ad ad

कारोबार


जनकपुर-जयनगर रेल्वे : संरचना चाेरिँदै, स्टेसन थकाइ मार्ने चाैतारी

जनकपुर-जयनगर रेल्वे : संरचना चाेरिँदै, स्टेसन थकाइ मार्ने चाैतारी

शैलेन्द्र महतो
मंसिर २, २०७६ सोमबार ११:३३,

कुनै बेला अब जनकपुरधाम-जयनगर ब्रोडगेज रेल चल्ने खबरले जो सुकै उत्सुक, खुसी र हर्षित हुन्थे। तर झण्डै २ वर्षदेखि नेपाल सरकार र रेल्वे विभागका कर्मचारीबाट रेल चल्ने भाषण यहाँका नागरिकलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भन्ने उखान जस्तै भएको छ।

‘झण्डै २ वर्षदेखि पटक पटक रेल चल्ने कुराले कान पाकिसक्यो। तर अझै रेल चलेन।’ जनकपुरको रल्वे स्टेशनसम्म यात्रु ल्याउने र पुर्‍याउने अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका १२ कुवाका पुरण पण्डितले भने ‘अब रेल आउने र नआउने कुरा सुनेर हामीमा केही उत्साह छैन। चल्न थाल्यो भने मात्र हर्षित हुन्छु। किन भने यात्रु ओसारेर कमाई बढ्छ’

जनकपुरधाम उपमहानगरपालिका २ बस्ने ८० वर्षीय गुदारिया मण्डललाई अब रेल चलेको देख्न पाउने कि नपाउनेमा शंका छ। घर नजिकैबाट सञ्चालनको लागि तयारीमा रहेको रेल्वे स्टेशनमा एकछिन थकाइ मार्न घरबाट आउने र जाने मण्डलले भने ‘२ वर्षदेखि पटक पटक चल्ने कुरा भन्यो। पहिले रेल चल्न सुरु हुन्छ भन्ने सुन्ने बितिकै हुरुक्कै हुन्थेँ। अब त बुढेसकालले पनि छोयो, कुन दिन मर्ने ठेगान छैन। अझै रेल आएन। ब्रोडगेज रेल हेर्न धोको पुरा नहुने हो कि?’

पटक–पटक सरकार पक्षबाट रेल चल्ने कुरा ढाँट्ने काम भएकाले अब चलेपछि मात्रै आफुहरुको विश्वास हुने जनकपुरधाम रेल्वे स्टेशनकै छेउमा डेरा लिएर बसेका जनकपुरधाम उपमहानगरपालिका १९ बेंगका गोविन्द मुखियाको भनाई छ।

जनकपुरधाम रेल्वे स्टेशनकै छेउमा खाजा पसल सञ्चालन गरेका बुधेश्वर मण्डल पनि डेढ वर्षदेखि कहिले रेल चल्ने र कहिले रेल नचल्ने कुरा सञ्चार माध्यममा सुनेर दिक्क लागेको बताउँछन्। ‘गत वर्ष नै रामजानकी विवाहपञ्चमीदेखि चल्ने कुरा आयो। तर यो विवाहपञ्चमीमा समेत रेल चल्ने छाँटकाट छैन। उनले भने ‘हामी आश लगाएर बसेका छौँ। चल्न थाल्यो भने हाम्रो व्यापार व्यवसाय फस्टाउँछ। तर अब चलेपछि मात्र विशवास हुन्छ।’

पुरन, गुदरिया, गोविन्द र बुधेश्वर जस्तै यहाँका धेरै व्यावसायी र नागरिक रेलको झमेलले निराश छन्। चल्ने तयारीमा रहेको नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल २०७५ असोज महिनादेखि नै सञ्चालन हुने कुरा थियो। त्यसपछि २०७५ को मंसिरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पक्का चल्ने सरकार पक्ष र रेल्वे विभागबाट कुरा आयो। तर २०७५ को असोज मंसिर कता हो कता २०७६ को यो मंसिर र अब एकहप्तापछि जनकपुरमा सुरु हुने विवहपञ्चमी महोत्सवमा समेत रेल चल्ने छाँटकाट छैन।

रेल चलेपछि यहाँको व्यापार व्यवसाय फस्टाउने र रोजगारी समेत पाउने हुनाले यसलाई महत्वको साथ हेरिएको छ। तर नेपाल सरकारका भौतिक पूर्वाधार यातायात मन्त्री रघुवीर समहासेठ र रेल्वे विभागका कर्मचारीबाट नै रेल सञ्चलन हुने अधिकारिक कुरा पटक पटक फेल भइसकेको छ। त्यसैले अब उनीहरुबाट आउने कुराप्रति पनि यहाँका नागरिकको विश्वास छैन।

पहिलो चरणमा सञ्चालन हुने भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलो मिटर हुने रेल्वे सञ्चालनको निम्ति भौतिक संरचना, रेल्वे लिक लगायत आवश्यक पूर्वाधार एकवर्षदेखि पूर्ण रुपमा तयार भइसकेको छ । रेल सञ्चालन गर्न चाहिने रेल ईन्जिन, आवश्यक जनशक्ति अहिलेसम्म व्यवस्थापन नभएकाले रेल सञ्चालनमा आउन नसकेको नेपाल रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनले रेल रेलको डब्बा निर्माण भई पेन्टिंग भइरहेको र आवश्यक जनशक्तिका लागि कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाएकाले रेल सञ्चालनमा अझै अढाई महिना समय लाग्ने बताए।

तर उनको यो कुराले पनि रेल अढाई महिनापछि सञ्चालनमा आइ हाल्छन् भन्ने विश्वास गर्न गाह्रो छ। चार महिना अघि महानिर्देशक मिश्रले अगामी मंसिरको मध्यसम्म जसरी पनि रेलसेवा सञ्चालन हुने भएकाले ढुक्क हुन आग्रह गरेका थिए।

सुरुमा भारतसँग रेल्वेको ईन्जिन भाडामा लिएर रेल सेवा सञ्चालन गर्ने चर्चा थियो। तर पछि नेपालले भारतसँग खरिद गरी आफ्नै रेल ईन्जिन ल्याएर रेल सेवा सञ्चालन गर्ने पक्रिया अघि बढायो। जस अनुसार नेपालले दुई वटा रेल किन्न रेल विभाग र भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडबीच सम्झौता भइसकेको छ। अहिले दुई सेट रेल भारतको मद्रास स्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीमा निर्माण भई रंगरोगनको काम भइरहेको महानिर्देशक मिश्रको भनाई छ।

लिकको सामान चोरिँदै

पहिलो चरणमा भारतको जयनगर र जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि तयार रेल्वे लिक र भौतिक संरचनामा कतिपयले क्षति पुर्याइरहेका छन्। लिकको विभिन्न स्थानमा फलामको लिक क्लिप, नट, ठाउँ ठाउँमा बाटो काट्न प्रयोग गरेको टायल्स, खानेपानीको धारा लगायतको सर समान चोरी हुने गरेको रेल्वे विभागका साईट ईन्जिनियर विनोद ओझाले बताए। ‘ठाउँ ठाउँमा क्लिप, नट, टायल्स, खानेपानीको धारा चोर्ने जस्ता उच्छृंखल गतिविधि हुने भइरहेको छ’ ओझाले भने ‘केही दिन अघि दुई जना बालकले पनि लिक क्लिप खोलेका थिए। यसरी क्षति पुर्याउने गतिविधि हुँदैछ। हामी रोक्ने प्रयासमा छौँ।’

उनले यस्तो गतिविधि रोक्न एवं व्यवस्थापन गरिको संरचनाको संरक्षण गर्न सहयोगको लागि प्रहरीलाई चिठि लेखेको र आफूहरु पनि निगरानी गर्ने गरेको बताए।

वर्षाले बगाएको लिक धमाधम मर्मत हुँदै
रेल सञ्चालनको लागि पूर्ण तयारीमा रहेको रेल्वे लिक बाढीले भत्काएपछि मर्मत सम्भार धमाधम भइरहेको छ। गत असारको पहिलो सात्ता अविरल वर्षासँगै आएको बाढीले जानकनन्दनी गाउँपालिका १ इनरबा स्थित सीमावर्ती क्षेत्रमा झण्डै १ सय मिटर रेल्वे लिकतलको माटो बगाएर क्षति पुर्याएको थियो। क्षति पुर्याएको रेल्वे लिकको मर्मत र माटो पुर्ने काम भइरहेको ईन्जिनियर विनोद ओझाले बताए।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने छ। जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तया छ। भने दोस्रो चरणमा सञ्चालन हुने जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लीग निर्माणको काम चलिरहेको छ।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ।

स्टेशन थकाइ मार्ने ठाउँ

डेढ वर्षदेखि सञ्चालनको अन्तिम चरणमा रहेहको जनकपुरधामको रेल्वे स्टेशन स्थानीयको थकाइ मार्ने थलो बनेको छ। स्थानीयहर चौतारो जस्तै स्टेशनमा गएर बस्ने, सुत्ने, बालबालिका खेल्ने गर्दछन्। रेल्वे सञ्चालनको लागि पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ८ वटा साना तथा ठुला रेल्वे स्टेशन तयार गरिएको ईन्जिनियर ओझाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .