ad ad

कारोबार


नेपालले विदेश भ्रमणमा रोक लगाउने बेला आएको हो?

नेपालले विदेश भ्रमणमा रोक लगाउने बेला आएको हो?

प्रधानमन्त्री शेरबहादुर देउवा केही समयअघि भारत भ्रमणमा जाने क्रममा (फाइल तस्बिर)।


नेपालखबर
बैशाख २८, २०७९ बुधबार १८:६, काठमाडौँ

विदेशी मुद्रा भण्डार रित्तिँदै गर्दा विदेश भ्रमणमा रोक लगाउनुपर्ने माग उठेको छ। 

पछिल्लो समय सरकारको शोधनान्तर अवस्था (ब्यालेन्स अफ पेमेन्ट) र विदेशी मुद्रा सञ्चिति घटिरहेकोले  विदेश भ्रमण रोक्न माग भएको हो। 

नेपालको विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ। साथै शोधनान्तर स्थिति समेत ठूलो घाटामा जान थालेको छ। 

चैत मसान्तसम्मको तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा छ। यो चैत मसान्तसम्मको तथ्याङ्क हो।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो। गत वर्ष नाफामा रहेकोमा यो आर्थिक वर्षको अन्तिममा करिब ३ खर्ब घाटामा पुग्ने देखिएको छ। 

त्यस्तै विदेशी मुद्रा सञ्चितिको अवस्था त निकै खस्किँदो अवस्थामा देखिएको छ। पछिल्लो ९ महिनाको अवस्था हेर्दा विदेशी मुद्रा सञ्चिति साढे १६ प्रतिशतले घटेको छ। 

असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ। 

यो अवस्थामा नेपालले वैदेशिक भ्रमण रोक्नुपर्ने आवाज उठेको हो। 

पूर्वअर्थमन्त्री तथा अर्थविद् डा. युवराज खतिवडा नेपालको विदेश भ्रमण रोक्नुपर्ने बताउँछन्। 

उनले भने, ‘अहिलेको विदेशी मुद्रा संकटलाई टार्ने हो भने नेपालबाट हुने सबै विदेश भ्रमण रोक्नुपर्छ। अत्यावश्यक छ भने विशेष अनुमति प्रदान गर्दा राम्रो हुन्छ।’

छिमेकी देश बंगलादेशमा पनि विदेशी मुद्रा सञ्चितिको दबाब देखिन थालेपछि त्यहाँको सरकारले उक्त दबाब थेग्न सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। 

यसबाहेक कम महत्वका परियोजना र त्यसका लागि आवश्यक वस्तु आयात पनि तत्काल नगर्ने निर्णय गरेको बंगलादेशी सरकारका अर्थमन्त्री मुस्ताफा कमलले बताएका छन्। अहिले दक्षिण एसियाका अधिकांश देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गइरहेको छ। 

२०७५ मा पनि खतिवडा अर्थमन्त्री हुँदा कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेका थिए। विदेश भ्रमणमा जान रोक लगाउने निर्णय नै नगरे पनि विदेश भ्रमणमा जान अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गराएका थिए। 

त्यसकारण अहिले पनि करिब १०÷१२ अर्ब रुपैयाँ वैधानिक प्रणालीको पैसा रोकिने तर्क उनको छ।

नेपालमा आउने पर्यटकभन्दा नेपालीले विदेश गएर गर्ने खर्च धेरै भएकोले त्यसलाई रोक्नुपर्ने खतिवडाको सुझाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .