ad ad

कारोबार


घट्यो हस्तकलाको निर्यात व्यापार, अर्थमन्त्री नै भन्छन्ः एकीकृत तथ्यांक छैन!

घट्यो हस्तकलाको निर्यात व्यापार, अर्थमन्त्री नै भन्छन्ः एकीकृत तथ्यांक छैन!

 बसन्त अर्याल
मंसिर १२, २०७६ बिहिबार ११:४५,

नेपालको व्यापारघाटालाई कम गर्ने मुख्य वस्तु भनी प्रचार गरिए पनि पछिल्लो समय हस्तकलाको निर्यात व्यापार घटेको छ। पछिल्लो तीन वर्षको तथ्यांकले यस क्षेत्रकाे निर्यात व्यापार घटेको देखाएकाे हाे।

आर्थिक वर्ष २०७३/०७४ को कुल निर्यात पाँच अर्ब ३९ करोड रहेकोमा २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १८ करोडको निर्यात घटी कुल पाँच अर्ब २१ करोड हस्तकलाका सामग्री निर्यात भएको छ।

गत आर्थिक वर्षमा सरकारले निर्यातलाई प्रोत्साहन गर्ने भने पनि निर्यात तथ्यांकमा भने कुनै उत्साह देखिएको छैन। अघिल्लो वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भई कुल पाँच अर्ब ३७ करोड मात्रै निर्यात भएको छ।

surendra vai shakyaहस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य

हस्तकलाको निर्यातमा पाँच वर्षको तथ्याङ्कलाई केलाउँदा भने ५९ करोडले निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७१/०७२ मा कुल ४ अर्ब ७८ करोडको निर्यात रहेकोमा ०७५/०७६ मा कुल पाँच अर्ब ३७ करोड रहेको छ।

भूकम्प तथा नाकाबन्दीको आर्थिक वर्ष २०७२/०७३ मा दुई करोड बढी निर्यात घटेर चार अर्ब ७२ करोडको निर्यात भएको थियो।

एकीकृत तथ्यांक छैन
हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले एकीकृत तथ्यांक नहुँदा पाँच अर्ब निर्यातलाई नसमेट्ने दाबी गर्छन्। उनले एकीकृत तथ्यांक नहुँदा निर्यातमा कमी देखिएको बताए। नेपाल घुम्न आएका पर्यटक साथै कोसेलीको रुपमा हस्तकलाका सामग्री बाहिर गएको बताउँछन्।

yubaraj in hastakalaअर्थमन्त्री युवराज खतिवडा

उनले वार्षिक १३ अर्ब बढीको कारोबार हुने बताए। अर्थमन्त्री युवराज खतिवडाले पनि हस्तकलाको सामग्री निर्यातमा एकीकृत तथ्यांक नभएको स्वीकार गरे। औपचारिकबाहेकका क्षेत्रमार्फत पनि हस्तकलाका सामग्री बाहिर जाने गरेको उनी बताउँछन्।

बजारीकरणमा ध्यान छैन
हस्तकलाको सामग्रीले नेपाललाई विश्वलाई चिनाउने भए पनि बजारीकरणमा भने ध्यान दिएको छैन। सरकारले व्यवसायीको मुख ताक्ने र व्यवसायीले सरकारले केही गरेन मात्रै भन्ने गरेका छन्।

yubaraj in hastakala 3

१७औं हस्तकला मेलाको उद्घाटन समारोहमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्यले अन्तर्राष्ट्रिय बजारमा हस्कलाको प्रवर्द्धन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए। उनले भने, ‘१७औं हस्तकला मेला आयोजना हुँदासम्म पनि स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न सकिएको छैन। देशको कला र संस्कृति जोगाउन राज्यले सहयोग गर्नुपर्छ।’

वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले हस्तकलाको प्रवर्द्धन गर्न सरकारले जति सक्दो सहयोग गरिरहेको बताए। उनले सार्क क्षेत्रका हस्तकलाका सामग्री एकैठाउँमा प्रदर्शनी राख्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली हस्तकलाको प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय एक्स्पोमा नेपाली वस्तुको पनि सहभागिता हुनुपर्ने बताए।

yubaraj in hastakala 2

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता कम
नेपाली हस्तकला व्यवसायी पुरानो प्रविधिमार्फत काम गरिरहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नको लागि हस्तकला ग्राम स्थापना गर्नुपर्ने बताए। उनले हस्तकलाको काम गर्ने कलाकार तथा शिल्पीकर्मीलाई प्रशिक्षित गर्नुपर्ने उल्लेख गरे।

shekhar in hastakala

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न नयाँ प्रविधि भित्र्याउन आवश्यक रहेको बताए। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नको लागि जुन क्षेत्रमा बढी उत्पादन गर्न सक्छौ, त्यसमा बढी ध्यान दिनुपर्ने बताए।

सबै तस्बिरः स्नेहा केसी/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .