ad ad

कारोबार


तिलोत्तमाका थारु समुदायले खोले रुपन्देहीकै पहिलो ‘होमस्टे’

तिलोत्तमाका थारु समुदायले खोले रुपन्देहीकै पहिलो ‘होमस्टे’

प्रकाश न्यौपाने
पुस ५, २०७६ शनिबार १०:४६,

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा थारु होमस्टे सञ्चालनमा आएको छ। यो जिल्लाकै पहिलो होमस्टे हो।

तिलोत्तमा–१३, सेमरीमा गाउँ तिनाउ नदीको किनारमा नगरपालिकाको प्रवद्र्धनमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। थारु समुदायको कलासंस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालनलाई नगरपालिकाले प्रवद्र्धन गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए।

‘यहाँ थारु समुदायको बाहुल्यता छ। थारु कलासंस्कृति लोकप्रिय मानिन्छ। तर, यी प्रस्तुत गर्ने प्लेट फर्म थिएन। यसैले होमस्टेमार्फत् संरक्षणको थालनी गरेका हौं’, नगर प्रमुख घिमिरेले भने। तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे संचालनमा ल्याइएको सञ्चालक समिति अध्यक्ष हरिनारायण चौधरीले बताए। ‘आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गर्नेछौं र १४ घरमै होमस्टे संचालन गर्ने छौं’, उनले भने। होमस्टेमा थारु संस्कृतिका खानाको व्यवस्था छ।

होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले बताए। थारु समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकैं पुरानो मध्येको बस्ती हो। पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरुले समेत त्यहाँ सेल्टर लिएको त्यहाँका पाकापुस्ता बताउँछन्।

तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले थारु समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गरिन्। होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाइन्। तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए। नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा त्यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन्।

यहाँका थारु समुदायहरु अमलटारी होमस्टे संचालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरुलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो। सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन्। यसले पनि यी ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण होमस्टेमा हुने नगर उपप्रमुख चौधरीले बताइन्। ‘थारुहरु यहाँका रैथाने समुदाय हुन् । थारु समुदयामा धेरै कलाकौशल छन् । उनीहरुले विभिन्न परिकार बनाउँछन् । ती सबै होमस्टेमा उपलब्ध हुनेछन्’, उनले भनिन्।

होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमबीच तिलोत्तमा नगर प्रमुख घिमिरेले उद्घाटन गरेका हुन्। त्यस अवसरमा थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .