कारोबार


गभर्नर भन्छन्- नेपाल सम्पत्ति शुद्धीकरणमा कमजोर छ, सरकारले बेलैमा ध्यान देओस्

गभर्नर भन्छन्- नेपाल सम्पत्ति शुद्धीकरणमा कमजोर छ, सरकारले बेलैमा ध्यान देओस्

नेपालखबर
भदौ १५, २०७९ बुधबार १८:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले मुलुकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए। 

गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको समस्या क्षणिक नभएर दीर्घकालीन रुपमा सरकारले  निराकरण गर्नुपर्ने बताए। उनले सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए।

उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे।

गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुलुकहरुसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पत्ति शुद्धीकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए। उनले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाई गर्नेहरुको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पत्ति शुद्धिकरणमा कमजोर रहेको बताए।

गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताए। उनले यसले गर्दा अन्तर्राष्ट्रिय मूल्याङ्कनमा कम नम्बर आएपनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताए। 

गभर्नर अधिकारीले भने, ‘२०१० मा नेपाल सम्पत्ति शुद्धीकरणको रेड जोनमा पर्दा अमेरिकाको बैंकले युएनको बैंकको खाता बन्द गरिदियो। त्यो बेला बैंक खोजेर हिड्नुपर्यो। कमजोर मुलुकको बैंकमा खाता खोलेर नेपालले काम चलायो। त्यस्तो खालको स्थितिहरु आउँछ। अर्काे मुलुकसँग अन्तर्राष्ट्रिय सहकार्य र समन्वयन नराख्ने मुलुकहरुलाई नेटवर्क भन्दा बाहिर राख्छ। जसले गर्दा असजिलो हुन्छ। ठूला मुलुकको आफ्नो शक्ति होला आफ्नै खालको नेटवर्क बनाउँछन्। हामी जस्तो मुलुकलाई सम्भव हुँदैन। त्यसैले सम्पत्ति शुद्धीकरणको लागि नेपालले आफ्नो सबै तयारी पूरा गर्नुपर्छ।' 

गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए। उनले निजी क्षेत्रले बनाएको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताए। गभर्नर अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पत्ति शुद्धीकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताए।

उनले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताए। गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्बको बराबरको  क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताए। उनले कनेक्ट आईपीएस ,आईपीएस डिजिटल पेमेन्ट, वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए।

गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए।

उनले कात्तिकदेखि भदौ सम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताए। उनले क्युआर, मोबाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताए।

गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताए। उनले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम भने धेरै रहेको स्वीकार गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad