नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ती गर्न कठिन हुने बताएका छन्।
आइतवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कोभिडकालमा उद्यमशीलता जोगाएर व्यापारमा रिभाइव हुन लिएको कर्जाको कारण यो समस्या आएको बताए।
गभर्नर अधिकारीले विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो ग्यापको असर सबैतिर परेको उनले बताए।
उनले हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले आयातसँगै मूल्यवृद्धि भएको बताए। आयातित र आन्तरिक मूल्यवृद्धिको अन्तरको अध्ययन भइरहेको उनले बताए।
मूल्यको असर आयातमा धेरै देखिएको उनको भनाइ छ। गभर्नर अधिकारीले इन्धनको आयात वर्षभर भएको अघिल्ला वर्षहरुको आयातभन्दा यस आर्थिक वर्षको नौ महिनामा नै बढी बस्तु आयात भएको बताए।
यसको असर क्रमशः उपभोक्तामा परेको बताए। विगतमा मौज्दातमा रहेको पुँजीबाट आन्तरिक अर्थतन्त्र चलाएको र अहिले संचितीमा परिपुरण हुन नसक्दा सबै क्षेत्रमा चाप देखिएको बताए।
गर्भनर अधिकारीले भने, ‘हामी सतर्क भएर काम गर्नुपर्नेछ। हामीले ९ महिनामा झन्डै २ अर्ब ३८ करोड डलर बराबरको रिजर्भ प्रयोग गरेका छौँ। एकै वर्षमा यत्रो डलर युज गर्नु हाम्रो जस्तो इकोनोमीलाई निकै संवेदनशील कुरा हो। हामी सधैँ सक्दैनौँ। सबैको सहयोगले हामी छुटकारा पाउन सक्छौँ। यसको कारण कोभिडको कारणले उब्जाएको अफ्ठ्यारो हो। बिओपीलाई क्रमशः नेगेटिभबाट पोजेटिभ बनाउने। मार्केटलाई लिक्विड बनाउने हो।’
Shares

प्रतिक्रिया