ad ad

कारोबार


मदन भण्डारी राजमार्ग : विवादका बीच अघि बढ्यो पूर्वी रुटको काम

राजनीतिक स्वार्थका कारण एकाएक रुट बदलिएको स्थानीयको आरोप
मदन भण्डारी राजमार्ग : विवादका बीच अघि बढ्यो पूर्वी रुटको काम

ध्रुव भट्टराई
माघ ७, २०७९ शनिबार १६:४८, विराटनगर

सरकारले महत्वांकाक्षी योजनाका रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुस्त गतिमा अघि बढेको छ। अबको ३ वर्षभित्र बनिसक्नुपर्ने सडकको भौतिक प्रगति अहिलेसम्म ४० प्रतिशत मात्र छ। 

चुरे क्षेत्रका नागरिकलाई सहज यातायातको पहुँचमा जोड्ने योजनासहित ५ वर्षअघि पूर्व रुटअन्तर्गत सुनसरीको धरानदेखि पूर्व मेचीसम्म १ सय २० किमि सडकखण्डको योजना अघि बढाइएको थियो। तर पूर्वी रुट सर्भेका क्रममा विवाद भएपछि लामो समयसम्म सडक निर्माण अघि बढ्न सकेको थिएन।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले इलाम, झापा, मोरङ र सुनसरीमा पुरानै सर्भेअनुसार निर्माण अघि बढाएको थियो। आयोजनाले पूर्व धरानबाट झापासम्म चुरे सडक बनाइरहेको छ।

फिल्ड सर्भे सकिएसँगै यी स्थानमा अहिले पुल निर्माण र सडक विस्तारको काम अघि बढेको मदन भण्डारी राजमार्ग आयोजनाले जनाएको छ।

कार्यालयका अनुसार अहिलेसम्म सडक निर्माणको प्रगति ४० प्रतिशत मात्र भएको छ। आयोजनाका अनुसार सडक निर्माणको काम २०८१/०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ।

इन्जिनियर सूर्यनारायण मण्डलका अनुसार २०७६/०७७ मा पहिलो चरणमा ९३ करोडमा ठेक्का लागेर सडक निर्माण अघि बढेको बताए। उक्त खण्डमा २४ दशमलव ८ किलोमिटर सडक पर्छ।

साढे चार किलोमिटर वन क्षेत्र रहेकाले रुख काट्न हाल टाँचा लगाउने काम भइरहेको छ। त्यसैगरी दोस्रो चरणको सडक निर्माणका लागि १ अर्ब २९ करोडमा ठेक्का लागेको छ, जसको लम्बाइ २८ दशमलव २ किलोमिटर छ।

तेस्रो चरणमा शान्तिनगरदेखि पूर्वी खण्डको अन्तिम बिन्दु मेची डाँगी चोकसम्मको कूल १० किलोमिटर सडक बनाउन ३७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको छ। अहिले ६३ किलो मिटर मात्र सडक ठेक्का लागेर निर्माण भइरहेको  छ। 

सुनसरी, मोरङ, झापा र इलाम तीनै खण्डमा राजमार्ग विस्तारका लागि काम अघि बढे अझै पनि धेरैजसो स्थानमा स्थानीयको अवरोध, वनलगायतका कारण सडक विस्तार अलपत्र परेको छ।

झापाबाट इलाम जोड्दै पुनः झापामै आउने राजमार्गका धेरै स्थानमा वन क्षेत्र पर्छ। पूर्वी रुटमा १५ किलोमिटर वन क्षेत्र छिचोल्दै सडक निर्माण गर्नुपर्नेछ।

सुनसरी र मोरङमा स्थानीयको विरोधका बीच सडक निर्माणको काम अघि बढेको इन्जिनियर मण्डलले बताए।

‘सडक निर्माणका क्रममा सीमा निर्धारण, जग्गा अधिग्रहणका समस्या अहिले पनि कायम छ’, इन्जिनियर मण्डलले भने, ‘जसका कारण सडक विस्तारको लक्ष्य भेट्टाउन हामीलाई कठिन भइरहेको छ।’

उनले कतिपय स्थानमा अहिलेसम्म सडकको सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन नसकेको, सडक सीमाको जग्गाको भूस्वामित्व जनताकै नाममा रहेको हुँदा सीमा विवाद सुल्झाउन समस्या रहेको बताए। त्यसैगरी सडक क्षेत्रभित्र पर्ने रुख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदासमेत सडक निर्माण ढिलो भइरहेको उनको भनाइ छ।

पहिलो चरणमा ३१ पुलमध्ये १३ वटा बनाइँदै  
दुई वर्षअघि सडक विस्तार सुरु भएसँगै पूर्वी रुटमा पर्ने सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका खोलामा पुल निर्माणको काम पनि अघि बढाइएको छ। सो रुटमा साना–ठूला गरी ३१ वटा पुल निर्माण भइरहेको आयोजनाले जनाएको छ।

मदन भण्डारी सडक निर्माणका लागि पूर्वी रुटमा पर्ने खोलामा बन्ने पुलहरूको डिजाइन स्वीकृत नभई ३१ वटा पुल ०७७ फागुन १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक शिलान्यास गरेका थिए।

तीमध्ये डिजाइन तयारी भई स्वीकृत भएका १३ वटा पुल निर्माण भइरहेको छ। ठेक्का लागेका धेरै पुल निर्माण अहिलेसम्म सकिएको छैन।

मोरङका लेटाङ–केराबारी जोड्ने चिसाङ खोला, मधुमल्ला–दमक जोड्ने मावा खोलाको पुल बनिसके पनि अन्य पुल निर्माणाधीन अवस्थामा छन्। सुनसरी, मोरङ, झापा र इलाम क्षेत्रमा पर्ने खोलामा धमाधम पुल निर्माण हुने चरणमा रहेको आयोजनाले जनाएको छ।

पूर्वको प्रस्थान बिन्दु मेचीनगरबाट सुनसरीको धरानस्थित सदु खोलासम्म १ सय ३० किलोमिटरमध्ये ७३ किलोमिटर सडक चुरे पहाड हुँदै निर्माण भइरहेको छ।

सो खण्डमा पर्ने खोलामा ३१ वटा पुल बन्दा बर्खाका बेला समस्यामा पर्ने स्थानीयलाई पनि आवतजावत गर्न सहज हुने विश्वास लिइएको थियो।

नेताको प्रभावमा सडक निर्माण
मदन भण्डारी राजमार्गको पूर्वी रुट झापाको मेची डाँगीदेखि सुनसरीको धरानसम्म अधिकांश खण्डमा नयाँ ट्रयाक खन्नुपर्ने छैन।

साबिकको सडकलाई नै रुट तोकिएकाले स्तरोन्नति गरेर काम गर्दा पुग्ने अवस्था छ।

यसअघि नै बनिसकेका स्थानीय सडकखण्डलाई नै राजमार्ग बनाउने गरी तत्कालीन समयमा प्रस्तावित रुट सार्वजनिक गरिएको थियो। तर मोरङ, झापा र इलामका प्रस्तावित रुटमा पर्ने साबिकका गाउँहरू छल्दै राजमार्गको रुट एकाएक परिवर्तन गरिएपछि मतभेद भइरहेको छ।

राजमार्ग क्षेत्रमा साबिकका रुट राजनीतिक स्वार्थका कारण एकाएक बदलिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको थियो, अहिले पनि कतिपय स्थानमा त्यो समस्या हल भएको छैन।

यो राजमार्गको सबैभन्दा बढी विवाद मोरङको लेटाङको जाँते–मधुमल्ला खण्डमा छ। विवाद अहिले पनि स्थायी रूपमा हल भइसकेको छैन। तर सो क्षेत्रमा राजमार्ग निर्माण अघि बढेको छ।

सुरुमा मदन भण्डारी राजमार्ग लेटाङको माथिल्लो भेगबाट गुवाबारी, जाँते बजार, खोलिटार, टाँडीको धोबिनी र मधुमल्लाको तोरीबारी हुँदै झापाको बेलडाँगीतर्फ लैजान खोजिएको थियो। यही रुट प्रयोग गर्नेगरी सर्भे भएको थियो। तर, पछि रुट बदलेर दक्षिण लेटाङ, जाँतेको मदन चोक र कत्लेको मिक्खुखोला हुँदै मधुमल्लाको पुछारमा लगेर राजमार्ग जोडिएको छ। 

यसरी रुट फेरेर घुमाउरो बनाउनुको मुख्य उद्देश्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बन्न लागेको भ्यु टावरलाई छुवाउने योजना नै मुख्य रहेको स्थानीयको दाबी छ। 

मोरङको केराबारीबाट मदन भण्डारी राजमार्ग सिधै बेलडाँगीतिर सोझ्याउनुपर्नेमा दमकतर्फ लगिएको छ। हाल सोही रुटअनुसार काम भइरहेको छ। जुन निर्माणाधीन सडकको रुट चुरे क्षेत्रभित्र पर्दैन।

यो राजमार्ग निर्माण पनि राजनीतिक स्वार्थका कारण चुरे क्षेत्रका जनतालाई सडकको पहुँचमा पुर्‍याउने मुख्य धेयविपरीत रहेको स्थानीयको आरोप छ।

दमकवासी टंक कटुवालका अनुसार पूर्वी रुट सर्भेका क्रममा विवाद उब्जिएपछि चार वर्षयता सडक निर्माण अघि बढ्न सकेको थिएन। अहिले प्रस्तावित रुटमा पर्ने साबिकका गाउँ छल्दै राजमार्ग निर्माण अघि बढाइएको हो। 

मोरङ लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाका अनुसार प्रस्तावित रुट परिवर्तन गरी दक्षिण लेटाङ, जाँतेको मदन चोक र कत्लेको मिक्खुखोला हुँदै मधुमल्लाको पुछारमा लगेर जोड्ने गरी नै ठेक्का लगाएर राजमार्ग निर्माण अघि बढाइएको छ। माथिल्ला भेगका बासिन्दाले भने रुट परिवर्तन गरिएकामा विरोध जनाइरहेका छन्। 

उपमेयर निरौलाले सुनसरी र मोरङमा माथिल्लो भेगमा स्थानीयले विरोध गरे पनि राजनीतिक दबाब रहेको भन्दै सडक विभागले पूर्व–पश्चिम राजमार्गकै नजिकबाट मदन भण्डारी राजमार्ग बनाउन काम सुरु गरेको छ।

दमकको मुख्य बजार क्षेत्र भएर बनेको पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरतर्फ तत्कालीन प्रधानमन्त्री ओलीको अग्रसरतामा आफ्नो निर्वाचन क्षेत्रमा बनिरहेको ‘भ्यु टावर’भन्दा करिब २ किलोमिटर आसपास पर्नेगरी मदन भण्डारी राजमार्गका लागि पुलहरूको शिलान्यास भएको थियो।

त्यसैगरी केराबारीबाट मदन भण्डारी राजमार्गलाई सिधै झापाको बेलडाँगीतिर सोझ्याउनुपर्नेमा दमकतर्फ लगिएको छ।

दमक हुँदै शिव सतासी नगरपालिकाको दोमुखा पुगेर पुनः उत्तरतर्फ मोडिएर चुरे छिचोल्दै पूर्वसभामुख सुवास नेम्वाङको निर्वाचन क्षेत्र माई नगरपालिका जोडिएको छ।

सुनसरीमा प्रस्तावित मदन भण्डारी राजमार्ग धरानको मुख्य बजार क्षेत्र हुँदै जानेछ।

रेखांकनअनुसार १४० फिट चौडा प्रस्तावित राजमार्गले धरानका वडा नं ८, १०, १७, १८ र १९ लाई छुनेछ। यही कारण यी वडावासीले २०७२ चैतदेखि जग्गा किनबेच गर्न, घर बनाउन, बैंकिङ कारोबार गर्न रोक लगाएको छ।

धरान उपमहानगरपालिकाले यी वडाहरूको सडक मापदण्ड साबिककै ७२ फिट कायम गर्ने निर्णय गरेको छ।

चार जिल्ला जोड्ने मदन भण्डारी राजमार्गमा पर्ने झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, दाङ, अर्घाखाँची, सुर्खेतलगायत जिल्ला जोडिने छन्।

२०७३ सालमा धरान-चतरा हुँदै हेटौँडा जोड्नेगरी सुरु आयोजना २०७५ मा मन्त्रिपरिषद्‌को बैठकबाट मदन भण्डारी राजमार्गमा जोडिएको थियो।

सरकारले २०७५ जेठमा १० टुक्रे सडक जोडेर नयाँ राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग घोषणा गरेको थियो।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा पूर्वको झापादेखि मदन भण्डारी राजमार्गअन्तर्गतकै धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौँडा ३ सय १८ किलोमिटर सडक खण्ड निर्माण  २०६४/०६५ मै सुरु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .