कारोबार


नेपालमा कति पेट्रोल छ? ‘फ्राइटेन्ड सर्भे’ गर्न चिनियाँ टोली नेपालमा

नेपालमा कति पेट्रोल छ? ‘फ्राइटेन्ड सर्भे’ गर्न चिनियाँ टोली नेपालमा

नेपालखबर
असार ८, २०७६ आइतबार ११:५९,

नेपालमा पेट्रोलिम पदार्थ कति रहेको छ, यसको आधिकारिक पुष्टि हुने गरी काम सुरु हुँदै छ। नेपालको पेट्रोलियम पदार्थको सम्भावना अध्ययनमा दैलेखको पादुकामा अत्याधिक मात्रामा पेट्रोल रहेको देखिएपछि त्यसलाई आधिकारिकता दिने गरी विस्तृत अध्ययन हुनलागेको हो।

उक्त अध्ययनको लागि चिनियाँ टोली नेपाल आइसकेको छ। शनिबार आएको चिनियाँ टोलीले उद्योग मन्त्रालय र खानी विभागसँग आइतबार र सोमबार छलफल गर्ने र त्यसपछि दैलेखमा नै गएर काम गर्ने भएको हो। वैशाखमा आउने भनिएको चिनियाँ टोली प्राविधिक कठिनाइको कारण आउन नसकेको जानकारी गराएको थियो। खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन आयोजना प्रमुख सुधिर रजौरेका अनुसार वैशाखमा आएर काम सुरु गर्ने भनिए पनि उनीहरुले प्राविधिक कारणले आउन नसकेको जानकारी पठाएको थियो।

तर यो अन्वेषण कार्य भने धेरै महंगो र लामो समयको समेत हुने विभागले जानकारी दिएको छ। यो अध्ययनको लागि मात्रै २ अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने अनुमान चिनियाँ पक्षले गरेको छ। यत्तिको अध्ययन गरिसकेपछि भने यो स्थानमा पेट्रालियम पदार्थ कति मात्रामा रहेको छ भन्ने आधिकारिक पुष्टि हुने विभागको दाबी छ। आयोजना प्रमुख रजौरेका अनुसार यो अन्वेषणले पेट्रोलियम पदार्थको परिमाण एकीन तथ्याङ्क पत्ता लगाउनेछ।

उनका अनुसार जमिनमुनिको बनावटबारे ड्रिलिङ गरी अध्ययन हुनेछ। ड्रिलिङ गर्नको लागि पनि विशेष प्रकारको मेसिनले जमिनमा भूकम्प उत्पन्न गराउँछ। त्यसको कम्पनको आधारमा कुन स्थान उपयुक्त हुन्छ वा बढी छचल्किने स्थान कुन हो, त्यस स्थानमा ड्रिलिङ गरिने रजौरेको भनाइ छ। यसको नाम ‘फ्राइटेन्ड सर्भे’ हो।

यस अध्ययनले अधिक मात्रामा तेल रहेको खण्डमा नेपालले उत्पादनको प्रक्रिया अघि बढाउनेछ। त्यसको लागि सरकारले तेल कुवा उत्खननको लागि आवेदन माग गर्नेछ। सोहीअनुरुप आएको स्वदेशी तथा विदेशी कम्पनीहरूलाइ अध्ययन गरी त्यसको जिम्मा दिनसक्ने विभागले जनाएको छ। उक्त अध्ययन गर्ने कम्पनी पनि उत्खनन प्रक्रियामै पनि समावेश हुनसक्नेछ। उत्खनन गर्नेसँगै व्यवस्थापनको जिम्मा पनि सो कम्पनीले लिनुपर्ने हुन्छ। अध्ययनलगत्तै सो विषयको जिम्मेवारी दिइने खानी विभागले जनाएको छ। त्यसको लागि बोलपत्र आह्वान हुने रजौरेले बताए।

नेपालमा आउने चिनियाँ टोली चाइना जिओलोजिकल सर्भे कम्पनीको हो। उक्त टोलीसँग गत फागुन १६ गते खानी तथा भूगर्भ विभागले अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त सम्झौताअनुसार चिनियाँ टोली नेपाल आएको हो। योभन्दा अघि नेपालमा पेट्रोलियम पदार्थसम्बन्धी अध्धयनले मोरङको बाहुनी दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी रहेको प्रमाणित गरेको छ।

त्यस्तै धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलंगवा, जनकपुर, राजविराजमा पनि सम्भावना देखाएको छ। तर कति मात्रामा रहेको भनेर अध्धयन गर्न लागेको चाहि यो पहिलोपटक हो। चाइना जिओलोजिकल सर्भे कम्पनी नै २०७२ चैतमा दैलेख सम्भावना आएर अध्ययन गरेको थियो। सोही आधारमा चिनियाँ टोलीले दैलेखको पादुकामा ‘फ्राइटेन्ड सर्भे’ गर्न इच्छा व्यक्त गरेको र सोही आधारमा सम्झौता समेत भएको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad