ad ad

कारोबार


यात्रु सुरक्षा बेवास्ता गर्दै व्यवसायी, रूट अनुमतिमा झुक्याएर झापा पुग्छन् माइक्राेबस

यात्रु सुरक्षा बेवास्ता गर्दै व्यवसायी, रूट अनुमतिमा झुक्याएर झापा पुग्छन् माइक्राेबस

बसन्त अर्याल
पुस २३, २०७६ बुधबार १२:११,

कुनै पनि सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न रुट अनुमति आवश्यक पर्छ। कस्तो गाडी कति लामो दूरीमा जान पाउँछ भन्ने कानुनले नै तोकेको हुन्छ।

तर माइक्रोबस व्यवसायीहरु भने रुट परमिटविना नै अनुमति नपाएका स्थानमा समेत गाडी गुडाइरहेका छन्। सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को विपरीत व्यवसायीहरुले माइक्रोबस गुडाइरहेको फेला परेको हो।

कमाउने धन्दामा व्यवसायीले रुट अनुमति मिच्दा माइक्रोबसमा यात्रा गर्नेको जीवन जोखिममा पारेका छन्।

सवारी तथा यातायात व्यवस्था नियमावलीको पहिलो संशोधन २०६१ ले माइक्रोबसले बढीमा ३ सय किमि लामो दूरीसम्म मात्रै रुट इजाजतपत्र पाउने उल्लेख गरेको छ।

तर माइक्रोबस व्यवसायीले काठमाडौंदेखि झापा तथा इलामसम्म नै माइक्रोबसहरु गुडाउने गरेका छन्। यात्रु टिकट काट्न जाँदा उनीहरुले सजिलै दिन्छन्। काठमाडौंदेखि दाङको घोराहीसम्म उनीहरुले खुलमखुल्ला टिकट बिक्री गरिरहेका छन्। जुन कानुनविपरीत छ।

यस्ताे छ कानुनी व्यवस्था
ticket 2

तर ३ सय किमिकाे अनुमति मिचेर ४३९ किमिसम्म पुग्छन् माइक्राेबस
ticket 2

काठमाडौंदेखि झापाको बिर्तामोडसम्म बीपी हाईवेको रुटबाट दूरी ४ सय ३९ किलोमिटर रहेको छ। जहाँ माइक्रो व्यवसायीले १४ सय भाडा लिने गरेका छन्। त्यस्तै काठमाडौंदेखि घोराहीसम्मको दूरी पनि ४ सय १५ किलोमिटर रहेको छ।

निर्देशक नै स्वीकार्छन् : व्यवसायीले कानुन मिचे
यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले माइक्रोबस व्यवसायीले कानुनविपरीत गाडी गुडाएको स्वीकार गरे। व्यवसायीहरुले कानुनी छिद्र प्रयोग गरी गाडी चलाएको उनी स्वयं बताउँछन्।

‘३ सय किमिभन्दा बढी चलाउन नपाउने कानुनी व्यवस्था भए पनि व्यवसायीले काठमाडौंदेखि लहानको एउटा रुट परमिट ल्याएका हुन्छन्। लहानबाट झापासम्मको अर्को रुट परमिट ल्याएर गुडाउने गरेका छन्’, उनले नेपालखबरसँग भने ।

यातायात व्यवसायीले रुटको इजाजत यातायात कार्यलयमार्फत लिने गरेका छन्। यातायात कार्यालय प्रदेश माताहतमा छन्। व्यवसायीहरुले एउटै गाडीको रुट परमिट दुईभन्दा बढी प्रदेशबाट लिन्छन्। प्रदेशहरुबीच समन्वय नहुँदा व्यवसायीले कानुनी छिद्रको प्रयोग गर्दै कानुनविपरीत गाडी गुडाइरहेका छन्।

विभागका निर्देशक खनाल भन्छन्, ‘हामीले प्रदेशहरुसँग तथ्याङ्क मागिरहेका छौं तर प्रदेशले हामी स्वतन्त्र छौं, विभागअन्तर्गत होइनौं भन्ने जवाफ दिने गरेका छौं। हामी केही गर्न सक्दैनौं।’

उनले साना गाडीलाई लामोदूरीमा राख्दा दुईवटा ड्राइभर पनि चाहिने र साना गाडी लामो दूरीको लागि सुरक्षित नहुँने हुँदा नियमावलीमा ३ सय किमिसम्म कुदाउन पाउने व्यवस्था राखिएको बताए।

रूट अनुमतिविना चलाए कारबाही गर्छाैँ : ट्राफिक प्रहरी
तर यसको अनुगमनको काम ट्राफिक प्रहरीको भएको उनी बताउँछन्। इटहरीस्थित प्रदेश १ का ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले यातयात कार्यालयले दिएको रुट परमिटबाहेकमा कुनै पनि गाडी गुडाए कारबाही गर्ने गरेको दाबी गरे।

‘व्यवसायीहरुले कसरी काठमाडौं–झापा चलाउँछन् थाहा भएन। हामीले चेक गर्दा रुट परमिटको इजाजतपत्र देखाउँछन्। त्यसमा हामीले कारबाही गर्ने कुरा आएन’, उनले नेपालखबरसँग भने।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने माइक्रोबस व्यवसायी र यातायात विभागको मिलेमतोमा गैरकानुनी काम भएको दाबी गर्छन्। ‘देश कानुनी राज्यमा चलेको भए यस्तो अव्यवस्थित हुने थिएन । सबै मिलीखाऊँ भन्दा देशमा अराजकता फैलिएको छ’, उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .