ad ad

कारोबार


व्यवसायी र घरधनीबीच कुरा नमिल्दा विष्णुमती किनारका वधशाला फोहोर

व्यवसायी र घरधनीबीच कुरा नमिल्दा विष्णुमती किनारका वधशाला फोहोर

नेपालखबर
मंसिर २, २०७६ सोमबार १२:२,

घरधनी र मासु व्यवसायीबीच कुरा नमिल्दा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका पशुवधस्थलहरुको सुधार हुन नसकेको व्यवसायीहरुले दाबी गरेका छन्।

सोमबार महानगरको कृषि तथा पशु सेवा विभागको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नागरिक न्यायिक उपभोक्ता मञ्चसहितको अनुगमनका क्रममा विष्णुमती नदी किनारामा व्यवसाय गर्ने व्यवसायीले यस्तो भनाइ राखेका हुन्।

‘हाम्रो व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ, तर घरधनीले जग्गा लिजमा दिनका लागि सम्झौता गरेको छैन। सम्झौता गरिदिनोस् भन्दा मान्दैनन्’, गणेश रोय नेवाः क्वालिटी मिट सपका सञ्चालक सबिक शाहीले अनुगमन टोलीसँग भने, ‘आज लगानी गरेर संरचना बनाऔँला, भोलि उठेर जानोस् भन्ने डर छ। कसरी लगानी गर्नु! व्यवसायीलाई लगानी सुरक्षाको चिन्ता त छ नै यसबाहेक सरकारको सहयोगको पनि आशा छ।’

non veg 2

उनले सफा तथा व्यवस्थित गर्ने गरी लगानीको वातारवण नै नभएको दाबी गरे। क्वालिटी फ्रेस एण्ड फ्रोजन मिट प्रालिमा भेटिएका विनोद खड्गीले भने, ‘हामी प्रयास गर्दै छौं। सरकारले पनि सहयोग गर्नुपर्छ। काठमाडौंबाहिर वधशाला बनाउँदै छौं, काठमाडौंको पनि सुधार गर्छौँ।’

यसका लागि महानगरले सहयोग गर्नुपर्ने उनले बताए। पशु वधस्थलमा नै भेटिका अर्का व्यवसायी सुरेन खड्गीले सफा वधशाला निर्माणमा असहयोग भएको बताए।

non veg 3

अनुगमन टोली वधस्थलमा आएको देखेपछि छिमेकीहरु समेत भेला भएका थिए। उनीहरुले व्यवसाय गर्ने नाममा आफूहरुलाई समस्यामा नपार्न अनुरोध गरेका थिए। एक सहभागीले भने, ‘लादी भरिएर ढल टालिन्छ, घरभरि ढल छिर्छ। दुर्गन्धले घरमा बस्न नसक्ने हुन्छ। राति ११÷१२ बजेसम्म भैसी ल्याउने। १÷२ बजेदेखि वध गर्न थाल्ने। ग्यास बालेर डढाउन थाल्दा जहाज आएजस्तो हुन्छ।’

वधशाला फोहोर र दुर्गन्धित हुँदा सुत्न समेत नसकिएको लक्ष्मीदेवी खड्गीले बताइन्। दुर्गन्धित वातावरणले विरामीलाई समेत असहज भएको उनको भनाइ छ।

विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशु वधशाला छन्। पहिले खोलाकै किनारामा पशु वध हुन्थ्यो। अहिले टहराभित्र काम हुने भए पनि सरसफाइमा बेवास्ता भएको वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले बताए। उनले भने, ‘अहिले घरधनी र व्यवसायीका बीचमा कुरा नमिलेको देखिएको छ। उहाँहरुलाई एक ठाउँमा ल्याएर छलफल गराउँछौं। त्यसपछि व्यवसाय सुधारका लागि व्यवसायीसँग कुरा गर्छौँ।’

non veg 4

अनुगमनमा आएका वडा सदस्य चन्द्रमान डंगोलका अनुसार वडा १९ भित्र सानाठूला गरी करिब ३५ वटा पशु वध स्थल छन्। पशु वध कार्यलाई व्यवस्थित बनाउन नसक्दा वातावरणमा नकारात्मक असर परेको छ। स्थानीयबासीहरु दुर्गन्ध हटाउन माग राख्छन्। लगानी र प्रविधि दुवै धेरै लाग्ने भएकोले वडाबाट के गर्ने भन्ने सोच्न नसकेको उनले बताए। अर्का वडा सदस्य मधुसुदन प्रधानले व्यवसायीलाई अगाडि लगाएर समस्या समाधान गर्ने उनको भनाइ छ।

मासुजन्य खाद्यवस्तुको उत्पादन स्रोतमा नै ठूलो समस्या देखिएकोले यसलाई व्यवस्थापन गर्न व्यवसायीलाई समिति निर्माण गर्न भनेको उनले बताए।

महानगरको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वमा वधशालाको अनुगमन गरिएको हो। उनले वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने जानकारी दिए। सुधार थाले पनि पर्याप्त नदेखिएको उनको भनाइ छ।

non veg 5

अनुगमनका क्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जनस्वास्थ्यमा तत्काल असर पु¥याउने भएकोले पनि मासुजन्य उत्पादनलाई नियमन गर्नुपर्ने बताए। नागरिक न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले पनि अनुगमनलाई तीव्र र निरन्तर बनाउनुपर्ने बताए।

टोली बिहान ५ बजे नै विष्णुमती नदी किनारामा रहेका पशुवध स्थलमा पुगेको थियो। सुरुवातमा वडा १२ मा रहेको ह्युमत सामुदायिक पशु वधस्थलाको अनुगमन गरेको थियो। अनुगमनका क्रममा पशुको स्वास्थ्य, पशुवध गर्ने तरिका, मासु छुट्याउने तरिका, सरसफाइ, भण्डारण र ढुवानी जस्ता पक्ष हेरिएको थियो ।

ह्युमत पछि वडा १९ क्षेत्रमा भएका करिब १० वटा बधस्थलको अवस्था हेरिएको थियो। यी स्थानमा वध गर्ने तरिका, सरसफाइजस्ता आधारभूत पक्षमा नै कमजोरी भेटिएको थियो। अनुगमनका क्रममा रोगी भेटिएका पाडालाई समूहबाट छुट्याएर अलग्याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .