ad ad

कारोबार


आईएमई ग्रुपले सिटी होटलको रुपमा अघि बढायो ‘ले हिमालय’

आईएमई ग्रुपले सिटी होटलको रुपमा अघि बढायो ‘ले हिमालय’

होटल ले हिमालय (तस्बिर: सरोज बैजु)


दीपक भट्ट
मंसिर १५, २०७९ बिहिबार २१:३, काठमाडौँ

काठमाडौंको केन्द्र लाजिम्पाटमा रहेको ‘ले हिमालय’लाई आईएमई ग्रुपले सिटी होटलको रुपमा अघि बढाएको छ। व्यवसायी भीम रोक्कासँग ३० वर्षको लागि ‘ले हिमालय’ लिजमा लिएर आईएमई ग्रुप हस्पिटालिटीमा अघि बढेको हो।

आईएमई ग्रुपले योभन्दा अघि पोखरामा ‘द लेकसाइड रिट्रिट’ नामक होटल सञ्चालनमा ल्याइसकेको छ। 

लाजिम्पाटमा अवस्थित ‘ले हिमालय’ होटल भने एक महिनाअघि अर्थात् नोभेम्बर सुरुदेखि आईएमई ग्रुपले सञ्चालनमा ल्याएको हो। 

उक्त होटलको व्यवस्थापन बेस्ट रिसोर्ट नेपाल हस्पिटालिटीले गरेको छ। यसका सीईओ अभिषेकविक्रम शाह छन्, जो यसअघि आईएमई ग्रुपकै चन्द्रागिरि हिल्स रिसोर्टका सीईओ थिए। 

शाहका अनुसार काठमाडौंमा ‘ले हिमालय’ एक सिटी होटलको रुपमा अघि बढाइनेछ। फुल फेजमा आईएमई ग्रुपको स्पिरिटअनुसार यसलाई अघि बढाउने उनले बताए।

‘नेपाल पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना भएको गन्तव्य हो। जलविद्युतपछि दोस्रो सम्भावना नै यसमा छ,’ शाहले भने, ‘यस क्षेत्रमा आईएमई ग्रुपले अघि बढ्ने चाहना राख्नु स्वाभाविक हो। त्यसमाथि आईएमई ग्रुपको आफ्नै अवधारणाको चन्द्रागिरि रिसोर्ट पनि सफल भइसकेको छ।’

पर्यटकसँग जोडिने क्षेत्र भएकाले ग्रुपले होटल क्षेत्रलाई आत्मसात् गरेको उनको भनाइ छ। 

‘पर्यटकहरूको फ्लो जहाँ हुन्छ त्यहाँ नै अघि बढ्नुपर्यो’, शाहले थपे, ‘त्यसैले चन्द्रागिरि रिसोर्टपछि पोखरामा द लेकसाइड रिट्रिट र काठमाडौंमा होटल ले हिमालय अघि बढाएका हौँ।’ 

कोभिडपछि पर्यटकीय क्षेत्र ब्युँतिन थालेकाले होटल क्षेत्रलाई अघि बढाउने यो नै उपयुक्त समय भएको उनले बताए। 

आईएमई ग्रुपलाई केही पहिलेदेखि नै एउटा सिटी होटल चाहिएको थियो। त्यहीअनुसार ‘ले हिमालय’ लिइएको उनको भनाइ छ। 

‘यो लोकेसनको हिसाबले ठीक छ। लाजिम्पाट पर्यटकीय क्षेत्रमा केन्द्रमा नै पर्छ’, शाहले भने, ‘दरबारमार्ग, ठमेलबाट नजिकको ठाउँ पनि हो।’ 

सीईओ शाहका अनुसार होटलको संरचनामा पनि राम्रो छ। यहाँ पर्यटक मात्रै नभई कर्पोरेट छलफल, सभा गोष्ठी समेत गर्न सकिन्छ। 

आईएमई ग्रुपको यो होटल थ्री स्टार डिलक्स हो। यसमा सोहीअनुसार एनजीओ, आईएनजीओ र सरकारी क्षेत्रका कार्यक्रमलाई लक्षित गरिएको छ। 

होटलले पाँचतारे स्तरको सेवा दिने लक्ष्य राखिएको छ। यसमा ५६ रुम छन्। त्यसमा डिलक्स रुम, सुइट रुम र अपार्टमेन्ट समेत छ। अलि लामो समय बस्ने गरी आउनेलाई समेत यसमा सुविधा रहेको छ। 

१ सय ५० जना अट्ने कन्फरेन्स हल रहेको होटलमा अर्को ३० जना अट्ने सानो हल पनि छ। त्यस्तै १५/१६ जना अट्ने बोर्ड रुम समेत होटलमा छ। 

त्यसका अतिरिक्त होटलमा कफी शप र साना भेटघाटदेखि सभाहरु समेत गर्न सकिने ठाउँ छ।

सीईओ शाहले थपे, ‘बसोबासको कुरा गर्ने हो भने हामी सय/दुई सय जना राख्नसक्छौँ। सभा सम्मेलन गर्ने लोकेसन पनि चारैतिरको पायक पर्ने स्थानमा छ।’ 

आईएमई ग्रुपले यो होटल चलाउन थालेको १ महिना हाराहारी भयो। अब क्रमशः कर्मचारी थप गर्दै जाने र सोहीअनुसारको गुणस्तरीय सेवा दिने ग्रुपको योजना छ। 

‘ले हिमालय’ ले अहिले नेपाली, इण्डियन र चिनियाँ खानालाई प्राथमिकतामा राखेको छ। 

‘क्वालिटी फुड सहितको सेवा दिएर अघि बढ्ने छौँ,’ सीईओ शाहले भने। 

थप तस्बिरमा हेर्नुहोस् ‘ले हिमालय’:

सबै तस्बिर : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .