कारोबार


तनहुँको खानीगाउँका चार किसानले गरे एक करोड २० लाखको सुन्तला बिक्री

तनहुँको खानीगाउँका चार किसानले गरे  एक करोड २० लाखको सुन्तला बिक्री

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ९:५७,

तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन्।

खानीगाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले रु एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन्।

यस वर्ष शुकनारायणले रु ५० लाख, विश्वबहादुरले रु ४० लाख, निर्मलले रु १८ लाख र रामबहादुरले रु १२ लाखको सुन्तला बिक्री गरेका हुन्। चालीस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्थानीयवासी शुकनारायणले जानकारी दिए। श्रेष्ठले गत वर्ष रु ३१ लाख बराबरको सुन्तला बिक्री गरेका थिए।

अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गरेका हुन्। कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताए। ‘‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’, तिवारीले भने।

सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए। अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताए।

तनहुँमा कूल एक हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ।

जिल्लामा गत वर्ष रु २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ। यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad