कारोबार


नारायणगढ–बुटवल सडक : गतवर्ष नै सक्नुपर्ने कामको प्रगति ३१ प्रतिशत मात्रै

नारायणगढ–बुटवल सडक : गतवर्ष नै सक्नुपर्ने कामको प्रगति ३१ प्रतिशत मात्रै

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १७:५२, काठमाडौँ

सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन।

सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो। वर्षात्का बेला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो। ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झन्डै ३१ प्रतिशत रहेको छ।

अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ। झन्डै साढे पाँच किमी सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इन्जिनियर शिवु खत्रीले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म जम्मा दुई सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको छ। एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहोर्याएर चार सेन्टिमिटर गरेपछि कालोपत्र पूरा हुन्छ। उनले भने, ‘अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ।’

केही महिनायता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पश्चिम खण्डको प्रगति एक दशमलव ९६ प्रतिशत रहेको इन्जिनियर खत्रीले बताए। अहिले पनि लक्ष्यभन्दा ६०–७० प्रतिशतमात्रै काम भइरहेको छ। उनले भने, ‘अझै पनि कामको गति बढाउनुपर्ने भएकाले आयोजनाले चिठीमार्फत गति बढाउन भनिराखिएको छ।’

विगत वर्षहरूमा निर्माणस्थल खाली गराउन धेरै बाधा रहेकामा अहिले त्यो हट्दै गइरहेको आयोजनाले जनाएको छ। बाँधका लागि ठूलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको उनले बताए।

बुटवल–नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ। सो खण्डमा भौतिक प्रगति ३२ प्रतिशत रहेको छ। निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता इन्जिनियर धिरज ढकालले बताए। उनले भने, ‘कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्र, साना पुल निर्माण र ठूला पुलको जगको काम भइरहेको छ।’

तीन महिनायता निर्माणको गति बढेको र कालोपत्र भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ। काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिदैन। निर्माण कम्पनी आफैँले लिएको लक्ष्यअनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनुपर्ने देखिएको उनले बताए।

पछिल्लोपटक थपिएको अवधि आगामी साउनमा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ। अझै पनि महिनामा चार–पाँच प्रतिशत प्रगति निकाल्दै जाँदा समयमै नसकिए पनि केही समय थप्दा सकिने इन्जिनियर ढकालको भनाइ थियो।  वर्षासम्म काम ज्यादै कम भएकामा अहिले बढेर मासिक तीन प्रतिशत हाराहारीमा प्रगति भइरहेको छ।

निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने पाँच–सातसम्म कामदार कार्यरत छन्। त्यति हुँदाहुँदै अझै आशा गरिएअनुसार निर्माण अघि बढ्न नसकेको उनले बताए। निर्माणस्थलमा अझै विद्युत्को पोल सार्न बाँकी छ। निर्माणस्थल खाली गराउन गर्नुपर्ने प्रक्रियागत काम सकिएर निर्माण कम्पनीले सार्ने काम गरिरहेको छ।

आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैँले गर्नुपर्ने काम बढी बाँकी रहेको छ। इन्जिनियर ढकालले भने, ‘सामान्य कामको सिलसिलामा आएको समस्या समन्वय भइरहेको हुन्छ। आयोजनाले निर्णय नै गर्नुपर्ने चाहिँ भएको छैन।’

दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या थियो। गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने आयोजनाको ठम्याइ थियो।
 
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ। सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ। विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारका लागि तयारी भइरहेको छ।

विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो। एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो। गत वर्ष अवधि सकिएपछि एक वर्षका लागि थपिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad