नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ।
विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ। नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने छ। जुन अघिल्लो अनुमानभन्दा एक दशमलव तीन प्रतिशत विन्दुले न्यून हो। विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर तीन प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो। सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने प्रक्षेपण छ।
विश्व बैंकको प्रक्षेपणअनुसार भारतमा सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा छ दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर रहने छ। त्यस्तै, पाकिस्तानमा सन् २०२३ मा दुई प्रतिशत र सन् २०२४ मा तीन दशमलव दुई प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ। त्यस्तै, बङ्गलादेशमा सन् २०२३ मा पाँच दशमलव दुई र सन् २०२४ मा छ दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ।
Shares

प्रतिक्रिया