ad ad

कारोबार


विज्ञ भन्छन् : आईकाओका मापदण्ड पूर्ण पालना नहुँदा हवाइ दुर्घटना बढ्यो

विज्ञ भन्छन् : आईकाओका मापदण्ड पूर्ण पालना नहुँदा हवाइ दुर्घटना बढ्यो

नेपालखबर
माघ १३, २०७९ शुक्रबार १५:४७, काठमाडौँ

विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाइ दुर्घटनामा वृद्धि हुन गएको औँल्याएका छन्।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाइ विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिए।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाइ सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनीकरण हुँदै जाने बताए। उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाइ सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए। 

पहाडीले भने, ‘जुन आईकाओले गरेको गाईडलाइन्सहरु छ। युरोपियन युनियनले निर्दिष्ट गरेका गाइडलाइन्सहरु छ। त्यसको हामीले अक्षरश पालना गरियो कि गरिएन त? सम्बन्धित निकायले दिएको निर्देशन अनुसार भयो कि भएन? त्यो इम्पोटेन्ट हो। त्यसको अनुगमन कडाइका साथ हुनुपर्दछ। दक्ष म्यानपावरहरु हायर गरेर काम गर्नु पर्यो। यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाइ उडानमा हुने दूर्घटना कम हुँदै जान्छ। दक्ष जनशक्तिको व्यवस्था गर्नु पर्यो। बाहिरबाट भएपनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन।’

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाइ सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए। उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। 

पूर्वमहानिर्देशक गौतमले भने, ‘सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ। जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस्। मोर क्यापेबल होस्। जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो।’

नेपालको हवाइ सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले औंल्याए। उनले हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावको आधारमा अघि बढ्दा पनि नेपालमा हवाइ दूर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पारे। 

देउजाले भने, ‘हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावहरुलाई ध्यान दिएर लागू गर्नु पर्दछ। यी संस्थाहरुलाई व्यवसायिक ढंगले संचालन गर्नु पर्दछ। यहाँ राजनीतिक तथा प्रशासनिक हस्तक्षेप भन्दा पनि यसलाई व्यवसायिक ढंगले अघि बढाउन सक्नु पर्दछ। यसो भयो भने नेपालको हवाई उडान सुरक्षित छ। र, हुन्छ पनि।’

पूर्वमहानिर्देशक देउजाले नेपालको हवाइ सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकायहरु बढी जिम्मेवार हुनुपर्ने पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .