नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली-२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री हुने गरी सो नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सूचारु गराउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन्। सो नियमावली सच्याउनका लागि मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना दिन पुगेका उनले सो नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिए।
हातमा कालो पट्टि बाधेर मंगलबार पनि विहान ९ बजेदेखि साढे १० बजेसम्म धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिँदै प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कामलाई निरन्तरता दिएका हुन्।
धर्नामा बसेका निर्माण व्यवसायीहरुले ‘विकास रोक्ने कानुनले समृद्ध नेपाल बन्दैन’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए।

प्रतिक्रिया