कारोबार


प्रधानमन्त्री प्रचण्डले भने- अप्ठ्यारा नीतिनियम सच्याएर चिनियाँ लगानी भित्र्याउँछौँ

‘एकल विन्दु सेवाबाट विदेशी लगानीकर्ताको समस्या समाधान गर्दै छौँ’
प्रधानमन्त्री प्रचण्डले भने- अप्ठ्यारा नीतिनियम सच्याएर चिनियाँ लगानी भित्र्याउँछौँ

तस्बिर : प्रधानमन्त्रीको फेसबुक पेज


नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १२:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन्। 

मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुुरु गर्ने विषयमा कानुन बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन्। 

प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे।

उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गरे। उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए। 

प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अप्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे। उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे। 

‘नेपाल एक चीन नीतिमा स्पष्ट’
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका बिरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे। 

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। 

उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए। उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे।

दुईपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए। उनले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि बताए। उनले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्नेसोच बनाएको बताए। 

कार्यक्रममा नेपालका लागि चीनका राजदुत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

राजदूत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गरे। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल सुरु भएको हो। करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो।

बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad