक पशुपालन तथा कुखुरापालन विधि पुस्तकका अनुसार लिमे, पारकोटे र गड्डी स्थानीय जातका भैँसीहरु हुन्।

पहाडी क्षेत्रमा दूध उत्पादनको लागि सुहाउँदो लिमेको शारीरिक तौल करिब ४ सय किलोग्रामसम्म हुन्छ। घाँटीमा हुने हँसिया आकारको सेतो दाग लिमेको जातीय विशेषता हो। ६१ महिनामा ब्याउने यो भैँसीमा बेत अन्तराल २१ महिना, दैनिक दूध उत्पादन २.५ लिटर र दूध दिने अवधि ३०५ दिन छ। 

पारकोटे चाहिँ कालो रङको हुन्छ र यसको सिङ निकै लामा र हँसिया आकारका हुन्छन्। यो जातको भैँसीमा पहिलो पटक ब्याउने उमेर ६६ महिना, बेत अन्तराल २० महिना, दैनिक दूध उत्पादन ३.५ लिटर र दूध दिने अवधि ३०५ दिन हुन्छ।

गड्डी स्थानीय जातको भन्दा ठूलो हुन्छ भने दूध बढी दिन्छ। नेपालमा राँगा–भैँसीको मासु खाइन्छ। सरकारले त्यही तथ्यमा टेकेर लिमे जातको भैँसीलाई मासुमा उपयोग गर्ने नीति लिएको हो। 

पहाडी भेगमा अहिले पनि दूधको लागि स्थानीय जातका भैँसीहरु नै रोजिन्छ। भीरपाखामा सजिलै हिँड्ने, चर्न मन पराउने भएकाले स्थानीय जातहरु किसानको रोजाइमा परेका हुन्। तर, पछिल्लो समय समथर क्षेत्रमा दूध उत्पादनमा अब्बल मानिएका मुर्रा, निलिरवि, जफरावादी, सुर्ति, मैसाना, नागपुरी, गोदावरी आदि जातका भैंसीहरु पाल्न सुरु गरिएको छ। निलिरविको उत्पत्ति पाकिस्तानमा भएको हो भने अन्य जातको उत्पत्ति भारतमा भएको हो। 

यीमध्ये प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणसँग जोडिएको मुर्रा भैँसीको उत्पत्ति भारतको हरियाणा राज्य र आसपासको क्षेत्रमा भएको मानिन्छ। भारतले नेपाललाई १५ वटा मुर्रा भैंसीको राँगा उपलब्ध गराउने वचन दिएको छ। 

प्रधानमन्त्रीले राँगो ल्याए भन्दै सामाजिक सञ्जालदेखि संसदसम्म सरकारमाथि कटाक्ष भइरहेको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीले ‘लिएर आएको भनेको जम्मा १५ वटा राँगो’ भएको बताए। तर, प्रचण्डको भारत भ्रमणमा प्राप्त राँगाहरु नेपालको लागि महत्वपूर्ण भएको विज्ञहरुले बताएका छन्। 

दूधको उत्पादन वृद्धि गर्न मुर्रा भैँसीको आयात धेरै वर्ष पहिलेदेखि गरिएको र नेपाल आउने अधिकांश मुर्रा वर्णशंकर रहेको अध्ययनहरुले देखाएका छन्। 

‘प्रजननको लागि मुर्रा जातको राँगोबाट प्राकृतिक गर्भाधान वा मुर्रा जातको रांगोको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधानको विधिबाट गरिन्छ,’ कृषि मन्त्रालयले प्रकाशन गरेको पुस्तकमा भनिएको छ, ‘नेपालमा मुर्रा जातको भैंसीको दूध उत्पादन प्रतिबेत १५०० लिटर छ। वयष्क भैँसीको सरदर तौल साढे ४ सयदेखि ५ सय र र वयष्क राँगोको ५३० देखि ५७५ केजी हुन्छ।’

त्यसो त नेपालमा मुर्रा राँगा नभएका भने हैनन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन् कार्यालमै अहिले १२ वटा मुर्रा जातका राँगाहरु छन्। कार्यालय प्रमुख डा.जनदीश पाण्डेयका अनुसार यहाँ भएका राँगाहरु सोझै भारतबाट ल्याइएका चाहिँ हैनन्। भारतले यसअघि ती राँगाहरु दिन आनाकानी गर्दै आएको थियो। 

‘हामीसँग भएका राँगाहरु सिमेन ल्याएर तयार पारिएका हुन्, कतिपय अवस्थामा हामीले भ्रुण पनि ल्याएका छौँ,’ उनले भने, ‘यहाँ भएका राँगाहरुबाट उत्पादित वीर्य अहिले किसानलाई वितरण हुँदै आएको छ।’ 

पोखरा, लहान र नेपालगञ्जमा रहेका पशु प्रजनन् केन्द्रले वार्षिक ८ लाख ५० हजारको हाराहारीमा सिमेन उत्पादन गर्दै आइरहेको उनले बताए। उनका अनुसार पोखरामा ५ लाख, लहानमा ३ लाख र नेपालगञ्जले ५० हजार वीर्य उत्पादन गर्छ। उत्पादित वीर्य किसानहरुलाई वितरण हुन्छ। 

‘वीर्यलाई कृत्रिम तरिकाबाट पशुको गर्भाशयसम्म पु¥याइन्छ र नयाँ पाडापाडी र बाच्छाबाच्छी उत्पादन गरिन्छ,’ उनले भने। कार्यालय प्रमुख पाण्डेका अनुसार शुद्ध वीर्य उत्पादन आफैँमा जटिल प्रक्रिया हो। प्रजनन् विधि सजिलो हुँदैन। प्रजनन् केन्द्रमा भएका राँगाहरुबाट कृत्रिम तरिकाले नै वीर्य संकलन गर्नुपर्छ। 

‘आर्टिफिसियल भेजाइना प्रयोग गरेर, नक्कली खेलौनामाथि राँगालाई चढाएर वीर्य संकलन गरिन्छ। प्रजनन् केन्द्रमा हुर्केको राँगोले सुरुमै यो प्रक्रिया बुझ्दैन। ठूला राँगाहरु हेरेर उसले सिक्छ। मैले कृत्रिम योनीमा वीर्य दिनुपर्ने रहेछ भन्ने बुझ्छ। प्रजनन् सजिलो हैन नि,’ उनले भने, ‘हामी वीर्यको गुणस्तर मापन गर्छौँ। शुद्ध र उन्नत जातको वीर्य निकाल्छौँ।’ 

उनका अनुसार उन्नत जातको राँगाको अण्डकोष झुण्डिएको हुनुपर्छ। एउटा सानो र अर्को ठूलो हुनुहुँदैन। सम्भोगको बेला लिङ्ग स्वाट्ट निस्कने हुनुपर्छ। गाईभैँसीहरूमध्ये धेरै दूध दिने पशुहरू छनोट गर्ने र त्यस्ता पशुबाट जन्मिएका बाच्छाबाच्छीहरूलाई मात्र प्रजननको लागि प्रयोग गरिन्छ। 

अहिले पोखरामा पालिएका १२ वटा राँगा सबैले वीर्य दिँदैनन्। 

‘साना पाडाहरुले सम्भोग नै सिकेका छैनन्। यो प्राकृतिक सम्भोग र गर्भाधान हैन। राँगोलाई निश्चित समय हुर्काउँछौं। तालिममा पठाउँछौं। त्यसपछि सिमेन संकलन गरिन्छ। संकलित सिमेन निश्चित स्टोर हुँदै वितरण प्रणालीमा जान्छ,’ उनले भने।
 
अहिले नेपालमा ७२ लाख गाई र ५२ लाखको हाराहारीमा भैंसीपालन भइरहेको आँकडा छ। ती सबै उन्नत जातका होइनन्। भएका पशुलाई उन्नत जातको वीर्य प्रयोग गरी नश्ल सुधार थालिएको उनले बताए। 

‘यो आफैंमा विज्ञान हो। बीउ राख्नासाथ गर्भ हुन्छ भन्ने हुँदैन। हामीसँग यहाँ ५० वटा साँढे र १२ राँगा छन्। २२ साँढे हुर्कंदै छन्,’ कार्यालय प्रमुख पाण्डेयले भने, ‘हामीले भारतसँग पहिल्यैदेखि प्रजननको लागि राँगा माग्दै आएका थियौं, किनेर नपाइने कुरा भारतले प्रधानमन्त्रीज्यूको भ्रमणको बेला दिन्छु भन्यो। मान्छेले कुरा बुझेनन्, यो त जिन हो नि त। प्रजननको लागि जिनको विशेष महत्व हुन्छ। कोरियाले कोरली बाच्छी र बहर दिएको छ। पुसमा आएको छ। अमेरिकाबाट साँढे आयात भएको हो। वस्तुगत अनुदान हो भारतले दिने। मान्छे मूल्यको पछि लागेका छन्। यी अमूल्य हुन्। डेरी सेक्टरमा कायापलट गर्ने भनेर दिएको हो। हामी त कहिले स्वागत गर्न पाउँला भनेर कुरिरहेका छौँ।’

उनका अनुसार भारतले दिने घोषणा गरे पनि राँगा आउन भने समय लाग्नेछ। 

‘हाम्रो लागि उपयुक्त छन् भने ल्याउने हो। प्राविधिक टोली जान्छ हेर्छ, ट्यागिङ हुन्छ। राख्ने भनेको पोखरासहित तीन ठाउँमा हो,’ उनले भने, ‘त्यहाँबाट ल्याइने राँगाहरुलाई भैंसीले राँगो खोजेको बेला लगाउने हैन, बीउ उत्पादन गर्ने हो।’

पशु प्रजनन् कार्यालय पोखराका पशु विकास अधिकृत डा. भाजुराम महतोका अनुसार वीर्य उत्पादनको लागि लामो मेहनत र धैर्य चाहिन्छ। अमेरिकालगायतका देशहरुले डेढ सय वर्षको अनुसन्धानबाट दूध र मासुको उत्पादकत्व बढाएको दृष्टान्त दिँदै उनले भने, ‘नेपालमा सन् २००८ बाट मात्र रेकर्ड राखिएको हो। नेपालमा अनुसन्धान गर्न अझै टाइम लाग्छ। नेपालमा लोकल भैंसीको उत्पादकत्व राम्रो छैन। भारतबाट अहिले ल्याउने राँगाबाट पक्कै उत्पादकत्व बढ्छ। सिमेन संकलन गरेर किसानकहाँ पठाउँदा पाडीहरु बढ्दै जान्छन्। आयात प्रतिस्थापना गर्न यो भारतले दिएको ठूलो उपहार साबित हुन्छ।’ 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाका सूचना अधिकारी डा. प्रकाश अधिकारी पनि भारतबाट आउने राँगाले नेपालको पशुपालनलाई ठूलो योगदान गर्ने धारणा राख्छन्। 

‘कसैले लामो समय अनुसन्धान गरेर पत्ता लगाएको कुरा मागेर पाइने हैन, हामीले माग्दा पनि भारतबाट नआएको हो, अहिले आउँदैछ, यो हाम्रो लागि अमूल्य उपहार हुन्छ,’ उनले भने, ‘मान्छेले प्रधानमन्त्रीको भ्रमण र मूल्यसँग जोडेर कुरा गरिरहेका छन्, कुरा नबुझेर त्यसो भएको हो।’

गण्डकीमा नआएको चिनियाँ हेलेस्टन 
गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले २०७५ सालमै प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने घोषणा मात्र गरेन्, चीनबाट उन्नत जातका हेलस्टेन गाई भित्र्याउने बताए। नीति तथा कार्यक्रममा समेटिएको योजना अनुरुप निजी कम्पनी गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टरसँग सम्झौता भयो। ११ करोेड रुपैयाँ विनियोजन भयो। तनहुँको शुक्लागण्डकी नगरपालिकामा स्थापना हुने गाई फार्ममा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने घोषणा पनि भयो। 

तर, एकातिर निजी कम्पनीसँग गरिएको सम्झौता र मोडल विवादित बन्यो भने अर्कोतर्फ गण्डकीसहित बागमती र मधेश प्रदेशमा सुरु गरिने भनिएको यो परियोजनालाई संघ सरकारले स्वीकृति नै दिएन। चिनियाँ कम्पनी चाइना एकेडेमी अफ एग्रिकल्चर मोर्डनाइजेसन साइन्स (सीएएएमएस) सँग गरिएको सम्झौता अनुसार गण्डकीमा ४ हजार गाई ल्याउने योजना त्यत्तिकै तुहियो। आर्थिक वर्ष २०७७/०७८ को बजेटमा छुट्याइएको १२ करोड पनि ‘फ्रिज’ भयो। 

२०७८/०७९ को नीति तथा कार्यक्रममा भनिएको थियो, ‘गाईपालनमा आधुनिक प्रविधि भित्र्याइ प्रदेशलाई दूधमा आत्मनिर्भर बनाइने छ। उच्च उत्पादन क्षमता भएका उन्नत नश्लका गाईभैंसीको संख्यात्मक तथा गुणात्मक बढोत्तरी गर्न पशु नश्ल सुधारसम्बन्धी कार्यक्रम तथा पाडा बाच्छी हुर्काउन प्रोत्साहित गरिने छ।’

नीति तथा कार्यक्रमको बुँदा नम्बर ७४ मा स्थानीय नश्लका पशुपंक्षीको आनुवांशिक स्रोतको संरक्षण गरिने प्रतिबद्धतासहित भनियो, ‘मासुको लागि लिमे र दूधको लागि पार्कोटे भैंसी संरक्षण र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने छ।’

तर, लिमी र पार्कोटे संरक्षण कार्यक्रम कार्यान्वयनमै आएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .