कारोबार


आजैको रात जनार्दनमाथि उठेको थियो प्रश्न, प्रकाशशरणले लगाएका छन् चुकुल

आजैको रात जनार्दनमाथि उठेको थियो प्रश्न, प्रकाशशरणले लगाएका छन् चुकुल

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १५:१०, काठमाडौँ

चालु बजेट निर्माणका क्रममा अघिल्लो वर्ष जेठ १४ गते अर्थात् आजकै रात पूर्वअर्थमन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएको भन्दै प्रश्न उठेको थियो। 

बजेट निर्माणका क्रममा केही व्यापारिक घरानाको स्वार्थअनुसार करका दर हेरफेर गर्न सरकारसँग असम्बन्धित व्यक्तिहरुलाई प्रवेश गराएपछि शर्मा तीव्र विवादमा परेका थिए। 

शर्मामाथि बजेटलाई अन्तिम रुप दिने कार्यमा बाहिरी मान्छेलाई समावेश गरेको आरोप लगेको थियो। 

बजेटलाई अन्तिम रुप दिइने दिन आज आर्थत् जेठ १४ गते हो। भोलि बिहान मात्रै बजेट भाषण र आर्थिक विधेयक सिंहदरबारभित्रै छाप्ने गरिन्छ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयसँगकै छापाखानामा बजेट किताब छापिनन्छ। विनियोजन वियेयक र त्यससम्बन्धी रातो किताब भने अहिले छाप्ने काम भइरहेको छ।

बजेटमा मुख्य गरि ४ वटा विधेयक हुन्छन्। विनियोजन विधेयकमा बजेट कार्यक्रमहरु हुन्छन्।

आर्थिक विधयेकमा करका दरहरु समावेश हुन्छन्। त्यस्तैगरि राष्ट्र ऋण उठाउने विधयेक र ऋण तथा जमानत विधेयक समावेश हुन्छन्।

अन्तिमा मात्रै आर्थिक विधेयकको काम हुन्छ। करका दरहरु हेरफेर हुने यस विधयेकको काममा शर्माले बाहिरी मान्छे ल्याएको आरोप लागेको थियो।

तर त्यसको छानबिन गर्न संसदीय समिति नै बनेको थियो तर पुष्टि भएन। उक्त प्रकरणको सिसिटीभी फुटेज नै गायब बनाएको आरोप शर्मामाथि लागेको थियो।

कयौँ खोजबिनपछि सिसिटीभी फुटेज फेला परे पनि बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश गराएको भनिएको जेठ १४ गते साँझको दृश्य नै नभेटिएको अर्थमन्त्रालयले जानाकारी दिएको थियो। 

अनधिकृत व्यक्तिका रुपमा शर्माले तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेलाई करका दर हेरफेर गर्न मन्त्रालयमा छिराएको आरोप लागेको थियो। 

शर्माले तत्कालीन अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर तथा अन्य दुई सहसचिवसँग बाहिरिया दुईजना मान्छे राखेर बजेट बनाएका खुलेको थियो।

तिनलाई ‘सीए साप’का रूपमा चिनाएका उनले तिनकै सुझावका आधारमा बजेटका कर हेरफेर अघि बढाउन भनेको त्यसबेला उल्लेख गरिएको थियो। त्यस्तै अर्का बाहिरी व्यक्ति भन्सारबाट अवकाश पाइसकेका नायब सुब्बा रघुनाथ घिमिरे थिए।

भन्सार विभाग काठमाडौंका उनै पूर्व नायव सुब्बा घिमिरेविरुद्ध गत चैत १९ गते अख्तियार दुरुपयोग अुनसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइसकेको छ। 

आयोगले घिमिरेमाथि २ करोड १४ लाख ४६ हजार बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

अवकाश पाइसकेका घिमिरेले सेवामा रहेको २५ वर्षको अवधिमा आर्जन गरेको सम्पत्ति र खर्च गरेको सम्पत्तिमा २ करोडभन्दा बढीको स्रोत नखुलेको अख्तियारले जनाएको थियो।

तर यो वर्ष प्रकाशशरण महतले अर्थमन्त्रालय प्रवेशमा कडाई गरेका छन्। अर्थमन्त्रलय स्रोतका अनुसार मन्त्रालयका कर्मचारीबाहेक अरुलाई प्रवेशमा रोकिएको छ।

मन्त्रालयमा खटिएका एक कर्मचारी भन्छन्, ‘कसैलाईपनि पस्न नदिनु भन्ने छ। चाहे नेता वा अन्य कर्मचारीनै किन नहोस् अर्थमन्त्रालयकै कर्मचारी भए मात्रै भित्र प्रवेश गराउनु भन्ने छ।’

भोलि सोमबार संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। संवैधानिक व्यवस्था अनुसार संघीय सरकारको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने प्रावाधान छ।

यसभन्दा अघि असार मसान्तमा बजेट सार्वजनिक गर्ने चलन थियो। तर साउन १ देखि आर्थिक वर्ष सुरु भएर तयारी गर्ने समय नहुने भएकाले डेढ महिनाअघि नै सार्वजनिक गर्ने गरि संवैधानिक व्यवस्था गरिएको थियो। 

आगामी आर्थिक वर्षको बजेट भए पनि भन्सार दरहरु जेठ १६ गतेदेखि नै लागु हुने छ। बजेट भाषण हुने दिन भन्सारहरु बन्द हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .