कारोबार


रक्षामन्त्री पाेख्रेलले गृह, उद्योग र कृषिमन्त्रीसँग उखु किसानबारे छलफल गर्दै

रक्षामन्त्री पाेख्रेलले गृह, उद्योग र कृषिमन्त्रीसँग उखु किसानबारे छलफल गर्दै

नेपालखबर
पुस १५, २०७६ मंगलबार ११:१३,

उखु किसानको बक्यौताबारे छलफल गर्न आज साँझ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले गृह, उद्योग र कृषिमन्त्रीलाई आफ्नो मन्त्री निवासमा बोलाएका छन्।

मन्त्री पोख्रेलको सचिवालय स्रोतका अनुसार पोख्रेलले साँझ ७ बजे तीन जना मन्त्रीहरू गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल र उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग छलफल गर्नलागेका हुन्। उखु किसानलाई तीन वर्षसम्म पैसा नदिएको भन्दै तराईका उखु किसान राजधानीमै आएर आन्दोलनरत छन्।

गृह मन्त्रालयले आज मात्रै किसानको बक्यौता नदिने इन्दिरा सुगर एन्ड एग्रो र अन्नपूर्ण सुगर एन्ड जनरलका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

आइतबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहलाई अग्रवाललाई उपस्थित गराइदिन पत्राचार गरेका थिए। अग्रवालले किसानको उखुको भुक्तानी रकम ३ वर्षदेखि दिएका छैनन्। इन्दिरा सुगर मिलतर्फको ४० करोड रकम उनले किसानलाई नदिएका हुन्।

त्यस्तै इन्दिरा सुगर मिलतर्फको १० करोड रुपैयाँ किसानहरुले पाएका छैनन्। विगत वर्षहरुमा किसानलाई सरकारले दिने अनुदान समेत उनले आजसम्म दिएका छैनन्। सरकारले किसानलाई दिने अनुदान उद्योगीमार्फत दिने प्रचलन गत वर्षसम्म थियो। गत वर्षदेखि सरकारी निकायमार्फत नै किसानलाई सिधै अनुदान दिने नीति लिइएको छ।

अग्रवालले सरकारले किसानलाई दिएको करिब दुई वर्षको अनुदान अझै दिएका छैनन्। अन्नपूर्ण र इन्दिराको बाहेक चिनी मिलहरु श्रीराम सुगर मिलको ४२ करोड, लुम्बिनी सुगर मिलको १० करोड, महालक्ष्मी सुगर मिलको २० करोड, वाग्मती सुगर मिलको ११ करोड बक्यौता अझै बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .