ad ad

कारोबार


सरकारले बजेटमा हेपेको भन्दै आन्दोलन तयारीमा चलचित्रकर्मी

सरकारले बजेटमा हेपेको भन्दै आन्दोलन तयारीमा चलचित्रकर्मी

चलचित्रकर्मीहरुको अन्तरक्रिया कार्यक्रम। तस्बिर : नेपालखबर


नेपालखबर
जेठ १९, २०८० शुक्रबार १२:३१, काठमाडौँ

६ दशक लामो विरासत बोकेको नेपाली चलचित्र क्षेत्रलाई सरकारले २ वर्ष अघिमात्रै उद्योगको मान्यता दिएको थियो।

उद्योगका रुपमा मान्यता दिए पनि पाउनु पर्ने सेवा सुविधा नपाएको चलचित्रकर्मीले गुनासो गर्दै आएका छन्। 

चलचित्र उद्योगले वार्षिक झण्डै दुई अर्बको कारोबार गर्ने गरेको छ। नेपाली र विदेशी चलचित्र नेपालभर प्रदर्शन हुँदा झण्डै दुई अर्बको कारोबार भइरहेको चलचित्र विकास बोर्डको बक्स अफिस, निर्माता संघ र चलचित्र संघको तथ्याङ्कमा देखिन्छ।

यो कारोबारअनुसार सरकारले चलचित्र उद्योगबाट २० करोड बढी कर उठाएको देखिन्छ। दर्शकले चलचित्र हेर्न टिकट काँट्दा १३ प्रतिशत कर टिकटमै समावेश भएको हुन्छ।

त्यहीअनुसार त्यो कर सरकारको राजश्व जाने गर्छ। यसरी २० करोड बढी कर उठाउने सरकारले चलचित्र उद्योगलाई बजेटमा उपेक्षा गरेको भन्दै चलचित्रसम्बद्ध संघ संस्थाले विरोध गरेका छन्।

बिहीबार राजधानीमा चलचित्र पत्रकार संघ नेपालले गरेको ‘बजेटमा चलचित्र उद्योग’ विषयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघ संस्थाका प्रतिनिधिले सरकार चलचित्र उद्योगबाट पन्छिन लागेको आरोप लगाए।

‘एउटा क्षेत्र र उद्योगलाई पाखा लगाएर सरकारले सम्मुनत नेपाल निर्माणको सपना देखेको छ। यस्तो सरकार र सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई उत्कृष्ट भनिएको छ। त्यो हामी मान्न सक्दैनौं। चलचित्र उद्योगका हजारौं चलचित्रकर्मीलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गर्ने र विदेशी चलचित्रलाई उदार हुने गरि बजेट ल्याउने सरकारबाट कला, साहित्य, धार्मिक, पर्यटन र साँस्कृतिक विचलनको प्रयास भएको छ’, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने।

विदेशी चलचित्र नेपालमा आयात गर्दा लाग्ने भन्सार शुल्क पहिलेको भन्दा घटाएर १ प्रतिशत कायम गर्नु सरकार विदेशी चलचित्रप्रति उदारता भएको उनले बताए।

सरकारको यस्तो हर्कतले स्वदेशमै नेपाली चलचित्र धराशायी हुने उनको तर्क छ। चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले पनि यसअघि २ प्रतिशतको अनुपातमा रहेको भन्सार शुल्क नेपाली चलचित्रको प्रवर्द्धन सहयोग हुनेगरि कम्तीमा ५ प्रतिशत वा एकमुष्ट १ लाख कायम गर्न सिफरिस गरे पनि सरकारले १ प्रतिशत कायम गरेर बजेट बक्तव्यमा ल्याउँदा अचम्मित भएको बताए।

कार्यक्रममा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल आदिवासी चलचित्र महासंघ, नेपाल चलचित्र द्वन्द्व लाकार संघलगायतले सरकारले चलचित्र उद्योगलाई बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

नेताहरुले चलचित्र उद्योगलाई मनोरञ्जनको एउटा माध्यमको रुपमा मात्र हेरेको चलचित्रकर्मीको भनाई थियो।

बजेटमा दोलखाको फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो नीजि लगानीको सहकार्यमा निर्माण गरिनेछ, भन्ने बाक्य मात्रै उल्लेख गरेको थियो।

दोलखाको फिल्म सिटी १० वर्षदेखि यही प्रक्रियामा रहेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। कम्तिमा दुई अर्ब बजेट लाग्ने फिल्म सिटी निर्माण गर्छु भन्ने तर बजेट चाहिँ वार्षिक एक करोड पनि नछुट्याउँदा काम शुन्य हुने योजना देखाएर सरकार पन्छिदै आएको उनको भनाइ छ।

हजारौं श्रमजीवी चलचित्रकर्मी, कलाकार र प्राविधिक चलचित्र उद्योग बाट विस्थापित हुनुको कारण सरकारले कार्यक्रम ल्याउन नसक्नु रहेको उनले आरोप लगाए।

बनेपामा चलचित्र विकास बोर्डले बनाउने भनिएको इन्डोर स्टुडियोका लागि पनि ५० करोडमाथिको बजेट चाहिन्छ। तर सरकारले जग्गा नै प्राप्त नभएको बनेपाको इन्डोर स्टुडियो नीजि लगानीसहित निर्माण गर्ने भन्दै पन्छिएर चलचित्र उद्योगलाई बेवास्ता गरेको चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए।

‘इन्डोर स्टुडियोमा सबै इन्डोर संरचनाहरु निर्माण गर्नुपर्छ। प्रविधिहरु जडान गर्नुपर्छ। अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गर्न कम्तीमा ५० करोड बजेट आवश्यक पर्छ। सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। त्यसबाट बोर्डले बढिमा तीन करोड पचास लाख पाउने छन्, त्यो पनि आन्तरिक कार्यक्रम र प्रशासनिक खर्चको लागि। अनि कसरी बन्छ स्टुडियो?’, पराजुलीले प्रश्न गरे।

चलचित्र व्यवसायी, हलवाला र नेपाली चलचित्रको प्रवर्द्धनका लागि सरकारले उचित कार्यक्रम र बजेट नदिएको चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थले बताए।

चलचित्रकर्मी र संचारकर्मीको उत्तर दिने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र उद्योगलाई पहिलेदेखि नै सरकारले उपेक्षा गर्दै आएको स्वीकारे।

‘चलचित्र सम्वद्ध संघ संस्थाहरुलाई कार्यक्रम माग गरेर हामीले पठाएका थियौं। बजेटमा ती केही कुरा आएन। संचार मन्त्रालयले गत वर्षको बजेटभन्दा १० प्रतिशत कम गरेर कार्यक्रम पठाउनु भने पनि राष्ट्रियस्तरको योजना र संघ संस्थाको कार्यक्रमलाई छुट्टै पठाएको र बोर्डको आन्तरिक तर्फ समेत ८ करोड बढिको कार्यक्रम पठाएको थिएँ’, केसीले भने।

गत वर्ष मन्त्रालयबाट ३ करोड ९० लाख प्राप्त भएको उनले बताए। यो बर्ष कम पठाउनु भन्दा पनि बढी पठाएको र आन्तरिक बजेट आइनसकेको उनले बताए।

चलचित्र उद्योगको विकास र अन्तराष्ट्रिय करण किन भएन भनेर प्रश्न गर्ने आफु बोर्डमा पुग्दा अच्चमित भएको भन्दै चलचित्र नीति पास नभएसम्म सरकारले सधै चलचित्र उद्योगलाई उपेक्षा नै गरिरहने पनि उनले बताए।

बजेटमा उपेक्षा भए लगतै मन्त्रालय पुगेर मन्त्री रेखा शर्मासँग बुझ्दा मन्त्रालयबाट बजेट अर्थ मन्त्रालयमा पठाउँदा त्यहि काटिएको र संशोधनको लागि प्रयास भइरहेको पनि केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .