चालू आर्थिक वर्षको अत्यसम्ममा समेत सबै स्थानीय तहमा वाणिज्य बैंक नपुग्ने भएका छन्। कुल ७ सय ५३ मध्ये २८ स्थानीय तह अझै बैंकको शाखाबिहीन छन्। नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा पुर्याउने नीति कार्यान्वयन गर्न नेतृत्व गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हालसम्म ७ सय २५ स्थानीय तहमा बैंकको शाखा पुगेको छ। सरकारले सबै नागरिकको बैंक खाता खोल्ने कार्यक्रम समेत सञ्चालन गरिरहेको खण्डमा बैंकहरुले विकटका स्थानीय तहमा शाखा विस्तार गरेका छैनन्।
बैंक शाखा सञ्चालन गर्न नसक्नुको पछाडि बैंक मात्रै कारक नरहेको बैंकहरुको भनाइ छ। हिमालयन बैंकका सीइओ अशोक राणाले भने, ‘मनाङ मुस्तांगका केही गाउँपालिकामा बैंकको शाखा खोल्ने रणनीतिका साथ त्यहा पुग्यौँ। सो स्थानमा बैंकको शाखा राख्ने खालको घर नै पाइँदैन।’
त्यस्तै सो स्थानमा अन्य भौतिक पूर्वाधारहरु पनि अत्यन्त कमजोर रहेको छ। त्यसकारणले सरकारले तोकेको समयभन्दा केही ढिलो हुन गएको छ। बैंकहरुले नचाहेरभन्दा पनि सो स्थानको भौतिक पूर्वाधारको अवस्थाका कारण ढिलो भएको उनी बताउँछन्।
नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बैंकको शाखा सबै स्थानमा पुग्न नसक्नुको पछाडि कारक तत्व स्थानीय तहको विवादलाई मान्छन्। उनी भन्छन्, ‘स्थानीय तहमा बैंकको शाखा नपुग्नमा केही स्थानीय तहमा अझै पनि स्थायी रुपले त्यसको केन्द्र कहाँ हुने भन्ने टुङ्गो छैन। अहिले रहेको केन्द्र सार्नुपर्ने माग भइरहेको छ। त्यसको दोधारले पनि बैंकहरुले शाखा सञ्चालन गर्ने निर्णय गरिसकेका छैनन्।’
हालसम्म शाखा सञ्चालन हुन नसकेको धेरैजसो स्थानीय तहमा यस्तो खालको विवाद देखा परेको उनी बताउँछन्।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार प्रदेश नं १ का कुल १ सय ३७ स्थानीय तहमध्ये १ सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्।
उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छ। प्रदेश नं २ का कुल १ सय ३६ स्थानीय तहमध्ये कुल १ सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। सो प्रदेशका दुई स्थानीय तहमा बैंकको शाखा पुर्याउने योजना केन्द्रीय बैंकको छ।
प्रदेश नं. ३ का कुल १ सय १९ स्थानीय तहमध्ये १ सय १७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। गण्डकी प्रदेशका कुल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन्। मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन्।
प्रदेश नं ५ को भने कुल १ सय ९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन्। सबै स्थानीय तहमा बैंकको शाखा पुर्याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रुपमा प्रदेश नं ५ स्थापित भएको छ। आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी छ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन्।
सुदूरपश्चिमका कुल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। सात स्थानीय तहमा बैंक पुग्न बाँकी छ।
हालसम्म देशभर वाणिज्य बैंकका ३ हजार ३ सय ९ वटा शाखा रहेका छन्। यस्तै विकास बैंक एक हजार २ सय २४, वित्त कम्पनी २ सय ३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४ सय ६९ शाखा सञ्चालनमा रहेका छन्। सबैं बैंक तथा वित्तीय संस्थाका गरी कुल आठ हजार २ सय ५ शाखा सञ्चालनमा छन्।
हालसम्मको शाखा सञ्चालन पछिल्लो समयमा राम्रो रहेको नेपाल राष्ट्र बैंकको तर्क छ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भन्छन्, ‘कुनै पनि बैंकले राष्ट्र बैंकले तोकेको क्षेत्रमा शाखा विस्तार गर्न नसकिने बताएका छैनन्।’ भौतिक पूर्वाधार त्यहाँको विवादको करणले केही स्थानमा ढिलो हुन गएको उनको भनाइ छ। राष्ट्र बैंकले ताकेता गरिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया