ad ad

कारोबार


सेयरबजार घट्नुमा अर्थमन्त्री खतिवडा कति दोषी?

सेयरबजार घट्नुमा अर्थमन्त्री खतिवडा कति दोषी?

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १०:४७,

सेयर बजारमा परिसूचक नेप्से ११ सय अंक नजिक भएपछि पछिल्लो समय लगानीकर्ताले खरिदबिक्री घटाएका छन्। बुधबार भने नेप्से बढेको भए पनि तीन वर्षयताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित छ।

लगानीकर्ताले भने सरकारी नीतिलाई देखाउँदै अर्थमन्त्रीका कारण बजार घटेको बताउँदै आएका छन्। तर विश्लेषकहरु भने अर्थमन्त्रीका कारण भन्दा पनि पुँजी वृद्धि, तरलता र ब्याजदर नै सूचक घट्नुको मुख्य कारण भएको बताउँछन्।

२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्लो समय १ हजार १ सयको नजिक छ। यसरी हेर्दा नेप्से ४० प्रतिशत बढीले अर्थात ७ सय ५७ अंकले घटेको देखिन्छ । पछिल्लो तीन वर्षको अवधिमा बजार निरन्तर घटेको भने होइन। बजारमा यसरी गिरावट आउनुमा लगानीकर्ताले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरेका छन्। अर्थमन्त्री खतिवडाका विभिन्न अभिव्यक्ती र सरकारका नीतिहरु कै कारण सेयर किन्न नसकेको लगानीकर्ताहरुको भनाइ छ।

तर केही लगानीकर्ताले भने दीर्घकालसम्मका लागि लगानी गर्नेहो भने सरकारी नीतिले कुनै असर नपार्ने बताउँछन्। त्यसमा अर्थमन्त्रीलाई दोष दिनुभन्दा बैंकको ब्याजदर र कम्पनीको वित्तीय विवरणमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ। लगानीकर्ता जेबी थापा भने बजार ब्याजदरबाट प्रभावित हुने भएकाले बैंकको निक्षेपबाट भन्दा सेयर बजारबाट पाउने प्रतिफल बढी भए मात्र कारोबार बढाउन सकिने बताउँछन्।

सेयर विश्लेषक सन्तोसराज बजगाईं भने सेयरबजार अर्थमन्त्रीका अभिव्यक्तिबाट भन्दा पनि ब्याजदरबाट प्रभावित भएको बताउँछन्। उनले पछिल्लो तीन वर्ष बैंकको ब्याजदर १४ प्रतिशत सम्म पुगेकाले बजारमा शेयरको माग घटेको बताउनुहुन्छ । छोटो समयमा अर्थमन्त्री डा. खतिवडाका अभिव्यक्तिले असर गरेपनि बजार घटनुको मूख्य कारण बैंक तरलता र ब्याजदर नै भएको बजगाईं बताउँछन्।

बुधबारको सेयर बजार भने ब्याजदरमा स्थिरता आएको भन्ने हल्लाका कारण ८ दशमलव ७३ अंकले बढ्यो। कारोबार रकम पनि ३० करोड रुपैयाँभन्दा माथिको भएको छ। कतिपय लगानीकर्ताले भने बुधबारको वृद्धिलाई करेक्सन हुन सक्ने बताएका छन्। तर पनि केही बैंकहरुमा अझै पनि तरलताको समस्या कायम छ। यसले ब्याजदरलाई माथि पुर्‍याएको छ। ब्याजदरको उल्टो असर सेयर बजारमा पर्ने गरेको छ।

त्यसैले ब्याजदर बढ्दा नेप्से घट्नु स्वाभाविक हो। यसको असर दीर्घकालसम्म पर्ने विश्लेषक बजगाईं बताउँछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजी वृद्धिका कारण बैंकिङ प्रणालीमा देखिएको तरलताले ब्याजदर बढ्न गई नेप्सेमा गिरावट आए पनि नीतिगत व्यवस्थालाई देखाउँदै लगानीकर्ताले भने अर्थमन्त्री डा. खतिवडालाई बजार घट्नुको मुख्य पात्र बनाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .