कारोबार


अर्थमन्त्री र विश्व बैंकका प्रबन्धनिर्देशकबीच भेट, हालसम्म तीन अर्ब डलर बराबरको वित्तीय सहकार्य

अर्थमन्त्री र विश्व बैंकका प्रबन्धनिर्देशकबीच भेट, हालसम्म तीन अर्ब डलर बराबरको वित्तीय सहकार्य

नेपालखबर
असार ५, २०७९ आइतबार १४:१३, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्धनिर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ। 

अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ। 

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’, भेटमा उनले भने। 

विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलरबराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए। 

पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो। हालसम्म तीन अर्ब अमेरिकी डलरबराबरको २५ आयोजनामा सहकार्य भएको छ। 

केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए।

‘विश्व बैंकसँगको बित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गनृ हामी सबैको प्रयास रहनेछ’, मन्त्री शर्माले भने। 

सो अवसरमा आर्थिक बर्ष ०७९–८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएका थिए।

‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशितातर्फ लाने गरी प्रस्थान विन्दुको रुपमा उल्लेख गरेको छु’, उनले भने।

सो अवसरमा विश्व बैंकको प्रबन्धनिर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन्। उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी  लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने जानकारी गराएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .